सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ रन्जितपुरका दिनेश सदालाइ गरिवीको पीडाले सताएको छ । अचानक बिरामी भएकी छोरीको उपचारमा रहेको सदाले आमा गुमाउँदा अहिले काजक्रिया खर्च कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–६ का दिनेश सदा र उनकी श्रीमती रितादेवी आफ्नो तीन बच्चासहित एकै कोठामा बस्दै आएका छन् । सम्पत्तिको नाममा माटोको भित्तामा टिनको छानाको दुई कोठे घर मात्र रहेको सदा दम्पती दैनिकी ज्यालादारी गरेर छाक टार्ने परिवार हुन् ।
त्यसमा एक १६ बर्षीय छोरी निशासहित दुई छोरी र एक छोराको लालनपालन पनि गर्नुपर्ने रहेको छ । यस्तोमा १० दिन अघि हजुरआमाको कपडा धुन गएकी निशा अचानक बेहोस भएपछि उनको एक हात र खुट्टा थला परेर अहिले भारतमा उपचार भइरहेको छ ।
नाकको गहना बन्धकी राखेर १५ हजार रुपैयाँ ऋण लिएर रिताले छोरीलाई उपचार गराउन सुरु गरेकी छन् । उपचार सुरु गरे लगत्तै सासुआमा पनि उपचार नपाएर बितेपछि उनको परिवारको अहिले विचल्ली भएको छ । छोरीलाई उपचारले निको भइरहेपनि पनि धेरै पैसा खर्च हुने चिकित्कसले भनेको उनी बताउँछिन् । यता सासुआमाको क्रिया खर्च कसरी जुटाउने उनलाई चिन्ता छ ।
दिनेश पहिला गाउँमै सिटि चलाएर जीवनयापन गर्दै थिए । तर त्यसमा कमाइ बचत नहुने देखेपछि अहिले उनी भारतमा मजदुरी गर्छन् । आमाको क्रियामा बसेका उनले काम गर्न नसक्दा ऋण उठाएरै छाक पनि टार्ने गरेका छन् ।
अब थप काम पनि ऋण लिएरै गर्नुपर्ने छ । यस्तो अवस्थामा बिरामी छोरीलाई थप उपचार गराउन ऋणको खोजीमा भौतारिरहेका दिनेशलाइ आमाको मृत्यूपश्चात काजक्रिया गर्नका चाहिने पैसा समेत नहुदा पीडाले छटपटिएका छन् । शितलहरमा जिवनयापन गर्नै कठिनाइ भइरहेको बेला आमाको देहान्तको दुःख र छोरी बिरामीको पिरमा उनी दाताको मुख ताकी रहेका छन् ।
उनको पीडामा स्थानीय सरकार तथा सामाजिक कार्य गर्दै आइरहेका संघसंस्था वा व्यक्ति जो कोहीले पनि सहयोग गरे मात्र उनलाई केही राहत मिल्नेछ ।
