News 24 Television
चुनावपछिको पहिलो सम्बोधनः राष्ट्रपति, प्रधानमन्त्रीदेखि आफ्नै नेताविरुद्ध आक्रोशः जे गर्न मन छ गर !

काठमाडौं । गएको चुनावपछि राजनीतिक रुपमा संकटमा हेलिएका एमाले अध्यक्ष केपी ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरे। ओलीले सम्बोधनको क्रममा निर्वाचन परिणाम, नेपाली सेनाको भूमिका, जेनजी आन्दोलन, संसददेखि एमालेको आन्तरिक राजनीतिबारे अनेक तर्क पेश गरेका छन्। के ओलीले अब एमालेलाई थप अघि बढाउने कामको नेतृत्व गर्लान? पार्टी पुनर्गठन भन्नेहरुमाथिको दबाब बढ्न थालेको देखिन्छ।

एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्र मानिने पौडेलले पार्टी पुर्गठन नगरि एमाले अघि बढ्न नसकिने प्रष्ट रुपले भने। तर, पौडेलले ओलीबिनाको कि ओलीसहितको ? यसमा भने खुलेर बोल्न सकेनन्। एमालेभित्र ओलीको विकल्प खोज्ने भन्दै चलिरहेको बहसमा भने ओलीले खुलेर प्रतिवादमात्रै गरेक छैनन्, अनुशासनहिनतासंग जोड्दै कारबाहीको चेतावनी नै दिएका छन्।

एमालेको आन्तरिक राजनीतिमा बलियो पकड राख्ने ओली पछिल्लो समय सचिवालयमा अल्पमतमा परिसकेका छन्। तर, उनले केन्द्रिय समितिमा आफ्नो बहुमत रहेको भन्ने गर्छन्। यहि पदचाप बुझेका ओलीले संकटमा नेतृत्व छाडेर भाग्नलाई आफूलाई गएको विशेष महाधिवेशनमा अध्यक्षको जिम्मेवारी नआएको समेत भनेका छन्।

यसरी पार्टीभित्र आफ्नो वर्चस्वलाई कायम राख्ने जिकिर गरेका ओलीले अन्य विषयमा के भने? 

– गौरीबहादुर कार्की नेतृत्वको आयोग नक्कली आयोग हो। सरकार निर्माणकै दिन रातारात पक्राउ गर्ने प्रपञ्च असफल बन्यो।

– सम्पत्ति छानविन आयोग मान्दिन्। बयान दिन पनि जान्न। सरकारलाई लागेको गर्दा हुन्छ।

– सम्पत्ति विवरणको नाममा त्रास फैलाउने प्रयास भइरहेको छ। आगो लगाएर पुगेको छैन भने खरानी उठाएर लगे हुन्छ।

–राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले औल्याएका विषयले नै पूर्वाग्रह र केपी ओलीलाई फसाउने नियत प्रष्ट हुन्छ। 

– वालेन्द्र शाह नेतृत्वको सरकारले देशको शीर निहु¥याउने काम ग¥यो। नेपालले कसैको एक इन्च सीमा मिचेको छैन्। प्रधानमन्त्रीका अभिव्यक्ति राष्ट्रघाती र कुटनीतिक मर्यादा विपरित छन्।

– सीमा विवाद समाधानमा तेश्रो पक्ष स्वीकार गर्न सकिन्न। कुटनीतिक परिपक्कतासाथ समस्या समाधान गरिनेछन्।

– संसदमा देशको पक्षमा उभिने सांसदलाई कारबाही गर्ने सभामुखको तयारी देशहितविपरित छ। कारबाही गरे हुन्छ।

– फागुन २१ को चुनावी नतिजा कृत्रिम हो। यो पहिले नै रचिएको षडयन्त्र हो।

– दलहरु एक्कासी निर्माण हुने र चुनाव जित्ने भन्ने विषय षडयन्त्रमा सम्भव हुन्छन्।

– अन्याय र दमनका अगाडी शीर झुकाउने काम गर्दिन्। जस्तोसुकै परिस्थितिसंग जुध्न तयार छु।

– वर्तमान व्यवस्था अराजकतन्त्र हो। राज्य प्रणाली संयमित हुनुपर्छ। यो अवस्था सधैं रहन्न। 

– भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वसुनियोजित घटना थियो।

– चुनावले लोकतन्त्र धरापमा पार्दैछ भन्दा पुराना दलहरुले षडयन्त्र बुझ्न सकेनन्।

–राष्ट्रपति लोकतन्त्रको प्रतिक हो तर, रबरस्ट्याम्प बन्नु भयो। जुक्तिले गणतन्त्र र संविधान बचाएको भन्नहुन्थ्यो। अहिले जुक्ति लगाएत लोकतन्त्र मास्ने प्रयास भइरहेको छ।

– नेतृत्वको शीर फालेर अघि बढ्दा एमाले बन्छ भन्ने गलत बुझाई त्याग्नैपर्छ। संकटमा नै हो नेतृत्व गर्ने।

– विद्यादेवी भण्डारीको पार्टी सदस्यतामा अनावश्यक भ्रम सिर्जना गर्ने काम भयो। राष्ट्रपतिको कार्याकाल सकिएपछि निवेदन प¥यो। सदस्यता दिने निर्णय भयो। योभन्दा धेरै केहि छैन्।

– एमालेको नेतृत्व छाड्ने कल्पना गरेको छैन्। सबै एकताबद्ध बनेर एमाले निर्माणको बाटोमा लाग्नुपर्छ। यसरी एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गर्दै सरकारप्रति कडा आक्रोश पोखे।

ओलीले देशमा लोकतन्त्र संकटमा परेको दाबी गर्दै सबै लोकतान्त्रिक शक्तिबीचको सहकार्य र एकतामा समेत विश्वास राख्नुपर्ने भनेका छन्। यस्तै, एमालेभित्र ओलीलाई लगातारजस्तो परिरहेका दबाबमा भने जस्तोसुकै परिस्थिति सामना गर्ने तर पछि नहट्ने जवाफ दिनुले एमालेको राजनीति थप पेचिलो बन्ने संकेत देखिन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update