News 24 Television
रविको भारत भ्रमणपछि बालेनलाई कस्तो प्रभाव पर्ला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि रास्वपा–भाजपा सहकार्यको संकेत देखिएको छ । भ्रमणले रविको राजनीतिक हैसियत बलियो बनाउने भए पनि सीमा विवादमा मौन रहेको भन्दै प्रश्न उठेको छ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिने भारत भ्रमाण सकेर आज स्वदेश फर्किएका छन् । भारतको सत्तारुढ दल भाजपाको मैत्रिपूर्ण निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । 

यो भ्रमणका क्रममा रविले भारतको सत्तारुढ दल भाजपा केन्द्रीय अध्यक्ष नितिन नविन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका छन् । रविलाई भाजपाले आफ्नै पार्टी कार्यालयमा उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री तहकै सम्मान गरेको देखिन्छ । 

रविले पार्टी–पार्टी र दुई देशबीचको सम्बन्ध सुदृढ तथा सहकार्यका लागि राखेको प्रस्तावलाई समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गरेका छन् । भेटवार्तापछि मोदीले फेसबुकमै स्टाटस लेखेर रविको प्रस्ताव सकारात्मक रहेको भन्दै रास्वपासँग सहकार्य गर्न तयार रहेको प्रतिकृया दिएका छन् । 

रविको भारत भ्रमण र रास्वपाको शक्ति सन्तुलन 

भारत भ्रमणले रविलाई राजनीतिक प्रेरणा मिलेको छ । रवि नेपालको राजनीतिमा छोटो समयमा राम्रो उचाइ प्राप्त गरेका नेता हुन् । रवि पहिलो पटक २०७९ को निर्वाचनमा सामेल भएर उपप्रधानसहित गृहमन्त्री बनेका थिए । तर यसपछि उनी सँधै विवाद र मुद्धामा रुमलिए ।

रविलाई सहकारी ठगी प्रकरण, सम्पत्ति सुद्धिकरण र संगठित अपराधको मुद्धामा कारागार चलान गरियो । तर जेनजी आन्दोलनपछि केहीहदसम्म राहत पाएका उनले फागुन २१ को निर्वाचनपछि भने पार्टीलाई झण्डै दुई तिहाईँको शक्तिशाली बनाएर ठूलो सफलता प्राप्त गरे । यद्यपि रवि आफ्नै दलको एकल सरकार रहँदा पनि प्रधानमन्त्री बालेन शाहको कारण छाँयापमा परेका छन् । मन्त्री छनौँट तथा सरकारी निर्णयमासमेत बालने शाहको एकलौटी चल्दा रवि किनारामा पुगेको चर्चा हुने गरेका छन् । 

वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाह पार्टीको बैठकमासमेत नियमित रुपमा उपस्थित नहुँदा रवि पार्टीमा कमजोर हुँदै गएको प्रष्ट थियो । तर रविको भारत भ्रमण आम रुपमा अनुमान गरिएको भन्दा सफल र अर्थपूर्ण बन्दा उनलाई राजनीतिक रुपमा उत्प्रेरणा मिलेको छ । जसले आगामी दिनमा रास्वपाभित्र शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिन्छ ।   

रविको भ्रमणपछि बालेन नेतृत्वको सरकारलाई कस्तो प्रभाव पर्ला ? 

विगतका नेताहरुको भारत भ्रमण नेपालको सत्ता परिवर्तन वा ठूलै राजनीतिक उथलपुथल सँग जोडिँदै आएको छ । तर रवि लामिछानेले भने यो पटकको आफ्नो भारत भ्रमण व्यक्तिगत स्वार्थभन्दामाथि रहेको टिप्पणी गरेका छन् । सार्वजनिक मञ्चमै रविले आफू राजनीतिक ढोका खोल्न नभइ, समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको टिप्पणी गरेका छन् । 

यो आधारले भारत भ्रमणपछि रवि लामिछाने सरकारमा पनि हस्तक्षेपकारी बन्ने तथा उनले बालेनलाई प्रधानमन्त्रीबाट विस्थापित गर्नसक्ने भन्ने कतिपयको विश्लेषण मेल खाँदैनन् ।  

निर्वाचन अगाबै रविले पार्टी हाँक्ने र बालेनले सरकार संचालन गर्ने भन्ने सम्झौतामा दुवै अडिग हाँदा सरकारको नेतृत्व तत्काल परिवर्तन हुने संभावना छैन । जुन कारणले हाललाई बालेन सरकारमाथि ठूलो प्रभाव पर्ने खतरा देखिँदैन । 

समग्रमा रविको भारत भ्रमण सफल नै भएको देखिन्छ । यद्यपि उनको भ्रमणमा नेपालको अतिक्रमित भूमी लिपुलेक, कालापानी तथा अन्य सीमा विवादको सम्बन्धमा ठोस छलफल हुन नसक्दा रविको भारत भ्रमाणको औचित्यमा भने केही प्रश्न उठेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update