News 24 Television
अब खुला राजनीतिमा कुलमान, रविसँगको एकताले पूर्णता पाउँदै !

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा उत्कृष्ट काम गरेर ख्याति कमाएका कुलमान घिसिङ अब खुला राजनीतिमै होमिने भएका छन् । ८ वर्षसम्म विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक रहेर काम गरेका कुलमानलाई उज्यालो नेपालको प्रतिकको रुपमा पनि लिइन्छ । कुलमानकै नेतृत्वकालमा नेपालमा लोडसेडिङको अन्त्य भएको थियो, भने नेपालले अन्तर्राष्ट्रियस्तरमा विद्युत निर्यातसमेत गर्न थालेको छ । उनै कुलमान घिसिङ अब राजनीतिको मुलधारको राजनीतिमा होमिने भएका छन् । बुधबार मन्त्री पदबाट राजीनामा दिएका कुलमानले अब मुलधारको राजनीतिमा आउने घोषणा गरेका छन् । 

कुलमानको सत्ता बहिर्गमन र भावी राजनीति 

कुलनमा घिसिङको परिचय नेपाल सरकारको एक कर्मचारीका रुपमा मात्रै थियो । तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा कुलमानले उर्जासहित, भौतिक पूर्वाधार र शहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए । कुलमानले यी ३ मन्त्रालयको जिम्मेवारीमा रहेर करिब ४ महिना काम गरेका छन् । यद्यपि उनले दलिय  आबद्धताको आरोपकै कारण बुधबार पदबाट राजीनामा दिएका छन् । उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपासँगको एकतामा गएका कारण उनीमाथि दलिय आबद्धताको आरोपसँगै आलोचना बढ्यो । यही कारण उनले पदबाट राजीनमा दिएका हुन् भने, उनी अब खुला राजनीतिका लागि तम्तयार भएका देखिन्छन् । यसअघि नै राजनीतिमा आउने तयारी गरेपनि प्रधानमन्त्री सुशीला कार्कीकै आग्रहमा सरकारमा गएको र, अब मन्त्रीबाट राजीनमा दिएपछि अझ खुला राजनीति गर्न सहज हुने कुलमानको दावी छ । 

दलिय आबद्धता र राजनीतिक गतिविधिको आरोपलाई खण्डन गर्दै आएका कुलमानले विशेषतः आफ्नो राजीनामालाई आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिवद्धताको निरन्तरताका रुपमा लिन आग्रह गरेका छन् । 

रास्वपा सम्बद्ध र उम्मेदवारी 

आफ्नो संरक्षकत्व रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता हुने सझदारी भइसकेपछि पनि बारम्बार कुनै पार्टीमा आबद्ध नरहेको तथा सदस्यता नै नलिएको जवाफ दिने गरेका कुलमानले राजीनामा दिँदै गर्दा पनि अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नरहेको विषयलाई दोहो¥याए । तर अबको यात्रा भने राजनीतिमै रहने विषयबारे पनि प्रष्ट पारेका छन् । यद्यपि अझैसम्म उनले उज्यालो नेपाल पार्टी वा रास्वपा कुन पार्टीबाट राजनीति गर्ने भन्नेबारे उनले प्रष्ट पारेनन् । रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता कार्यान्वयनको विषयमा पनि उनी खुलेका छैनन् । 

तरपनि उनी आगामी निर्वाचनमा रास्वपासँगै एक भएर जाने मनशायमै रहेबो बताइन्छ ।  किनकी यसअघिको एकताको समझदारी कुलमान घिसिङ स्वयमको उपस्थितिमा भएको थियो । उक्त समझादारीमै कुलमान रास्वपाको वरिष्ठ उपसभापतिको पदमा रहने भनिएको छ । एकताको समझदारीपछि रास्वपाले आन्तिरिक बैठक नै बसालेर कुलमानलाई वरिष्ठ उपाध्यक्षमा अनुमोदन गरिसकेको छ । 

सुत्रअनुसार दुई दलबीच एकतामा जाने समझदारी भइसकेपनि केन्द्रीय सदस्य को–को र कति संख्यामा पठाउने भन्ने विषय निर्क्यौल नहुँदा एकताले पूर्णता पाउन बाँकी छ । कुलमानले मन्त्रीबाट राजीनामा नै दिइसकेकाले अब यो विषय पनि छिटै टुंगोमा पुग्ने बताइँदै आएको छ । यसअघि दुई दलबीच एकता हुँदा समानुपातिक उम्मेदवार सिफारिस र राजनीतिक सिद्धान्तका विषयमा विमत्ति थिए । तर यो विषयलाई पनि रवि–बालेन–कुलमानसहितको बैठकले सहमति गरिसकेको छ । अब रास्वपासँगको एकताले पूर्णता पाएको खण्डमा कुलमान आगामी निर्वाचनमा काठमाडौं – ३ बाट चुनाव लड्ने चर्चा पनि सुरु भइसकेको छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update