News 24 Television
गगन अघि संघर्षका ३ मोर्चा : कम्युनिष्ट, लोकप्रीयतावाद र अनुदार काँग्रेसी !

काठमाडौं । नेपाली काँग्रेसको सभापति चयन भएसँगै अब गगनकुमार थापा प्रधानमन्त्री बन्ने मिसनको थप निकट पुगेका छन् । काँग्रेस कै उपभापति विश्वप्रकाश शर्मादेखि काँग्रेसका कार्यकर्ता पनि गगनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै फागुन २१ को निर्वाचनमा होमिने तयारीमा छन् । तर, प्रधानमन्त्रीको जिम्मेवारीसम्म पुग्न उनले अब मुख्यतः ३ मोर्चामा संघर्ष गर्नु पर्ने देखिन्छ । उनले लोकप्रियतावादसँग जुद्ध्नु पर्ने छ । कम्युनिष्टका आधारशील भत्काउनु पर्ने छ । र, आफ्नै पार्टीभित्रको एकतालाई मजबुत बनाउन पाको काँग्रेसीको चित्त बुझाउनु पर्नेछ । 

पुरानै प्रतिस्पर्र्धी कम्युनिष्ट !

प्रधानमन्त्री सम्मको यात्रामा गगन थापाको अघि पहिलो चुनौतीको रुपमा काँग्रेस कै चिरपरिचित प्रतिद्वन्द्वी कम्युनिष्ट रहने छन् । जसका अग्रस्थान छ–नेकपा एमलो । थापाले यस अघि नै प्री पोल एयालयन्स नगर्ने बताइसकेको छन् ।

महामन्त्री कै रुपमा उनको संकल्प थियो, ‘नेपाली काँग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पुर्व गठबन्धन गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिन्हमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन ।’ विगतमा माओवादीसँग सहकार्य गर्दै काँग्रेस एमालेविरुद्ध चुनावी मैदानमा उत्रिने गरेको थियो । त्यस पछि गगन थापाले महमन्त्रीको रुपमा त्यसबेला अब निर्वाचन अघि नै गठबन्धन नगर्ने उद्घोष गरेका थिए । यसको अर्थ हो, गगन नेतृत्वको काँग्रेस चुनावी मैदानमा एक्लै, एउटै चुनाव चिन्ह रुख मात्र लिएर १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने छ । 

त्यसो त काँग्रेस र एमाले नेपालको चुनावी राजनीतिका पुरानै प्रतिस्पर्धी हुन् । संविधान जारी भएसँगै भएको दुई निर्वाचन अर्थात २०७४ र २०७९ सालको आम निर्वाचनमा पनि एमाले र काँग्रेस नै प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका थिए । 

२०७९ सालको देशभरको समानुपातिक मत हेर्दा एमाले सबैभन्दा ठुलो दल देखिन्छ । जम्मा १ करोड ५ लाख ६० हजार ८२ मत मध्ये नेकपा एमालेले प्राप्त गरेको मत २८ लाख ४५ हजार ६४१ थियो । जबकी नेपाली काँग्रेसको मत २७ लाख १५ हजार २२५ थियो । प्रतिशतमा हेर्दा एमालेले जिम्मा मतदानको झण्डै २७ प्रतिशत र नेपाली काँग्रेसले २६ प्रतिशत मत प्राप्त गरेको थियो । यदि काँग्रेसप्रति मतदाताको रुझान यसै गरी आयो भने गगन थापाको लागि प्रधानमन्त्रीसम्म पुग्न सहज देखिँदैन । 

उनले समानुतातिक तर्फ एमालेको चुनौती पार गर्नु पर्ने छ । मधेश प्रदेश बाहेक सबै प्रदेशमा काँग्रेसको भन्दा एमाले कै मत बढी देखिन्छ । कोशी, बागमति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा काँग्रेस भन्दा एमाले बलियो छ समानुतालिक मत परिणम हेर्दा । 

२०७४ सालको निर्वाचनको समानुपातिक मत परिणाममा पनि एमाले नै अघि देखिन्छ । त्यस निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको थियो भने काँग्रेसको जम्मा ३१ लाख २८ हजार ३८९ मत मात्र थियो । सानो मतान्तर होस् तर, यस निर्वाचनमा पनि काँग्रेस एमाले भन्दा पछि नै देखिन्छ । यस निर्वाचनमा एमालेले ३३.२५ प्रतिशत मत प्राप्त गर्दा काँग्रेसको मत ३२.७७ प्रतिशत थियो । जबकी विगतमा नेपाली काँग्रेस यस्तो थिएन । 

२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसले १०९ सिट मध्ये ७४ सिट जितेको थियो । १७ लाख ९१ हजार २०१ मत मध्ये काँग्रेस एक्लैले ६ लाख ६६ हजार ८९८ मत प्राप्त गरेको थियो । त्यसबेला काँग्रेसले प्राप्त गरेको मत ३७.२२ प्रतिशत थियो । जबकी उसको त्यसबेलाको प्रतिस्पर्धी दल नेपाली राष्ट्रिय गोरखा परिषद्ले १७.०३ प्रतिशत मात्र प्राप्त गरेको थियो । 

