काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताएका छन् । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उनले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गरे ।
ढकालका अनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘कसैले विजनेश क्लासको टिकट किनेको छ र विजनेस क्लासको प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यही अनुसारको सुविधा खोज्छ । हामीले गर्ने डिजिसजनहरु कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीहरुलाई त ठिकै छ तर विदेशीहरुले तिरेको प्रिमियम अनुसारको सुविधा पाएका छैनन् । प्रिमियम तिरेकाहरुलाई सोही अनुसारको सुविधा नपाउँदा बाहिर नकारात्मक सन्देश जान्छ र यसले पर्यटन प्रवद्र्धनमा असर पारिरहेको छ ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाईं तथा गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्नु राम्रो भएको बताए । यसले नेपाल सुरक्षित र सहज गन्तव्य हो भन्ने आधार निर्माण गरेको छ । जोशीका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको छ । पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्ने देखिन्छ । पर्यटक संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सुरक्षाका दृष्टिले पनि अभिलेख राख्नु अत्यन्त आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उता, वरिष्ठ उपाध्यक्ष, सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताए । उनका अनुसार हवाई मात्रै नभई सडक, यातायात सुरक्षित भए वाह्य मात्र नभई आन्तरिक आन्तरिक पर्यटनसमेत बढ्नेछ । धेरै मानिसको पहुँच सार्वजनिक यातायातमा रहेकाले यसको सुधारले समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
