काठमाडौं । सैनिक मञ्चमा १९ औं गणतन्त्र दिवस भव्यतापूर्वक मनाइएको छ। अघिल्ला गणतन्त्र दिवसमा देखिने गरेका दृश्यमा वदलाव आएको थियो भने मञ्चमा पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति थिएन्। यस्तो स्थितिमा आयोजित दिवसलाई प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिले सम्वोधन गरेका छन् ।
१९ औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा मनाइएको छ। सरकारी शीर्ष अधिकारी, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यसहित विदेशी कुटनीतिज्ञको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको छ। जसमा प्रधानमन्त्रीले गर्ने सम्बोधन नै राष्ट्रपति रामचन्द्र पौडेलले गरे।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा गरेको सम्बोधनको क्रममा शासन प्रणालीमात्रै फेरिएर जनताको अवस्था फेरिन नसक्ने जिकिर गरे। शासकीय स्वरुप र शैली फेरिएमात्रै जनताले गणतन्त्रको प्रत्याभूत गराउन सक्ने उल्लेख गरे।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको सभापतित्व गर्ने परम्परा थियो। जसअनुसार यसअघिका दिवसमा प्रधानमन्त्रीबाटै सम्बोधन हुने गथ्र्यो। तर, यसपटक भने राष्ट्रपतिलाई गणतन्त्रको प्रतिकको रुपमा अघि सार्ने भन्दै मन्त्रिपरिषद्ले नै निर्णय गरेर सम्बोधन गर्न आग्रह गरेपछि उनले सम्बोधन गरेको भनिएको छ। तर, सरकारको यो निर्णय आलोचनामा परेको छ।
पूर्वप्रधानमन्त्रीको अनुपस्थिति
प्रधानमन्त्री अध्यक्ष रहने गणतन्त्र आयोजक मूल समारोह समितिमा गृहमन्त्री लगायत सदस्य रहने प्रावधान रहेको छ। जसअनुसार प्रधानमन्त्री र गृहमन्त्री वालेन्द्र शाह आफै रहेकाले उनले पूर्वप्रधानमन्त्रीलाई निमन्त्रणा नै पठाउँदा औपचारिकतामात्रै दिएको बताइन्छ। पूर्वप्रधानमन्त्री केपी ओलीको सचिवालयले औपचारिक निमन्त्रणा नआएको जिकिर गरेको छ भने पूर्वप्रधानमन्त्री प्रचण्डलाई पनि प्रतिनिधिसभा सदस्यको हैसियतमा डाकिएको बुझिएको छ।
यता, अर्कापूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल पनि अनुपस्थित भएका छन भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा छन्। यसरी पूर्वप्रधानमन्त्रीलाई गणतन्त्र दिवसमा बोलाउने परम्परामाथि वालेन्द्र शाहले किन उपेक्षा गरे? यी विषयहरु भने विस्तारै खुल्दै जाने अपेक्षा गरिएको छ।
कसले के भने ?
गणतन्त्र दिवसको शुभकामना दिदै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारी शैलीको आलोचना गरेका छन्। प्रचण्डले भनेका छन्, ’हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो। परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ। नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट बनौं।’
यस्तै, पूर्वप्रधानमन्त्री केपी ओलीले पनि असन्तुष्टी पोखेको देखिन्छ। गणतन्त्रको विकल्प गणतन्त्र नै हुने जिकिर गरेका ओलीले भनेका छन्, ’लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो।
जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहन्छ।’
अर्कापूर्वप्रधानमन्त्री माधव नेपालले पनि गणतन्त्र दिवसको शुभकामनामा राजनीतिक प्रणालीमाथि उठाउन खोजिएका प्रश्न र प्राप्त नतिजामा असन्तुष्टी पोखेको देखिन्छ। जसमा उनले भनेका छन्, ’ राज्य सञ्चालकमा देखिएका केही कमजोरीहरुलाई व्यवस्थाको असफलताका रूपमा व्याख्या गर्ने प्रयास भइरहेका बेला राजनीतिक नेतृत्व, सरकार तथा सम्पूर्ण सरोकारवालाले आत्मसमीक्षा गर्दै सुशासन कायम गर्दै भ्रष्टाचार रहित पारदर्शी कार्यशैली मार्फत लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो, जनमुखी र उत्तरदायी बनाउन दृढतापूर्वक अघि बढ्नुपर्दछ ।’
यस्तै, पूर्वप्रधानमन्त्रीहरुले गणतन्त्र दिवसको शुभकामनामा गणतन्त्रलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। गणतन्त्र दिवसलाई सैनिक मञ्चको बन्द घेरामा सिमित पारिएपनि नागरिकले यसलाई उत्सवको रुपमा मनाउन पाउने गरि अघि बढाउनुपर्ने आवाज समेत उठ्ने गरेको छ ।
