काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा उत्कृष्ट काम गरेर ख्याति कमाएका कुलमान घिसिङ अब खुला रुपमा नै सक्रिय राजनीतिमा होमिने तयारीमा छन् । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता हुने समझदारी भइसकेपछि पनि बारम्बार कुनै पार्टीमा आबद्ध नरहेको जवाफ दिएर मन्त्री बनिरहेका कुलमान चौतर्फी विरोधपछि मन्त्री छाड्न बाध्य भए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन तीन वटा मन्त्रालय सम्हालिरहँदा नै कुलमानले रास्वपाबाट दोस्रो हैसियत पाउने गरि सहमति भएको थियो । तर अझैसम्म पनि उनी रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता कार्यान्वयनको विषयमा खुलेका छैनन् ।
अन्तरिम सरकारमा बिजुलीको गतिमा प्रवेश गरेका निवर्तमान मन्त्री कुलमान घिसिङ त्यही गतिमा विवादमा तानिँदै सरकार छोड्ने पहिलो मन्त्री बने । मन्त्री पदबाट राजीनामा दिएसँगै उनले औपचारिक रूपमा खुला राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन् ।
बुधबार राती प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले अब आफू प्रशासनिक जिम्मेवारीमा सीमित नरही खुला राजनीतिमा लाग्ने स्पष्ट पारे । लामो समयदेखि ‘कहिले राजनीतिमा लाग्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्तर राजीनामासँगै दिएको दाबी गर्दै उनले देशको समग्र अवस्था र जनताका अपेक्षाले आफूलाई राजनीतिमा आउन बाध्य बनाएको बताए ।
कुलमानले यसो भनिरहे पनि उनी सरकारमै रहँदा पुस १४ गते राती रास्वपा र कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच ७ बुँदे एकता सहमति भएको थियो । कुलमानलाई पहिलो बरियताको उपसभापति बनाउने सहमतिको काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह साक्षी थिए । तर मन्त्री पद गुम्ने डरले दुई दिनअघि सम्म पनि आफू कुनै पार्टीमा नरहेको दाबी गरिरहेका थिए ।
प्रधानमन्त्रीबाट मन्त्री छाड्न निर्देशन दिएपछि राजीनामा दिएका उनी अझै पनि आफू रास्वपाबाट सक्रिय राजनीतिमा आउन लागेको भन्न सकिरहेका छैनन् । राजीनामा दिएपछि भने उनले सुशासन, सार्वजनिक सेवाको सुधार र राज्य संयन्त्रमा जवाफदेहिता स्थापनालाई आफ्नो प्राथमिक राजनीतिक मुद्दा बनाउने संकेत दिएका छन् ।
प्रशासनिक अनुभवलाई राजनीतिक प्रतिबद्धतासँग जोडेर अघि बढ्ने उनको भनाइ छ । उनको घोषणाले नेपाली राजनीतिमा विशेषतः प्रशासनिक पृष्ठभूमिबाट आएका व्यक्तिहरू प्रत्यक्ष राजनीतिमा आउँदा त्यसले ल्याउने अवसर र चुनौतीबारे नयाँ बहस सुरु गराएको छ ।
समानान्तर राजनीतिक अभ्यासको आरोप
घिसिङ मन्त्री हुँदाहुँदै समानान्तर रूपमा राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप पनि खेपे । उनकै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ गठन मात्रै उनले गराएनन् सो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकताको समझदारी भएको, घिसिङलाई उपसभापति बनाउने सहमति भएको सार्वजनिक भइसक्दा पनि आफू कुनै पनि राजनीतिक दलमा नरहेको भनेर ढाँटिरहे ।
रास्वपा–उज्यालो नेपाल एकता अझै अलमलमा
रास्वपाको केन्द्रीय सदस्य चयनका विषयमा कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीि भित्र अझै आन्तरिक सहमति जुट्न सकेको छैन । केन्द्रीय सदस्यका रूपमा कसलाई पठाउने भन्ने विषयमा मतभेद कायमै रहेकाले निर्णय प्रक्रिया ढिलाइ भइरहेको बताइन्छ ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच उपसभापतिको वरीयता दिने सहमति भइसकेको र सोहीअनुसार उज्यालो नेपाल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिह्नमार्फत सहभागी हुने समझदारी बनेको थियो । तर, केन्द्रीय समिति र समानुपातिक सूचीमा आफ्नो पक्षको पर्याप्त सहभागिता सुनिश्चित नभएको भन्दै घिसिङ पक्षले निरन्तर दबाब दिँदै आएको छ । त्यसैले वृहत्त एकता समायोजन कार्यक्रममा न घिसिङ देखिए, न उनको पार्टी नेताहरु नै । घिसिङले मन्त्री पदबाट राजीनामा नदिएसम्म समायोजन प्रक्रिया अघि नबढ्ने अडान लिइएको थियो । अब उनले राजीनामा दिएसँगै एकता र समायोजन प्रक्रिया अघि बढ्ने दावी रास्वपा सभापति रवि लामिछानेले गरेका छन् ।
चुनावी सम्भावना र क्षेत्र
सुशीला नेतृत्वको चुनावी सरकारबाट बर्हिगमनसँगै घिसिङ खुल्ला रुपमा नै सक्रिय राजनीतिमा सरिक हुँदैछन् । अब उनले आगामी चुनाव कुन ठाउँबाट लड्लान् भन्ने अर्को चासो छ । घिसिङको जन्मस्थान रामेछाप भएकाले सम्भवतः उनी त्यहीँबाट चुनाव लड्ने अनुमान छ । यद्यपी उनी जुनसुकै ठाउँबाट चुनाव जित्ने विश्वास रास्वपा नेतृत्वलाई छ ।
हाल उनी काठमाडौं महानगरपालिका–६, बौद्ध÷महांकाल क्षेत्रमा बसोबास गर्दै आएकाले उनी काठमाडौं ३ बाट उठ्ने चर्चा पनि उत्तिकै छ । बौद्ध र गोकर्णेश्वर आसपास जनजातिको बाक्लो उपस्थिति, प्रमुख दलका शीर्ष नेताको अभाव र लोकप्रिय उम्मेदवारको कमीले उक्त क्षेत्र घिसिङका लागि अनुकूल हुन सक्ने आंकलन भइरहेका छन् ।
कुलमानका लागि अबको मुख्य चुनौती विवाद, विरोधाभासी दाबी र शक्ति समझदारीको राजनीतिबीच जनतासँग विश्वसनीय सम्बन्ध स्थापित गर्नु हो । प्रशासनिक छवि र राजनीतिक महत्वाकांक्षाबीच सन्तुलन कसरी कायम गर्छन् र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ व्यवहारबाट कसरी दिन्छन् ? फेरि पनि ‘सिरक ओढेर, घिउ खाने काम गर्लान् कि नगर्लान् आगामी दिनले बताउनेछ ।
