सप्तरी । आशन्न निर्वाचनका लागि निर्वाचन आयोग अन्तर्गतका निर्वाचन कार्यालयहरूले धमाधम काम गरिरहेका छन् भन नेताहरुले पनि आफु चुनावमा उठ्ने क्षेत्रका मतदातामाझ भेटघाट लगायतका विविध कसरत सुरू गरेका छन् । तर आउँदै गरेको निर्वाचनप्रति सप्तरीका विपन्न वर्गका मानिसहरुमा भने कुनै उत्साह छैन ।
आसन्न फागुन २१ गतेको निर्वाचनको लागि सबैले आ–आफ्ना तयारी जोडतोडका साथ गरिरहेका छन् । सप्तरीमा मतदानस्थल, मतदान केन्द्र तोकिएपछि अहिले निर्वाचन केन्द्र स्थापना तथा मतदानमा खटाइने निर्वाचन प्रहरी तथा कर्मचारीको छनौट प्रक्रिया चलिरहेको छ । तर सप्तरीका विपन्न नागरिकमा निर्वाचनको खासै उत्साह देखिएको छैन ।
मत लिने बेला नेताहरू घर घर धाउने गरेपनि त्यसपछि आफूहरुलाई कुनै वास्ता नगर्ने गरेको स्थानीय मतदाताको गुनासो छ । पछिल्लो निर्वाचनका बेला नेताहरुले गरेका परिवर्तन । विकासका बाचाहरुले आफुहरुको जीवनमा कुनै परिवर्तन नआएकोे स्थानीयको गुनासो छ ।
तराई मधेशमा हरेक वर्ष जाडोमा अति विपन्नलाई ज्यान जोगाउनै मुस्किल हुन्छ । तर विपन्न नागरिकको यस्तो समस्यामा जनप्रतिनिधिहरुले गम्भीरतापुर्वक ध्यान नदिएको दुखेसो उनीहरु गर्छन् । यद्यपी आसन्न निर्वाचनमा जसले आफुहरुको जीवन उकास्ने योजना ल्याउँछ त्यसलाई मत दिने स्थानीय विपन्न नागरिक बताउँछन् ।
यस बर्ष निर्वाचनको लागि सप्तरीमा २८ हजार २४ जना मतदाता थपिएका छन् । दुई लाख १३ हजार महिला, दुई लाख २३ हजार पुरुष र २३ जना अन्य गरि सप्तरीमा मतदाताको संख्या चार लाख ४६ हजार चार सय २ जना पुगेको छ ।
मतदानको लागि दुई सय ९५ मतदान स्थलमा एक थपेर दुई सय ९६ मतदान स्थल बनाइएको छ । त्यस्तै पाँच सय ३६ मतदान केन्द्रबाट यसपाली थपेर पाँच सय ६२ भएको छ ।
जेनजी आन्दोलनले बदलेको राजनीतिक माहोलमा पुराना नेताहरुलाई त्यति सहज छैन । अब उनीहरुले आम नागरिकले पत्याउने र नतिजामुखी योजना ल्याउनु पर्छ । नत्र विद्यमान अवस्थामा आम मतदाताहरुको मन जित्न नेताहरुलाई त्यति सहज छैन ।
