काठमाडौं । नागरिक बचाउ महाअभियान चलाउदै आएका दुर्गा प्रसाई र राप्रपा छाडेका धवलशमशेर जबराले पार्टी निर्माणको सहमति गरेका छन्। वैदिक सनातन हिन्दु अधिराज्य भनेका उनीहरुले राजसंस्था पुनस्र्थापनाको पक्षमा भने कतै उल्लेख गरेको देखिन्न।
राष्ट्रवादी एकता कायम गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने भन्दै ददुर्गा प्रसाई र धवलशमशेर जबराले सहमति गरेका छन्। राप्रपा महामन्त्रीबाट पार्टी परित्याग गरेका शमशेरले प्रसाईसंग मिलेर पार्टी निर्माण गर्ने भएका छन्। उनीहरुले पार्टीको नाम, चुनाव चिन्ह, कार्यालय जस्ता विषयमा जानकारी नदिएपनि एकता घोषणा भने गरेका छन्। ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका उनीहरुले के भने त ?
१. नेपालको भुगोल, भुगोलको गर्भमा रहेको किराँत, बौद्ध सहितको सनातन हिन्दु अधिराज्य ।
२. राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वीनारायण शाहका दिव्योपदेशमा आधारित राष्ट्रवादी दर्शन ।
३. राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखि संघीयता ।
४. एक पटकको नेपाली सधैको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्ने व्यवस्था ।
५. लघुवित्त, सहकारी, बैक र मिटरव्याज बाट कालो सुचिमा पारिएका भुमिविहीन सुकुम्बासी नेपाली नागरिकको दिगो समस्या समाधान ।
६. असम्लग्न परराष्ट्रिय नीति ।
७. सुशासन र भ्रष्टचारमुक्त समाज ।
८. स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र ।
९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरुलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा ।
१०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६०% युवा तथा महिला सहभागिता ।
११. नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन ।
११ बुँदे सहमति गरेका उनीहरुले राजसंस्थाको बारेमा भने कतै उल्लेख गरेका छैनन्। भौगोलिक अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता, सभ्यतागत निरन्ततासहित राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेका प्रसाई र धवलले राष्ट्रवादी राष्ट्रिय शक्तिको आवश्यकता महशुस भएको दाबी गरेका छन्।
एकता घोषणापछि के भने ?
पार्टी निर्माण गर्ने भन्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका दुर्गा प्रसाई र धवलशमशेर जवराले राष्ट्र निर्माणको पक्षमा उभिन नयाँ पार्टी निर्माण गर्नुपरेको दाबी गरेका छन्। नागरिक गचाउ अभियानलाई पार्टीमा रुपान्त्रण गर्दै प्रसाई पनि अब राजनीतिको मुलधारमा फर्किएका छन्।
एमालेको केन्द्रीय सदस्यबाट कारबाही भोगेका उनी हिन्दु धर्मसहित राजतन्त्रको पक्षमा वकाल गर्ने गरेका छन्। यद्यपी एकता सम्झौताको ११ बुँदेमा भने राजसंस्थाबारे कतै उल्लेख गरेको देखिन्न।
राजेन्द्र लिङ्देनले पोखे भँडास
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने आक्रोश पोखेका छन्। पार्टीमा रहन अन्तिम समयसम्म पनि आह्वान गरेका लिङ्देनले धवलले प्रसाईसंग मिलेर पार्टी निर्माण गर्ने थाहा पाएपछि भने उनले छाडेर जाँदैमा केहि फरक नपर्ने भनेका हुन्। यता, उनी राप्रपाभित्रै पनि ठूलो दबाबमा देखिन्छन्।
राप्रपाका प्रवक्ता समेत रहेका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले पनि लिङ्देनको नेतृत्वमा अब महाधिवेशनमा जान नसकिने भन्दै राप्रपामा नयाँ नेतृत्व आउने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। कमल थापाले राप्रपा फुटाएर गएको लामो समयपछि एकतामा आएपनि धवलले पुनः विद्रोह गर्दै राप्रपा फुटाएका छन्।
