News 24 Television
बन्ला टर्निङ प्वाइन्ट ? ओलीदेखि प्रचण्डसम्म कठोर परीक्षामा !

काठमाडौं । पुराना राजनीतिक दलहरूले आफ्नो सत्ताको पकड गुमाउन नचाहँदा नयाँ शक्ति र वैकल्पिक आवाजहरू तीव्र गतिमा अगाडि बढेका छन् । अनुभवी नेतादेखि युवा र सामाजिक आन्दोलनबाट उदाएका नयाँ अनुहारसम्म एउटै निर्वाचन क्षेत्रमा मतदाताको समर्थन जित्न लागिपरेका छन् । फागुन २१ को चुनाव अब केवल सिट जित्ने लडाइँ मात्र नभएर जनताको असन्तुष्टि, परिवर्तनको आकांक्षा र नयाँ राजनीतिक संरचना निर्माण गर्ने महत्त्वपूर्ण परीक्षा बनेको छ । 

पुरानो सत्ता, चिरपरिचित अनुहार र थाकेको राजनीतिक शैलीलाई चुनौती दिँदै यसपटकको निर्वाचन नयाँ ऊर्जा र नयाँ आकांक्षासहित मैदानमा उत्रिएको छ । २१ फागुनको मतदान अब सिटको अंकगणितमा सीमित छैन । 

यो मतदाताको धैर्य, निराशा र परिवर्तनको चाहनाको सार्वजनिक अभिव्यक्ति बन्ने तयारीमा छ । पालैपालो शासन गरेका दलहरू पहिलोपटक यति खुला रूपमा नयाँ राजनीतिक शक्तिसँग ठोक्किएका छन् । 

लोकप्रिय मेयर, आन्दोलनबाट उदाएका नेता, सामाजिक सञ्जालबाट बनेका राजनीतिक अनुहार र दशकौँदेखि सत्ताको केन्द्रमा रहेका अनुभवी नेताहरू एउटै मैदानमा आमनेसामने छन् । मुख्य दलका अध्यक्ष र प्रभावशाली नेताहरू स्वयं चुनावी मैदानमा उत्रनुले यो चुनावलाई सत्ताको मात्र होइन, नेतृत्वको वैधताको परीक्षण बनाइदिएको छ । 

नेतृत्व तहबाटै चुनाव लड्ने रणनीतिले पार्टीभित्रको शक्ति सन्तुलन, जनाधार र मतदाताको मनोविज्ञान सबैको परीक्षा भइरहेको छ । यसपटक प्रतिस्पर्धा उम्मेदवारको संख्याले होइन, असन्तुष्टि, विकल्पको खोजी र राजनीतिक पुनर्संरचनाको चाहनाले तय हुने भन्दै विश्लेषण शुरु भएको छ । 

अब हेरौं ‘इपिसेन्टर’ बनेका निर्वाचन क्षेत्र । 

गगन–अमरेश : सर्लाही–४

विशेष महाधिवेशनबाट विद्रोही धारको नेतृत्व गर्दै नेपाली कांग्रेसको सभापति बनेका गगन थापा मधेस झरेका छन् । तर उनी उठेको सर्लाही–४ नै उनका लागि सहज छैन ।

यही क्षेत्रमा कांग्रेसकै पुराना, प्रभावशाली र जनाधार भएका नेता अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

२०७९ को नतिजा

-   अमरेशकुमार सिंह – २० हजार १७

-   कांग्रेस (नागेन्द्रकुमार राय यादव) – १८ हजार २ सय ५२

-   स्वतन्त्र (मधुमाला कुमारी यादव) – १४ हजार ६ सय २२

सर्लाही–४ ऐतिहासिक रूपमा कांग्रेसको पकड क्षेत्र भए पनि अमरेशले एक्लै त्यो पकडलाई चुनौती दिँदै आएका छन् । भर्खरै सभापति बनेका थापाको मधेस यात्रा र अमरेशको स्थानीय प्रभाव ठोक्किँदा यो क्षेत्र राष्ट्रिय राजनीतिक सन्देश दिने मैदान बनेको छ । 

केपी–बालेन : झापा–५

२०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा स्थापित र बलिया उम्मेदवार हुन् ।

