News 24 Television
टाइगर कप शुरु, अन्तराष्ट्रिय टिमले बढ्यो रोमाञ्चकता

कास्की । पोखरामा शुक्रवारदेखि अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता टाइगर कप सुरु भएको छ । राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा चिनाउने लक्ष्यका साथ आयोजना गरिएको एनसेल टाइगर कपमा स्वदेशी तथा विदेशी क्लब टोलीहरूको सहभागिता रहेको छ । 

नेपालको राष्ट्रिय खेल हो भलिबल । पछिल्लो समय भलिबल खेलमा आकर्षण बढिरहेको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू पनि आयोजना हुन थालेका छन् ।

पोखरामा पनि शुक्रबारदेखि छैटौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा रंगशालामा शुरू भएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कूल ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नियमित सञ्चालन भइरहने यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेलेको बताए ।

प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ थाइल्याण्डको थाइल्यान्ड क्विन्स क्लब र पुरुषतर्फ माल्दिभ्सको टिम सहभागी छन् । 

त्यस्तै नेपाली पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ नेपालको सहभागिता रहेको छ । महिलातर्फ सहभागी टोलीमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब रहेको छ । 

विदेशका उत्कृष्ट टोली र नेपाली टोलीमा समेत रहेका विदेशी खेलाडीहरुको प्रदर्शनले प्रतियोगिता रोचक बन्ने आयोजकको दाबी छ । भलिबल प्रतियोगितालाई निरन्तरता दिँदै आएको टाइगर ग्रुपले स्वास्थ्य, शिक्षा र खेल गरी ३ क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको संस्थाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्मा बताउँछन् ।

प्रतियोगिताका विजेता टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् । उपविजेताले समान ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रतिष्पर्धी टिमहरुले लिग चरण पार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्ता खालका अन्तर्राष्ट्रिय प्रतियोगिताले आउँदो पिढीलाई खेल प्रतिको आकर्षण बढाउने हुँदा खेल विकासका लागि राज्यले पनि अझ बढी तदारुकता देखाउनु आजको आवश्यकता बनेको छ । 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update