झापा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशकै केन्द्रविन्दु बनेको छ, झापा निर्वाचन क्षेत्र नं ५ । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । अन्य निर्वाचन क्षेत्रहरुमा समेत उत्तिकै कडा प्रतिष्पर्धाको सम्भावना देखिरहँदा ५ भने एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका निवर्तमान मेयर बालेन शाहका कारण सर्वाधिक चासोमा छ । मंगलवार मनोनयन दर्ता गराएसँगै ओली र बालेन घरदैलो अभियान गर्दै मतदाताहरुसँग भेट्न थालेका छन् ।
दुई फरक पुस्ता, फरक राजनीतिक पृष्ठभूमि र फरक कार्यशैली बोकेका भावि प्रधानमन्त्रीका आकांक्षी प्रतिष्पर्धाले झापा–५ लाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । एकातिर दशकौँदेखि मुलुकको राजनीतिमा प्रभाव राख्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने अर्कोतिर छोटो समयमै काठमाडौँ महानगरको मेयर बन्दै शासकीय अभ्यासमा चर्चित बनेका बालेन शाह ।
स्थानीय मतदाताहरूबीच ‘स्थायित्व कि परिवर्तन ?’ भन्ने बहस तीव्र बनेको छ । ओलीले झापा–५ लाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा लिँदै आएका छन् । स्थानीय विकास, पूर्वाधार विस्तार र राष्ट्रिय राजनीतिमा झापाको पहिचान मजबुत बनाएको दाबी ओली गर्छन् । एमाले कार्यकर्ताहरू ओलीको अनुभव र पहुँच नै जितको मुख्य आधार भएको बताउँछन् ।
यता बालेन शाह भने दलभन्दा माथि उठेर जनताको विश्वास जित्ने रणनीतिमा देखिएका छन् । काठमाडौं महानगरमा देखिएको कार्यशैली, भ्रष्टाचारविरुद्धको कडा अडान र सामाजिक सञ्जालमार्फत युवासँगको सीधा संवाद उनको मुख्य बल बनेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को निर्वाचन परिणामले परम्परागत दलको पकड र नयाँ राजनीतिक विकल्पप्रतिको जनआकांक्षाको वास्तविक परीक्षण गर्नेछ ।
ओली र बालेनबीचको प्रतिष्पर्धा झापा–५ को मात्र होइन, देशकै राजनीतिक दिशाबारे जनमत दिने चुनाव हुने स्थानीय बताउँछन् । ओली र बालेन दुवैलाई प्रतिनिधिसभामा देख्न चाहनेहरु भने उनीहरु यसरी प्रतिष्पर्धामा नआएको भए ठीक हुने धारणा राख्छन् ।
ओली–बालेन रणनीति
ओली लामो राजनीतिक अनुभव भएका नेता हुन् । उनले मतदातासमक्ष आफुलाई यसरी नै प्रस्तुत गरिरहेका छन् । जेनजी आन्दोलनलाई भूराजनीतिक प्रभाव दाबी गरिरहेका ओलीले आफ्नो जितलाई देश बचाउने अभियानको रुपमा अथ्र्याएका छन् ।
रास्वपा र बालेनलाई भदौ २४ गतेको घटनाको दोषी र विदेशी मतियारको रुपमा ओलीले चित्रित गर्दै आएका छन् । यता बालेन भने आफ्नो लोकप्रिय छविलाई चुनाव जित्ने हतियार बनाइरहेका छन् । मंगलवार मनोनयन दर्ता गर्न जाँदा समेत उनको अघिपछि ठूलो भीड थियो । झापा ५ का मतदाताहरुको मन जित्न बालेनले काठमाडौँमा आफुले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरिरहेका छन् ।
झापा ५ बाट चुनाव जितेर बालेन देशकै परिवर्तनको प्रतिक बन्न खोजिरहेका छन् । चुनाव जित्न उनले केही आक्रामक कदमहरु पनि चालिरहेका छन् । उनले नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्षलाई नै रास्वपामा तानिसकेका छन् । त्यस्तै कांग्रेस दमक नगर सभापति समेत बालेनलाई सघाउने भन्दै रास्वपामा प्रवेश गरिसकेका छन् ।
त्यसै झापा ५ मै पर्ने कमल गाउँपालिकाका कांग्रेस सचिव समेत रास्वपामा आइसकेका छन् । यी बाहेक झापा ५ का कांग्रेस एमालेका युवा नेताहरुलाई पनि बालेनले आफुतिर ल्याउने प्रयास गरिरहेका छन् । युवामाझ लोकप्रिय रहेका बालेनलाई ओलाी हराउन झापा ५ मा युवाहरुकै साथ खोजिरहेका छन् ।
घरदैलो शुरु
निर्वाचन नजिकिदै जाँदा बालेन र ओलीले घरदैलो अभियान तीव्र बनाएका छन् । बुधवार बिहानैदेखि दुवै उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताहरु भेट्न शुरु गरेका छन् । झापा ५ मा एमालेबाट ओली र रास्वपाबाट बालेन बाहेक नेकपाका रञ्जित तामाङ लगायत अन्य दल र नौ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् ।
