News 24 Television
शक्तिको नयाँ केन्द्र– भर्चुअलदेखि सडकसम्म, २०२६ ले कस्तो नेतृत्व देला ?

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को उदय हुँदै गर्दा हामीले सन् २०२५ लाई बिर्सनै सक्दैनौँ । फर्केर हेर्दा, नेपालको राजनीतिमा एक अभुतपूर्व घटना भयो– ‘जेनजी’ विद्रोह । संसारकै राजनीतिक इतिहासमा सम्भवतः सर्वाधिक छिटो सत्तापलट गराउने आन्दोलनका रुपमा गत भदौ २३ र २४ केवल २ दिनको विद्रोहले संसारकै ध्यान खिच्यो । उक्त आन्दोलन केवल एउटा विरोध प्रदर्शन मात्र नभई एक युगान्तकारी ‘राजनीतिक सुनामी’ सावित भएको छ । यसले दशकौँदेखि कायम रहेको परम्परागत शक्ति सन्तुलनलाई भत्काउँदै नयाँ मानक स्थापित गरेको छ । साथै, डिजिटल युगमा सामाजिक सञ्जाल र भर्चुअल आक्रोशको परिणति भौतिक रुपमा अत्यन्त निर्मम एवं तीव्र हुँदो रहेछ भन्ने पाठ समेत सिकायो ।

शक्तिको नयाँ केन्द्र : भर्चुअलदेखि सडकसम्म

जेनजी आन्दोलन कुनै स्थापित राजनीतिक दलको आह्वानमा नभई फेसबुक, टिकटक, डिस्कर्डजस्ता सामाजिक सञ्जालका ‘एल्गोरिदम’बाट निर्देशित थियो । यसले नेपालको राजनीतिमा टेस्टेड, बुढो पुस्ता एवं केन्द्रीकृत नेतृत्वको अवधारणालाई चुनौती दिँदै ‘सेल्फ–मोबिलाइज्ड’ युवा शक्तिको उदय गरायो । जेनजीको यो लहरले पुराना र स्थापित दलहरूलाई सबैभन्दा ठूलो धक्का दियो । राजनीतिक दलका ‘भ्रातृ संगठन’ हरूको सान्दर्भिकता सकिएको सन्देश दिँदै जेनजीले एजेन्डा–केन्द्रित राजनीतिलाई जोड दियो । यसले नेताहरूलाई आफ्नो भाषण शैली र कार्यशैली बदल्न मात्र होइन, नेतृत्व हस्तान्तरणका लागि समेत बाध्यकारी वातावरण सिर्जना गरिदियो । 

यद्यपि प्रमुख दलका नेताहरुले यसबाट अझै पाठ सिक्नु नसक्नु दुर्भाग्य हो । तत्कालीन सत्तारुढ दल काँग्रेस–एमालेका शीर्ष नेताहरुले उक्त आन्दोलनको मर्म आत्मसात गर्न नसके पछि विपक्षी नेताहरुले पनि सुरुदेखि नै आत्मसात गर्दै आएका छन् । हाल नेकपाका संयोजक रहेका प्रचण्डले जेन–जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउँदै आएका छन् । अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्नेतिर लाग्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको उनको भनाइ छ ।

जेनजी विद्रोह कुनै वाद, सिद्धान्त र विचारधाराभन्दा पनि ‘परफरमेन्स’मा केन्द्रित थियो । ‘हामीलाई इतिहास होइन, भविष्य देऊ’ भन्ने उनीहरुको माग हो । भ्रष्टाचार तथा बेथितिको अन्त्य, सुशासन र प्रविधिमैत्री सेवा प्रवाह, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन नव–युवाहरुको चाहना हो । उक्त विद्रोहकै जगमा दलीय गठबन्धन सत्ता ढलेर अन्तरिम सरकार बन्यो भने सन् २०२६ मा नयाँ नेतृत्व चुन्ने अवसर सृजना ग¥यो । 

आगामी निर्वाचनलाई सन्देश

भदौको उक्त जेनजी आन्दोलनले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि केही स्पष्ट सन्देशहरू छाडेको छ  । जसमध्ये नेतृत्व हस्तान्तरण वा पुस्तारण मुख्य सन्देश हो । पटकपटक सत्तामा दोहोरिने बुढा अनुहारको ठाउँमा जनताले जुझारु युवा अनुहार देख्न चाहेका छन् । अबको राजनीतिमा उमेरले मात्र होइन, एजेन्डा र भिजनले समेत स्थान पाउनेछ । साथै, अबको राजनीति केवल सडकमा मात्र सीमित छैन, यो डिजिटल स्पेसबाटै सत्ता पल्टाउने सामथ्र्य राख्छ । र, डिजिटल संसारकै लोकप्रियताको आडमा नयाँ नेतृत्व चुन्ने सामथ्र्य राख्छ भन्ने यसपटकको निर्वाचनले अझ पुष्टि गर्नेछ । सबैभन्दा महत्वपूर्ण सन्देश, जनता अब पाँच वर्ष पर्खने धैर्य राख्दैनन्; उनीहरूलाई तत्काल परिणाम चाहिन्छ । नेतृत्व कुशल, योग्य, लोकप्रिय, इमानदार एवं पारदर्शी मात्र भएर पनि अब पुग्दैन, तत्काल परिणाम दिनसक्ने हुनुपर्छ । पछिल्लो नेपाली युवा पुस्ताले चाहेको यही हो । 

यद्यपि नेपालको सन्दर्भमा व्यक्ति मात्र राम्रो आएर राम्रो गर्न सकिने अवस्था छैन । प्रणालीगत कमजोरी, ढिलासुस्ती, अर्कमण्यताजस्ता दीर्घरोगका विरुद्ध समेत युवा जागरण र अर्को धक्का आवश्यक देखिन्छ । संविधान संशोधन, कर्मचारीतन्त्रको रुपान्तरण, दलाल एवं बिचौलिया पुँजीवादी सञ्जाल तोड्नुपर्ने लगायत चुनौती कायमै छन् । 

सारमा, सन् २०२५ को जेनजी विद्रोहले नेपाली राजनीतिमा अभूतपूर्व धक्का दिँदै ‘पर्ख र हेर’ को अवस्थालाई अन्त्य गरिदिएको छ । यसले पुराना दलहरूलाई कि त युगसापेक्ष ‘अपडेट’ होऊ, नभए ‘आउटडेट’ होऊ भनेर कडा चेतावनी दिएको छ । साथै २०२६ मा नयाँ अनुहारहरु चुनेर आगामी दशक महत्वपूर्ण परिवर्तनको दशक बन्नेछ भन्ने दिशानिर्देश समेत गरिदिएको छ, जसलाई सबैले आत्मसात गर्न सक्नुपर्छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update