२०४८ सालको संसदीय निर्वाचनमा पनि काँग्रेस पहिलो दल नै थियो । काँग्रेसले यस निर्वाचनमा पनि ३७.७५ प्रतिशत मत प्राप्त गरेको थियो । २०५ सीट मध्ये उसले त्यसबेला ११० स्थानमा विजयी हासिल गरेको थियो । नेपाली काँग्रेसको इतिहासमा यही नै उसले चुनावी इतिहासमा प्राप्त गरेको सबैभन्दा बढी मत हो । २०५१ सालको निर्वाचनमा काँग्रेसले ३३.३८ प्रतिशत मत प्राप्त ग¥यो । २०५ मध्ये काँग्रेसले ८३ सीत जितेको थियो । त्यस निर्वाचनमा नेकपा एमाले ८८ सीट सहित पहिलो दल बनेको थियो । 

२०५६ सालको निर्वाचनमा नेपाली काँग्रेसले ३६.१४ प्रतिशत मत प्राप्त गरेको थियो । यस निर्वाचनमा उसले २०५ मध्ये १११ सीट जितेको थियो । त्यसबेला पनि उसको निकटतम प्रतिस्पर्धी नेकपा एमाले थियो । जसले ७१ स्थानमा विजयी हासिल गरेको थियो । 

२०१५ देखि ५६ सालसम्मको प्राप्त मत प्रतिशत हेर्दा सीटमा कहिले तलमाथि भए पनि काँग्रेस नै पहिलो स्थानमा देखिन्छ । तर, २०७४ पछि भने एमाले अग्रस्थानमा रहेको छ । त्यसकारण, अब गगन नेतृत्वको काँग्रेसले घट्दै गइरहेको काँग्रेसले प्राप्त गर्ने मत प्रतिशितलाई कसरी हुन्छ बढाउनु पर्ने छ । जहाँ पछिल्लो समय एमालेले काँग्रेसलाई निरन्तर पछाडि पारिरहेको छ । त्यसो त उसले एमालेसँगै प्रचण्ड नेतृत्वको नेकपा लगायत दलसँग पनि प्रतिस्पर्धा गर्नु नै छ । तर, प्रधानमन्त्री सम्म पुग्न गगनको अघि कम्युनिष्टको मात्र सामना होइन, उनी अघि नयाँ चुनौतीको रुपमा रास्वपा पनि रहेको छ । 

नयाँ चुनौती रास्वपा ! 

रास्वपाले काठमाडौँमा मेयर बालेन शाहलाई आफ्नो प्रधानमन्त्रीको उम्मदेवार अघि सार्दै चुनावी मैदानमा उत्रिसकेको छ । २०७९ सालको निर्वाचनबाट राजनीतिक मञ्चमा उदाएको रास्वपा फैलिने क्रममा छ । ऊ कम्युनिष्ट होइन, आफूलाई प्रजातान्त्रिक दलको रुपमा नै चिनाउन्छ । साथै, रास्वपा कै प्रभावाशाली नेता काँग्रेसबाट विद्रोह गरी रास्वपा आइपुगेका छन् । 

२०७९ सालको निर्वाचनमा रास्वपाले समानुपातिक तर्फ ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो । उता, रास्वपाले प्रधानमन्त्रीको रुपमा उठाएका बालेन शाहले काठमाडौँको मेयरमा काँग्रेस र एमाले जस्ता दलका उम्मेदवारलाई पछि पार्दै मेयर विजयी हुन सफल भएका थिए । अहिले पुराना दललाई चुनौती बनेका बालेन र रवि एकै ठाउँमा छन् । र, पुराना दलको विकल्प आफू भएको दाबी गरिरहेका छन् । 

त्यसो त रास्वपासँग गगनको राम्रो सम्बन्ध पनि देखिँदैन । सहकारी ठगीमा रविलाई जेलसम्म पुराउने अभियानको नेतृत्वकर्ता गगन थापा नै थिए । गगन थापा कै नेतृत्वमा काँग्रेसको निरन्तरको अभियान र आवाज पछि संसदीय समिति बन्यो । सुर्य थापा नेतृत्वको उक्त समितिको सिफारिस बमोजिम नै प्रहरी अनुसन्धान पछि रविविरुद्ध अभियोजन सुरु भएको थियो । जसलाई रास्वपा राजनीतिक प्रतिशोध भन्दै आइरहेको छ । उता, गगन यसलाई विधिको शासन र कानूनको कार्यान्वयनको रुपमा बुझिरहेका छन् । 

त्यसकारण, गगन नेतृत्वको काँग्रेसलाई रवि नेतृत्वको रास्वपा पनि चुनौती कै रुपमा रहने छ । प्रधानमन्त्रीको जिम्मेवारीसम्म पुग्न बाहिरी रुपमा रास्वपा र कम्युनिष्ट शक्तिसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्नु पर्ने छ भने आन्तरिक रुपमा काँग्रेस भित्र कै पाको पुस्ताको मन पनि उनले बुझाउनु पर्ने छ । 

काँग्रेस भित्रको आन्तरिक एकता !