२०७९ को नतिजा

-  केपी शर्मा ओली – ५२ हजार ३ सय १९

-   कांग्रेस (खगेन्द्र अधिकारी) – २३ हजार ७ सय ४३

-   रास्वपा (सुरेश पोखरेल) – ११ हजार ७ सय ४९

तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको अनुहारका रूपमा अघि सारेको छ । युवा पुस्तामाझ लोकप्रिय बालेनको प्रवेशले ओलीको ‘सुरक्षित किल्ला’ मा पनि कम्पन ल्याएको छ ।

उपेन्द्र–दिनेश–ताराकान्त : सप्तरी–३

२०७९ को हारपछि जसपा अध्यक्ष उपेन्द्र यादव सुरक्षित क्षेत्र खोज्दै सप्तरी–३ पुगेका छन् । तर त्यहाँ कांग्रेसका दिनेश यादव पहिल्यैदेखिका बलिया पात्र हुन् ।

२०७९ को नतिजा

-  दिनेश यादव (कांग्रेस) – २६ हजार १ सय ६६

-  ताराकान्त चौधरी (एमाले) – २२ हजार ३ सय

यसपटक पनि एमालेले चौधरीलाई नै उम्मेदवार बनाएको छ । जसपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय भिडन्तले सप्तरी–३ मधेसको राजनीतिक दिशा मापन गर्ने क्षेत्र बनेको छ ।

दुई राजेन्द्रको झापा–३

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका कृष्णप्रसाद सिटौलाबीचको भिडन्तले झापा–३ चर्चित बनाउँदै आएको छ । यहि क्षेत्रमा राजेन्द्रलाई टक्कर दिन कांग्रेसले राजेन्द्र कुमार घिमिरेलाई मैदानमा उतारेको छ ।  

२०७९ को नतिजा

-  राप्रपाका राजेन्द्र लिङ्देन – ४० हजार ६ सय ४८

-   कृष्णप्रसाद सिटौला – ३७ हजार ३ सय ७२

यसपटक सिटौलाले टिकट पाएनन् । कांग्रेसले राजेन्द्रकुमार घिमिरे र एमालेले हरिबहादुर राजवंशीलाई उठाएको छ । कमजोर प्रतिद्वन्द्वीका कारण लिङ्देनको पकड तुलनात्मक रूपमा सुरक्षित देखिन्छ ।

कुलमान–राजु : काठमाडौं–३

लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका कुलमान घिसिङको राजनीतिमा प्रवेशले काठमाडौं–३ को समीकरण फेरिएको छ ।

२०७९ को नतिजा

-    कांग्रेस (सन्तोष चालिसे) – १५ हजार १ सय ५८

-   एमाले (कृष्णबहादुर राई) – ११ हजार १ सय ९६

-   रास्वपा – ५ हजार ८ सय ६५

यो क्षेत्रमा अहिले रास्वपाबाट राजुनाथ पाण्डे मैदानमा छन् भने कांग्रेसबाट रमेश अर्याल प्रतिष्पर्धामा छन् । त्यस्तै, एमालेबाट रामेश्वर फुयाँल प्रतिष्पर्धामा छन् । कुलमान घिसिङले ‘मिड–लेयर’ र नयाँ मतदाता तानेमा कांग्रेस–एमालेको द्वन्द्व उल्टिन सक्छ । 

बस्नेत–खत्री : भक्तपुर–२

एमाले सचिव महेश बस्नेत २०७९ मा झिनो मतान्तरले हारेका थिए । २०७४ साल बस्नेतले जितेको यो क्षेत्रमा २०७९ सालमा कांग्रेसका दुर्लभबहादुर थापा झिनो मतान्तरले विजयी भएका थिए ।

२०७९ को नतिजा

-    दुर्लभबहादुर थापा (कांग्रेस) – २४ हजार २ सय ३९

-    महेश बस्नेत – २३ हजार २ सय ८२

रास्वपाबाट पूर्वपत्रकार राजीव खत्री र नेकपाबाट दिपशिखा सापकोटाको उम्मेदवारीले यो क्षेत्र बहुकोणीय प्रतिस्पर्धाको केन्द्र बनेको छ ।

रेणु–सोबिता : चितवन–३

प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक चितवनको ३ नम्बर क्षेत्र पनि रहेको छ । रेणु दाहाल र सोबिता गौतमको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ । 

