News 24 Television
सत्तारुढ दलमै किचलोः भवन अभावको कारण देखाइँदै

मकवानपुर । गत साउन अन्तिम सातादेखि बागमती प्रदेशसभा ठप्प छ । जेनजी आन्दोलन हुनुअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि गत साउन २७ गते बागमती प्रदेशसभाको बैठक बसेको थियो । त्यसयता अहिलेसम्म बस्न सकेको छैन । लामो समयदेखि ठप्प भएको प्रदेश सभा बैठक ५ महिना देखि अन्यौलमा छ । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएका तोडफोड र आगजनीले क्षतिग्रस्त बागमती प्रदेश सभा भवन उस्तै छ । आन्दोलनकै क्रममा जलेका मन्त्रालयहरु अन्यत्रै सारेर काम सुचारु गरिएको छ । 

प्रदेश सभा भवन क्षतिग्रस्त भएपछि प्रदेश सभा सचिवालयले अर्को एउटा खाली हललाई मर्मत गरेर सदन बस्न मिल्नेगरी तयार गरेको छ । प्रदेश सरकारको लगानीमा बनेको सभा हलमा आन्दोलनकै क्रममा साधारण क्षति भएपछि सोही हललाई मर्मत गरेर सदन बस्ने तयारी गरिदाँ सरकारमा रहेका दलहरु भने अधिवेशन आव्हान गर्न तयार देखिएका छ्रैनन् । 

केही दिनअघि सरकारको विपक्षी दलहरुले तत्काल सदन आव्हान नभए प्रदेश सभा नियमावली अनुसार विशेष अधिवेशन आव्हान गर्ने चेतावनी सहित ध्यानाकर्षण पत्र सरकारलाई बुझाएका थिए । तर सरकारले विपक्षी दलको कुरा नसुनी आफ्नै गतिमा लागिरहेको प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दलको आरोप छ । 

त्यसोत, बागमती प्रदेशका तत्कालिन सभामुख भुवनकुमार पाठकले जेन जी आन्दोलनकै क्रममा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले मध्ये सभामुख पद कसले लिने ? भन्ने विषयमा सहमती नजुट्दा सभामुख पद अहिलेसम्म पनि रिक्त छ । 

सोही कारण पनि प्रदेश सभा बैठकलाई सरकारमा रहेका दलले व्यवास्ता गरिरहेको चर्चा छ ।  तथापि, भवन अभावकै कारण सदन बस्न नसकिएको प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ दाबी गर्छन् । आगामी माघको दोस्रो सातासम्ममा सदन बस्ने गरी सरकारले तयारी गरिरहेको उनको भनाई छ । 

त्यसोत, बागमती प्रदेश सरकार संसदप्रति उत्तरदायी नभएको र लामो समयसम्म संसद् छल्न खोजेको विपक्षी दलहरुले आरोप लगाएका छन् । 

सरकारले जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर बसेको आरोप विपक्षीको छ । ११० सदस्यीय प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update