News 24 Television
ओली–बालेन भिडन्त : चर्चामा झापा क्षेत्र नं ५

झापा । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ देशकै सबैभन्दा चासोपूर्ण निर्वाचन क्षेत्रमध्ये एक बन्ने संकेत देखिएको छ । कारण एउटै छ—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनमा दिएका बालेन शाहबीच यही क्षेत्रमा हुने सम्भावित चुनावी प्रतिस्पर्धाको चर्चा ।

बालेनले झापा ५ बाटै उम्मेदवारी दिने औपचारिक घोषणा नभईसकेपनि उनलाई ओलीको सम्भावित प्रतिष्पर्धीको रुपमा हेरिन थालेपछि झापा ५ अहिलेदेखि नै विशेष चासो र चर्चामा छ ।  

झापा–५ ओलीको राजनीतिक उद्गमस्थल हो । २०४८ सालदेखि संसदीय राजनीति सुरु गरेका केपी शर्मा ओलीले २०६४ सालको संविधानसभा निर्वाचन बाहेक यही क्षेत्रबाट लगातार जित्दै आएका छन् । लामो समयसम्मको प्रतिनिधित्वका कारण स्थानीय संगठन, कार्यकर्ता सञ्जाल र मतदातासँग उनको सम्बन्ध बलियो मानिन्छ । यता बालेन शाह पछिल्लो समयका युवा पुस्तामा लोकप्रिय छवि बनाएका पात्र हुन् । 

झापा क्षेत्र नं ५ मा ओली र बालेन बिच प्रतिष्पर्धा हुने चर्चा चल्न थालेदेखि यो क्षेत्र चर्चाका केन्द्रमा छ । यस क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकासमा ओलीको प्रत्यक्ष पहल रहेको एमालेको दाबीे छ । झापाकै स्थायी बासिन्दा हुनु र पार्टी संरचना मजबुत हुनु उनको प्रमुख शक्ति हो । यही आधारमा एमालेले आगामी निर्वाचनका लागि उनलाई यही क्षेत्रबाट एकल सिफारिस गरिसकेको एमाले झापा सचिव लक्ष्मी कार्की बताउँछन्। 

काठमाडौं महानगरबाट आइतवार राजीनामा दिएका बालेन शाह वैकल्पिक राजनीतिक धारका प्रतिनिधि मानिन्छन् । ‘जेनजी आन्दोलन’पछि स्थापित राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढिरहेको सन्दर्भमा बालेनले आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

यसै क्रममा उनी दमकस्थित लक्की सिटौलाको घरमा सचिवालय स्थापना गरि झापा आउने तयारीमा रहेका छन् । रास्वपा नेतृ लक्कीका अनुसार बालेन सोमबार साँझ झापा आइपुग्ने बताउँछिन् ।

यदि ओली–बालेनको प्रत्यक्ष भिडन्त हुन्छ भने यसको असर झापा–५ मा मात्र सीमित रहने छैन । स्थापित दल र वैकल्पिक राजनीतिक धारबीचको यो प्रतिस्पर्धाले आगामी निर्वाचनको चरित्र नै निर्धारण गर्न सक्ने देखिन्छ । यसले युवा मतदाता, स्वतन्त्र उम्मेदवारी र पार्टी राजनीतिबीचको टकरावलाई स्पष्ट रूपमा उजागर गर्नेछ । त्यसैले झापा–५ को चुनाव अब सामान्य क्षेत्रीय प्रतिस्पर्धा नभई राष्ट्रिय राजनीतिक बहसको केन्द्र बन्दै गएको छ । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update