News 24 Television
नेपालको लगातार दोस्रो हार, नेदरल्याण्ड्स सुपरसिक्स पुग्यो, विश्वकप खेल्न सपना के होला ?

काठमाडौं । घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली महिला टोलीले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो हार व्यहोरेको छ । किर्तिपुरस्थिति टियु मैदानमा नेपाल नेदरल्याण्ड्सँग २ रनले पराजित भयो । यो पराजयसँगै नेपालको विश्वकप खेल्ने सपनामा धक्का पुगेको छ । नेपाललाई पराजित गर्न सफल नेदरल्याण्ड्स भने सुपर सिक्समा पुगेको छ । नेपालको हारमा ब्याटिङ र फिनिसिङ प्रमुख कारण बन्न पुग्यो ।

नेपाली महिला टोलीको लक्ष्य छ, सन् २०२७ मा इंग्ल्याण्डमा हुने टि–२० विश्वकप खेल्ने । तर प्रदर्शन भने त्यहि अनुरुपको सन्तोषजनक छैन । महिला टोलीले यतिबेला घरेलु मैदानमा टि–२० विश्वकप ग्लोवल छनोट खेलिरहेको हो । १० टोली सहभागि प्रतियोगितामा समुह बी मा रहेको नेपालले सुरुवाती दुई खेलमा हार ब्यहोरेको छ । यसले नेपालको विश्वकप खेल्न लक्ष्यमा कालो बादल मडारिएको भएपनि झिनो आश भने बाँकी नै छ । 

नेपालले उद्घाटन खेलमै थाइल्याण्डसँग ८ विकेटको ठूलो हार व्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससंग जम्मा २ रनको झिनो अन्तरले पराजित भयो । विहिबार किर्तिपुरस्थिति टियु मैदानमा भएको खेलमा नेपाली महिला टोली विशेषगरी ब्याटिङमा चुक्यो । 

नेदरल्याण्डसले दिएको १ सय ४१ रनको लक्ष्य पन्छाएको नेपालले अन्तिम ओभरसम्म संघर्ष गरेपनि निर्धारित २० ओभरमा १ सय ३८ रनमा रोकिन पुगेको थियो । जितसंगै तिन खेलमा ६ अंक बटुलेको नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल समुह बी को पुछारमा पुगेको छ । घरेलु मैदान र समर्थकको साथ पाउँदा पनि नेपाली महिला टोली कहाँ चुकिरहेको छ त ? 

नेदरल्याण्ड्ससंगको हारले नेपाली महिला टोली मैदानमा निकै निराश देखिन्थ्यो । दुई रनको झिनो अन्तरले हार्दा त्यो पिडाभान हुनु स्वभाविक हो । तर खेल भावनामा मात्रै बगेर हुँदैन नतिजा नै ठुलो पक्ष हो । खेलमा अनुभवी पारी खेलेकी रुबिना क्षेत्रीले अन्तिम समयमा फिनिसिङमा चुक्कदा हार्नु परेकोमा पश्चाताप गरिन् । 

हर्षल पाठकको मुख्य प्रशिक्षकत्वमा रहेको नेपाली महिला टोलीले ऐतिहासिक रुपमा विश्वकप खेल्ने लक्ष्य बोकेपनि नतिजा चिन्ताजनक निकालिरहेको छ । विश्वकप खेल्ने सपना साकार पार्न हारको नतिजा भुलेर नेपाली महिला टोलीले बाँकी दुई खेल कसरी जित्ने भन्नेमा केन्द्रीत हुनु नै बुद्धिमानी हुने प्रशिक्षक राजु बस्नेतको सुझाव छ ।  

नेपालको विश्वकप खेल्ने मौका कति ? 

नेपाल रहेको समूह बीमा पाँच राष्ट्र छन् । नेपालले लगातार दुई खेल हार्दा सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ । नेदरल्याण्ड्सले लगातार तीन खेलमा जित निकाल्दै सुपरसिक्समा स्थान बनाउँदा नेपाल पुछारमा छ । नेपालले अव दुई खेल खेल्न बाँकी छ । नेपालले स्कटल्याण्ड र जिम्बाब्बेसँग जित निकाल्दा सुपर सिक्स पुग्ने झिनो सम्भावना रहन्छ । एक समुहबाट तीन टोली सुपर सिक्समा जाने नियम छ । 

यस्तो हुँदा पहिलो कुरा नेपालले बाँकी खेल जितेर सुपर सिक्समा पुग्न प¥यो, दोस्रो नेपाल सुपर सिक्सको उत्कृष्ट चारमा पर्न प¥यो । नभए २०२७ को नेपालको विश्वकप खेल्ने सपना समाप्त हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update