News 24 Television
'नेपाल डे' विवाद : निर्णय प्रक्रिया र आर्थिक पारदर्शिताबारे समुदायको गम्भीर आपत्ति

फेयरलोन, न्यूजर्सी। आगामी जुन ६ मा न्यूजर्सीको फेयरलोनमा आयोजना हुन लागेको “नेपाल डे” कार्यक्रम आन्तरिक विवाद र असन्तुष्टिको घेरामा परेको छ। कार्यक्रमको निर्णय प्रक्रिया, संस्थागत संरचना र आर्थिक पारदर्शिताबारे स्थानीय नेपाली समुदायका सदस्यहरूले गम्भीर चासो र आपत्ति व्यक्त गरेका छन्।

समुदायका प्रतिनिधिहरूका अनुसार कार्यक्रमको तयारीका लागि आयोजित एक भर्चुअल बैठकमा ५५ भन्दा बढी नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए। उक्त बैठकले सर्वसम्मत रूपमा “नेपाल डे न्यूजर्सी” नामक गैरनाफामूलक संस्था दर्ता गर्न तीन जनालाई जिम्मेवारी दिएको थियो। तर, बैठकको मर्म र सहमतिलाई पूर्ण रूपमा बेवास्ता गर्दै सीमित व्यक्तिहरूले आफ्नै ढंगले संस्था दर्ता गरेको आरोप लागेको छ।

गोप्यता र संयोजक चयनमा विवादसंस्था दर्ताको विषय लामो समयसम्म समुदायबाट गोप्य राखिएको दाबी गरिएको छ। हालै आयोजित टाउनहल बैठकमा सहभागीहरूले बारम्बार प्रश्न उठाएपछि मात्र सीमित व्यक्तिको नाममा संस्था दर्ता भएको तथ्य स्वीकार गरिएको थियो।

विवादको अर्को मुख्य कारण कार्यक्रमको संयोजक (कन्भेनर) चयन प्रक्रिया बनेको छ। समुदायका दुई जना अगुवाहरूको नाम कन्भेनरका लागि प्रस्ताव हुँदा समेत सहमति निर्माणको कुनै पहल गरिएन। उल्टै केही व्यक्तिहरूले संस्थाको पदाधिकारी र कन्भेनर दुवै मुख्य भूमिका आफैं ओगट्न खोजेको आरोप समुदायका सदस्यहरूको छ।

समुदायलाई बेवास्ता गरिएको गुनासोविवाद समाधानका लागि अर्को बैठक बस्ने आश्वासन दिइए पनि कुनै निष्कर्ष बिना नै संवाद टुङ्ग्याइएको थियो। न्यूजर्सीको नेपाली समुदायले बारम्बार बैठक बस्न अनुरोध गर्दा पनि त्यसलाई वास्ता नगरिएको गुनासो बढेको छ। सीमित समूहलाई मात्र समेटेर बाँकी बृहत् समुदायलाई बेवास्ता र भ्रमित पार्दै कार्यक्रम अगाडि बढाउन खोजिएको भन्दै स्थानीय नेपालीहरूले आक्रोश व्यक्त गरेका छन्।

आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न

सरोकारवालाहरूका अनुसार गत वर्षको नेपाल डे कार्यक्रममा संकलन भएको आर्थिक सहयोग व्यक्तिगत व्यावसायिक बैंक खातामा जम्मा गरिएको थियो। यस वर्ष संकलित रकम समेत संस्थाका सीमित सदस्यहरूको नियन्त्रणमा मात्रै राखिएको भन्दै समुदायले आपत्ति जनाएको छ। राष्ट्रिय पहिचानको नाममा उठाइएको रकमको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुनुपर्ने माग बलियो बनेको छ।

मानव तस्करीको आशंका र सूचना लुकाइएको आरोप

नेपाल डे कार्यक्रमको बहानामा नेपालबाट केही व्यक्तिहरू अमेरिका ल्याउने प्रयास भइरहेको चर्चा समुदायमा व्यापक छ। तर, यसबारे वास्तविक र आधिकारिक जानकारी समुदायका अधिकांश सदस्यहरूलाई उपलब्ध गराइएको छैन। महत्वपूर्ण सूचनाहरू गोप्य राखिएको भन्दै आम नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्।

नेतृत्व र सह-आयोजकको भूमिकामाथि प्रश्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष स्वयं न्यूजर्सी निवासी भएकाले यस कार्यक्रमका गतिविधि र उनको भूमिकामाथि प्रश्न उठाइएको छ। समुदायका सदस्यहरूले आर्थिक तथा व्यवस्थापकीय पक्षमा पूर्ण निष्पक्षता कायम गर्न माग गरेका छन्।

यस्तै, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास यस कार्यक्रमको सह-आयोजकका रूपमा जोडिएकाले समुदायले वाणिज्यदूतावासको ध्यानाकर्षण गराएको छ। कूटनीतिक नियोगले वास्तविक अवस्थाको सुक्ष्म अध्ययन गरी आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ।

सचेत रहन समुदायका अगुवाहरूको अपिल

नेपाली समुदायका अगुवाहरूले नेपाल र नेपाली पहिचानको दुरुपयोग गरी व्यक्तिगत वा आर्थिक लाभ लिने प्रवृत्तिका विरुद्ध सजग रहन सम्पूर्ण नेपालीहरूलाई अनुरोध गरेका छन्। आगामी दिनमा नेपाल र नेपालीको नाममा हुने जुनसुकै कार्यक्रम पारदर्शी, उत्तरदायी र सर्वपक्षीय सहभागितामा मात्र सञ्चालन हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update