काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसदमा दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरुले उक्त अभिव्यक्ति सच्याउन माग गरिरहेका छन् । संसदमा उभिएरै प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको छ, भनि दिएको अभिव्यक्तिलाई आपत्ति जनाउँदै विपक्षीले विरोध गर्दा संघीय संसदका दुवै सदन अबरुद्ध छन् । बालेन शाहले सदनमा विवादित अभिव्यक्ति दिएको दिन नै सत्ता पक्षले प्रतिनिधिसभा नियमावाली पेलेरै पास गरेपछि विपक्षीहरु थप आक्रोशित छन् । यसपछि अवरुद्ध भएको सदनको बैठक आगामी सोमबार बस्दैछ । यद्यपि यो बैठक निर्वाद रुपमा चल्ने छाँटकाट छैन ।
अर्कोतर्फ प्रधानमन्त्री बालेनको अभिव्यक्तिकै विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि पटक पटक अवरोध भइसक्यो । विपक्षीहरु जसरी पनि प्रधानमन्त्रीले सदनमा आएर प्रष्टिकरण दिनुपर्ने अडानमै छन् ।
तर प्रधानमन्त्री बालेन शाह भने सीमा विवाद सम्बन्धी संसदमा दिएको अभिव्यक्ति सच्याउने मुडमा छैनन् । उनले संसदमा बोलेको अभिव्यक्ति पार्टी र सरकारकै लाइन भएको भन्दै सदनमा यसको जवाफ नदिने बालेनको अडान छ । विपक्षीको मागलाई लिएर प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत सदनमा जवाफ नदिने सन्देश दलहरुलाई पठाएका छन् ।
संसदमा द्वन्द्वको खतरा
प्रधानमन्त्रीले सदनमा जवाफ नदिने सन्देश पठाएसँगै विपक्षी अझै नयाँ रणनीतिका साथ अघि बढ्ने पक्का छ । तर यस्तोमा सत्ता पक्षका सांसदहरु भने प्रधानमन्त्री बालने शाहको बचाउ गर्दै उनको अभिव्यक्ति सही भएको दावी गर्दै आएका छन् ।
यसरी सत्ता पक्षले बालेनको अभिव्यक्ति ठिक र विपक्षीले माफि माग्नुपर्ने अडान राखिरहँदा संसद अन्योलतामा रुमलिने निश्चितजस्तै छ भने, सदनमा द्वन्द्वको खतरासमेत पैदा हुनसक्ने देखिन्छ ।
बालेनको अभिव्यक्ति उच्च कुटनीति कि भारतप्रतिको नम्रता ?
संसदमा भारतले मात्रै नभइ, नेपालले पनि सीमा मिचेको भन्दै सीमा विवादको हल गर्न सुगौली सन्धीअनुसार नेपाल भारत सीमाको सम्बन्धमा सरोकार राख्ने बेलायतले पनि आफ्नो धारणा राख्नुपर्ने भनेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बालेनले उच्च कुटनीतिक रणनीति चालेका हुन् कि भारतप्रति नम्रता प्रकट गरेका हुन् भनेर हुन थालेको छ । केहीले बालेनले दुवै देशले सीमा मिचेको भनेर भारतलाई सन्तुलित बनाउँदै बेलायतलाई समेत समावेश गरेर ग्रेटर नेपालको दावी गर्न लागेको भनेर विश्लेषण गरेका छन् ।
तर केहीले भने सत्ता र राजनीतिक अनुकुलताका लागि भारत फकाउन बालेनले देशको राष्ट्रियता र सार्वभौमिकतालाई नै दाउमा राखेको टिप्पणी गरिरहेका छन् । तर जे होस् प्रधानमन्त्री बालेनले जनताको सार्वभौम थलो संसदको रोष्टममै उभिएर भारतको भूमी नेपालले पनि मिचेको भन्नु राष्ट्र र राष्ट्रियताको हितमा भने देखिँदैन ।
