News 24 Television
अप्रत्याशित मूल्यवृद्धिले ‘कन्स्ट्रक्सन होलिडे’, सार्वजनिक खरिद ऐन संशोधन अपूरो

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा देखिएको गम्भीर संकटका कारण ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण ठप्प हुने अवस्था) सिर्जना भएको बताएको छ । 

महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अप्रत्याशित रुपमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भिर संकटमा परेको भन्दै निर्माण ठप्प हुने स्थिति आएको बताएको हो । महासंघका महासचिव शिवहरी घिमिरेले एक साताभित्र सरकारबाट ठोस नीतिगत निर्णय नभए देशभरका सबै निर्माण कार्य स्वतः बन्द हुने बताएका हुन् ।

उनका अनुसार देशभरका ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ, एशोसिएट सदस्य तथा निर्माण सामग्री उत्पादनसँग सम्बन्धित संघसहित करिव ३२ हजारभन्दा बढी निर्माण व्यवसायी अहिले गम्भीर संकटमा परेका छन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेल, मट्टितेल लगायत इन्धनमा भएको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको घिमिरेले जानकारी दिए ।

युद्धअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको छ । साथै सिमेन्ट, डण्डी लगायत सामग्रीको अभाव र मूल्यवृद्धिले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको छ ।

घिमिरेले निर्माण सामग्रीको मूल्यवृद्धि भएपनि नेपाल राष्ट्र बैंकको मूल्य सूचकाङ्कमा न्यून वृद्धि देखाइने प्रवृत्तिका कारण ठेक्काको मूल्य समायोजन हुन नसकेको समेत बताए। यसले व्यवसायीहरूलाई थप आर्थिक भार परेको र धेरै आयोजना संकटमा परेको उनको भनाइ छ । 

उनले हाल राष्ट्रिय गौरवका आयोजनासहित देशभरका अधिकांश साना–ठूला आयोजना लगभग बन्द अवस्थामा पुगेको जानकारी दिए । महासंघले सबै ठेक्कामा मूल्य समायोजनको स्पष्ट मार्गनिर्देशन तत्काल जारी गर्न, म्याद थप गर्न, बैंक ग्यारेन्टी, बीमा तथा क्षतिपूर्ति व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update