News 24 Television
नाटक मञ्चनदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रदर्शन

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा विगत ९ दशक भन्दा बढीदेखि पाँच दिवसीय सरस्वती पुजनोत्सव मनाइँदै आएको छ । मेलामा हुने स्थानीय कला प्रदर्शनीदेखि खेल प्रदर्शनी लगायतका क्रियाकलापले बाह्य र आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ । यद्यपी सरोकारवाला निकायको यसमा ध्यान पुगेको छैन । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१तिलाठी गाउँमा विगत ९ दशक भन्दा बढी समयदेखि पाँच दिवसीय सरस्वती पुजनोत्सव मनाइँदै आएको छ । यसवर्ष बसन्त पञ्चमीको दिन माघ ९ गते सुरु हुने पुजा १३ गतेसम्म चल्ने छ । स्थानीयले मेलाको भव्य तयारी गरेका छन् । 

मुर्ती निर्माणदेखि स्टेज तथा पसलहरुको लागि स्टल व्यवस्थापनको काम भइरहेको छ ।  मेलामा हुने सम्पूर्ण खर्च गाउँलेहरूले आफै आर्थिक सहयोग दिएर गर्ने गरेका छन् । अबको एक हप्तामा सबै काम तयार भइसक्ने पुजा तथा मेला समितिका अध्यक्ष सुनिल मिश्रले बताए ।

स्थानीय विद्यार्थीहरूद्वारा पुजा अवसरमा गर्ने गरिएको नाट्य मञ्चन यसको मौलिकता हो । अहिले पुजाको अवसरमा नाट्य मंचन गर्ने उदेश्यले गाउँमा दुई वटा नाट्य परिषद् स्थापना गरिएको छ । २००१ सालमा स्थापना भएको सरस्वती साँस्कृतिक नाट्यकला परिषद् तथा २०३६ सालमा स्थापना भएको हरगौरी नाट्यकला परिषद्ले मेलाको लागि बाल तथा विद्यार्थीहरुलाई समेटेर एक महिना अघिदेखि नै नाटक मञ्चनको तयारी भइरहेको छ ।  दुवै परिषदले धार्मिक, समाजिक, ऐतिहासिक नाटक प्रहसनका लागि अभ्यास गराइरहेका छन् ।  

यस मेलाको मुख्य आकर्षण अन्तर्राष्ट्रिय कुस्ती प्रदर्शनी हो । जसमा नेपाल र भारतका पहलमानबीच प्रतियोगिता हुने गर्छ । कुस्ती हेर्न दैनिकी बीस हजार बढी नागरिक आउने गरेको समितिको दाबी छ । 

यसबर्ष पनि तीन दिने कुस्ती प्रदर्शनी आयोजना गरिएको समितिले जनाएको छ । यसका अतिरिक्त यहाँ विभिन्न किसिमको झुल्ला रहेनछ भने साँस्कृतिक कार्यक्रम, महाआरती कार्यक्रम तथा जिल्ला स्तरीय नृत्य प्रतियोगिता हुनेछ । यस वर्षको मेलामा कुल १५ लाख खर्च हुने समितिको अनुमान गरिएको छ । मेलाको लागि स्थानीयको उत्साहजनक सहभागिता भइरहेको कोषाध्यक्ष रविकेशव मिश्रले बताए । 

यस पुजामा आउने दर्शनार्थी तथा कुस्ती प्रदर्शनीको दर्शकको संख्या उल्लेखनीय हुने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update