२०७९ को नतिजा

-    राप्रपाका विक्रम पाण्डे (एमाले समर्थन) – ३५ हजार ६०

-  माओवादीका भोजराज अधिकारी (कांग्रेस समर्थन) – २५ हजार ८ सय २४

-   रास्वपा – १४ हजार ८ सय ४३

यसपटक कांग्रेस आफ्नै चुनाव चिह्नमा, रास्वपा लहरमा र माओवादी रेणु दाहालको महानगर कामको आधारमा मैदानमा छन् । त्रिपक्षीय भिडन्तले परिणाम अनिश्चित बनाएको छ ।

काठमाडौं–५ : हेभिवेटसँग नयाँ

काठमाडौं–५ लाई यसपटक हेभिवेट भिडन्तसँगै नयाँ शक्तिको कडा चुनौती झेल्ने निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । अघिल्लो चुनावमा विजयी भएका कांग्रेसका प्रदीप पौडेललाई पार्टीले पुनः उम्मेदवार बनाएको छ भने एमालेले आफ्ना वरिष्ठ नेता ईश्वर पोखरेललाई फेरि मैदानमा उतारेको छ ।

२०७९ को नतिजा

-   प्रदीप पौडेल (कांग्रेस) – १५ हजार २ सय ६९

-   ईश्वर पोखरेल (एमाले) – १० हजार १ सय ९०

-   रास्वपा – ५ हजार ४ सय ७७

कांग्रेस र एमालेबाहेक यस क्षेत्रका अर्का चर्चित राप्रपा उम्मेदवार कमल थापा हुन् । नेकपाबाट कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल मैदानमा छन् । काठमाडौं–५ मा सेलेब्रिटी र चर्चित अनुहारहरूको बाक्लो उपस्थिति छ । गतिशील लोकतान्त्रिक पार्टीबाट निशा अधिकारी, जय मातृभूमि पार्टीबाट वसन्तराज कुँवर र उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङजस्ता अनुहारहरूले पनि यस क्षेत्रलाई थप चर्चित बनाएका छन् ।

रुकुम पूर्व : प्रचण्डको कठोर परीक्षा

माओवादी आन्दोलनको केन्द्र रुकुम पूर्वबाट प्रचण्ड उम्मेदवार बनेका छन्, तर ‘टुरिस्ट उम्मेदवार’ को आरोप र आफ्नै पार्टीभित्रको कमजोर समर्थनले उनको बाटो सजिलो छैन ।

२०७९ को नतिजा

-   पूर्णबहादुर घर्ती (माओवादी) – १२ हजार २ सय ६२

-   कैलाशकुमार मल्ल (एमाले) – ५ हजार २ सय ११

यसपटक कांग्रेस, एमाले, रास्वपा र प्रलोपा सबै मैदानमा छन् । 

अनुभवी नेतृत्व र नयाँ अनुहारबीचकोे भिडन्त

२१ फागुनको निर्वाचन परिणाम जे आए पनि यसले नेपाली राजनीतिमा एक महत्वपूर्ण मोड तय गर्ने निश्चित छ । यो चुनाव पुराना दलको संगठनात्मक शक्ति मात्र होइन उनीहरूले जनताको विश्वास कति बाँकी राख्न सकेका छन् भन्ने मापन पनि हो । 

त्यस्तै, नयाँ र वैकल्पिक शक्तिहरूका लागि यो लोकप्रियता केवल सामाजिक सञ्जाल र नारामा सीमित छ कि मतपेटिकासम्म पुग्छ भन्ने निर्णायक परीक्षा बनेको छ । 

सर्लाहीदेखि रुकुमसम्म, झापादेखि काठमाडौंसम्म देखिएको तीव्र प्रतिस्पर्धाले जनताले अब कम खराब नभई वास्तविक विकल्प खोजिरहेको संकेत दिएको छ । अनुभवी नेतृत्व र नयाँ अनुहारबीचको यो भिडन्त सिट जित्ने वा हार्ने भन्दा देश कुन राजनीतिक दिशातिर मोडिन्छ भन्ने प्रश्नको जवाफ पनि ‘ब्यालेट बक्स’ले दिने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update