काठमाडौँ । सरकारले काठमाडौंका अतिक्रमित जग्गा खाली गर्ने अभियानलाई आईतबार पनि जारी राखेको छ । शुक्रबार र शनिबार आधा दर्जन बढी स्थानमा डोजर चलेको थियो भने, आईतबार पनि काठमाडौं कपनका अनाधिकृत जग्गामा बनेका घर टहरामाथि डोजर चलाइयो । यसका अलावा आईतबार नै अनामनगरस्थित धोविखोला करिडोर क्षेत्रमा पनि डोजर चलाएको छ ।
अहिलेसम्म कहाँ कहाँ चले डोजर ?
सरकारले बैशाख १२ गतेदेखि अनाधिकृत बस्ती खाली गर्न डोजर अभियान थालेको थियो । जुन अभियान एकसाता सम्म चलिसक्दा दर्जन हारहारीका बस्तीमा डोजर चलिसकेको छ । शुरुमा थापाथलीस्थित बस्तीबाट चलाइएको डोजर गैरीगाउँ हुँदै मनोहरासम्म पुग्यो । थापाथलीदेखि मनोहराको बस्ती बैशाख १२ र १३ गते सम्ममा हटाइयो ।
बैशाख १८ गते सरकारले टेकु, त्रिपुरेश्वर, कालीमाटी, शंखमुल, बुद्धनगर तथा बल्खुस्थित बाग्मती नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलायो । दोस्रो चरणको अभियान अन्तर्गतको यो पहिलो दिनमा नै सरकारले सो क्षेत्रका करिब ७ सय घर भत्काएको थियो ।
यस्तै दोस्रो चरणकै अभियान अन्तर्गत बैशाख १९ गते पनि शंखमुल, अनामनगर, धोबीखोला, सिनामंगल, बालाजु, नयाँ बसपार्क, स्वयम्भू र तिलगङ्गास्थित पशुपति क्षेत्रमा डोजर चलाइएको थियो । शनिबारसम्म काठमाडौँ उपत्यकामा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब २ हजार बढी घर टहरा भत्काइसकेको तथ्याङ्कले देखाएको छ ।
सरकारले बैशाख २० गते अर्थात आईतबार काठमाडौं महानगरपालिका–१० धोबीखोला क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा पनि भत्काएको छ । जहाँ सार्वजनिक जग्गामा बनेको चर्चित ८ तले भवनसमेत भत्काइयो ।
यद्यपि यो घरको भने नक्सा पास र लालपूर्जासमेत रहेको घरधनी इन्द्र चाम्लिङले दावी गरेका छन् । सरकारले बस्ती हटाउने क्रममा प्रभावित भएका परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइरहेको छ भन, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहीन परिवारको लगत सङ्कलन भइरहेको छ ।
कतै विरोध कतै समर्थन
अतिक्रमित जग्गामा बनेको घर टहरा भत्काएकोमा धेरैजसो प्रभावितले सरकारमाथि आक्रोश पोखिरहेका छन् । सरकारले आवासको अधिकारबाट नै नागरिकलाई बञ्चित गराउन नहुने पीडितहरुको गुनासो छ ।
तर यस्तैमा केहीले भने सार्वजनिक जग्गा अतिक्रमण गर्न नहुने भन्दै सरकारको कदमलाई समर्थन पनि गरेका छन् ।
निर्वाचनपछि बनेको नयाँ सरकारले शासकीय सुधारका लागि भन्दै १०० कार्यसूची सार्वजनिक गरेको थियो । जुन कार्यसूचीमा सरकारी र अतिक्रमित जग्गा फिर्ता ल्याउने विषय पनि उल्लेख छ । सोही योजना कार्यन्वयन गर्न भन्दै सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । अहिलेसम्म काठमाडौंको दर्जनभन्दा बढी स्थानमा डोजर चल्दा २ हजारभन्दा बढी घर टहरा भत्काइएको छ ।
सरकारले घर टहरा भत्काए पनि विस्थापित परिवारको व्यवस्थापन कसरी गर्ला ? भन्ने विषयमा भने आम चासो र चिन्ता बढिरहेका छन् ।
