News 24 Television
महोत्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, १६३ मतदान स्थल अतिसंवेदनशील

महोत्तरी । चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

स्थापना गरिएको निर्वाचन अधिकृत कार्यालय बाट निर्वाचनसम्बन्धी उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, प्रशासनिक कामकारवाही, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

महोत्तरीको सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत महोत्तरीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रुपमा उदघाटन गरेका छन । 

यसैका साथै निर्वाचन क्षेत्र १ को लागि बर्दिवास उद्योग वाणिज्य संघको कार्यालय, निर्वाचन क्षेत्र २ को लागि  आधारभुत अस्पतालको भवन बलबा नगरपालिका ७ बनौटा र निर्वाचन क्षेत्र नं. ४ को लागि महेन्द्र रा.मा.वि रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले  बताएका छन ।

निर्वाचन क्षेत्र नं. ३ को भने मुख्य निर्वाचन अधिकृतकै कार्यालयबाट कामकाज हुने जनाइएको छ । सो निर्वाचन क्षेत्रहरुमा क्रमसः क्षेत्र नं. १ को लागि गगनदेव महतो , क्षेत्र नं. २ को लागि शोभाकर खरेल र क्षेत्र नं. ४ मा नारायण प्रसाद चापागाई निर्वाचन अधिकृत रहनु भएको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी यादवले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने  बताउदै जिल्लमा हुनेगतिविधिहरु सूक्ष्म रुपमा नियाली रहेको समेत जानकारी दिए ।    

महोत्तरीमा ३४ हजार २५२ मतदाता थपिए पछि चार लाख ३१ हजार २८२ मतदता पुगेका निर्वाचन कार्यालय महोत्तरीले जानकारी दिएको छ । यस अघि ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीमा तीन लाख ९७ हजार ३० मतदाता रहेको थियो । 

जिल्ला निर्वाचन कार्यालयले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी  कुल चार लाख ३१ हजार २८२ मतदाता रहेको जनाइएको छ।

चार निर्वाचन क्षेत्रमा २५८ मतदानस्थल र ५३६ मतदान केन् निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरकिा प्रमुख रंजिता झाले  बताएका छन ।  

महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेको र सोको लागि ५९ मतदानस्थल र १२० मतदान केन् व्यवस्था गरिएको छ । क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेको र सोको लागि ६२ मतदानस्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेको र सोको लागि ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ । क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतादाता रहेकोमा ६० मतदानस्थल १३१ मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले  बताए । 

महोत्तरीको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ।

यता मनोयन दर्ता र निर्वाचन मिति नजिकीदै जादा राजनीतिक गतिविधि र चुनावी चर्चामा समेत बढेको देखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update