कास्की । गण्डकी प्रदेशका विपन्न तथा गरिब परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै हेड्स नेपालले सामुदायिक विद्यालय लक्षित विशेष अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत दुर्गम तथा विपन्न बस्तीका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरु वितरण गरिएका छन् ।
शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको गैरसरकारी संस्था हेड्स नेपालले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरि शैक्षिक सामग्री वितरण अभियान चलाएको छ । गण्डकी प्रदेश अभियान सञ्चालन गरि दुर्गम तथा विपन्न बस्तीका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
पुस महिनामा मात्रै कास्की, तनहुँ, लमजुङ, म्याग्दी र बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीहरू यस सहयोगबाट लाभान्वित भएका छन् । विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएपछि उनीहरुका अभिभावकहरुलाई ठूलो राहत मिलेको छ ।
यस वर्षभित्र गण्डकी प्रदेशका सबै जिल्लामा यस्ता सहयोग कार्यक्रम सञ्चालन गरिने योजना रहेको संस्थाले जनाएको छ । विगतदेखि नै समाजसेवामा सक्रिय यो संस्थाले ७२ सालको भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीको समयमा पनि पनि राहतका कार्यक्रम सञ्चालन गरेको थियो ।
वि.सं. २०५० सालमा स्थापना भएको हेड्स नेपालमा हाल देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । संस्थाको सञ्जाल अस्ट्रेलिया, अमेरिका, जापानलगायत विभिन्न मुलुकसम्म फैलिएको छ ।
समाज परिवर्तनका लागि परोपकारी भावनालाई व्यवहारमा उतार्दै निरन्तर सेवा गर्दै आएको संस्थाका संस्थापक प्रतापराज वन्त बताउँछन् ।
शिक्षा नै समृद्ध समाजको आधार हो भन्ने मान्यतासहित हेड्स नेपालको यो अभियानले विपन्न विद्यार्थीहरूका लागि नयाँ आशा जगाएको छ । यस प्रकारका अभियानले गण्डकी प्रदेशका विपन्न विद्यार्थीहरूलाई राहत मात्र होइन, उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा पनि दिएको छ ।