गगनलाई तेस्रो चुनौती भनेको पार्टी भित्रको एकता हो । निर्वाचन आयोगले गगन नेतृत्वको नेपाली काँग्रेसलाई अधिकारिकता दिए पनि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका बहुसंख्यक केन्द्रीय सदस्य अहिले गगनसँग छैनन् । विशेष महाविधेशनले गगनलाई सभापतिमा चयन गरे पनि देउवा नेतृत्वको काँग्रेस गगनलाई अस्वीकार गरिरहेको छ । निर्वाचन आयोग गगनको पक्षमा देखिए पनि त्यसलाई देउवा काँग्रेसले सर्वोच्चमा चुनौती दिने बताइसकेको छ । 

विशेष महाधिवेशनलाई देउवा नेतृत्वको काँग्रेसले अस्वीकार गरेको थियो । गगन विश्वको जोडिप्रति आक्रोशित देउवा नेतृत्वको काँग्रेसी नेताहरु निर्वाचन अघि नै प्रधानमन्त्रीको घोषणा गर्न सम्म पनि तयार थिएनन् । यता, नेपाली काँग्रेसले भने गगनलाई नै अब प्रधानमन्त्रीको रुपमा अघि सार्दै छ । काँग्रेस भित्र कै विभाजित मनलाई अब गगनले कसरी जोड्छन्, त्यसले पनि निर्वाचनमा काँग्रेसले प्राप्त गर्ने मत निर्भर रहन्छ । 

हुन त काँग्रेस सभापति गगन थापाले विगतमा देउवा नेृतत्वको काँग्रेसले गरेका निर्णयको स्वामित्व लिने बताइरहेका छन् । उनले राष्ट्रिय सभामा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने बताएका छन् । साथै, देउवा नेतृत्वको काँग्रेसले पठाएको समानुपातिक सूचीमा पहिले असन्तुष्टि रहेका बताएका उनले अब त्यसमा फेरबदल नगर्ने बताएका छन् । उनको उक्त प्रयासले काँग्रेस जोड्छ वा जोड्दैन । त्यो भने प्रतिक्षा कै विषय छ । 

उनले आफू नेतृत्वको काँग्रेसले आधिकारिता पाएसँगै जारी गरेको विज्ञप्तिमा पनि एकताको लागि आह्वान गरेका छन् । उनले अब काँग्रेसमा कुनै गुट नभएको र गुटगत भागबण्डा पनि नहुने उल्लेख गरेका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विशेष महाधिवेशनमा सहभागी हुनुभएका नहुनुभएका, सहमत हुनुभएका नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पुर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन– कुनै अलमल नपरौ, सवै संयम होऔं, जिम्मेवार बनौ, एकतावद्ध रहौ। विश्वास र भरोसा राखुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ ।’ 

उनको आह्वान देउवा नेतृत्वको काँग्रेसी नेताहरुले कत्तिको सुन्छन् वा सुन्दैनन्, त्यो प्रष्ट छैन । काँग्रेसको सभापति भइसकेको गगन थापा अब प्रधानमन्त्रीको कुर्चीसम्म पुग्न उनले अब तीन मोर्चामा आफूलाई ठिक ढंगले उभ्याउनु पर्ने छ । एमालेसँगको प्रतिस्पर्धा, रास्वपासँगको सम्बन्ध र काँग्रेसभित्र कै एकता कसरी अघि बढ्छ, त्यसले नै गगन अब प्रधानमन्त्री बन्ने वा नबन्ने निर्धारण गर्ने सम्भावना छ । यदि उनले आफ्नो पार्टीलाई यी तीन मोर्चामा खरो उतार्न सके उनी देशको नेतृत्व गर्ने अवस्थामा पुग्ने छन् ।  

अब उनको परिक्षा काँग्रेसले कति प्रतिशन मत प्राप्त गर्छ भन्नेमा निर्धारण हुने छ । नेपाली काँग्रेसको इतिहासमा उसले सबैभन्दा बढी २०४८ सालको निर्वाचनमा ३७.७५ प्रतिशत मत प्राप्त गरेको थियो । यदी गगनको नेतृत्वमा काँग्रेसले यो संख्या पार गर्न सके उनको प्रधानमन्त्रीसम्मको बाटो सहज बन्ने छ । तर, यदि उनले काँग्रेसले पछिल्लो निर्वाचनमा प्राप्त गरेको २६ प्रतिशत मत पनि जोगाउन सकेनन् भने त्यसले उनलाई थप संकटमा धकेल्ने छ । त्यसबेला गगन मात्र पराजित हुने छैनन्, गगन नेतृत्वमा आए देश बदलिने सपना बोकेका लाखौँको सपना पनि टुट्ने छ । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update