News 24 Television
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान तीव्र बन्दै गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिरूद्ध काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा उत्रिएपछि यतिबेला चर्चामा रहेको छ, झापा–५ । एमालेको बिगतको बिरासत भत्काउन बालेन शाहलाई जसरी भएपनि विजय गराउने दाउमा रास्वपा रहेको छ । 

चुनावी अभियानको रुपमा यतिबेला रास्वपाका वरिष्ठ नेता बालेन शाह पश्चिम नेपालमा छन् । तर उनको अनुपस्थितिमा झापा ५ को चुनावी कमाण्ड बालेन पत्नी सविना काफ्ले सम्हाली रहेकी छन् । 

झापामा चुनावी अभियान सफल पार्न सविना मतदाताको घरदैलोमा खटिँदा चुनावी माहोल थप उत्साहित देखिएको छ । झापा–५ अन्तर्गत दमक, गौरादह लगायतका विभिन्न बस्तीमा पुगेको सविनाको टोलीलाई स्थानीयले चासोका साथ स्वागत गरेका छन् । विशेषतः युवापुस्ताको बाक्लो सहभागिता देखिँदा रास्वपाले ‘नयाँ पुस्तामा राजनीतिबाट परिवर्तन’को सन्देश प्रवाह गरेको जेनजी पुस्ताका मतदाता बताउँछन् ।

परम्परागत रूपमा एमालेको बलियो आधार मानिँदै आएको यस क्षेत्रमा यसपटक नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले चुनावी समीकरण फरक बन्दै गएको देखिन्छ । 

विशेषगरी युवापुस्ता र परिवर्तन चाहने मतदाताहरू नयाँ अनुहारतर्फ आकर्षित भइरहेका छन् । स्थानीय विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवा सुधार मुख्य चुनावी मुद्दा बनेका छन् । मतदाताले यसपटकको निर्वाचनलाई केपी शर्मा ओली र बालेन शाह बिचको प्रतिस्पर्धाका रुपमा हेरेका छन् । 

बालेन काठमाडौं महानगरको मेयर पदमा चुनाव लड्दा गुमनाम रहेकी बालेन पत्नी सविना अहिले झापामा घरदैलो अभियानमा सक्रिय रहेकी छिन् । श्रीमान्लाई भावि प्रधानमन्त्रीका रूपमा रास्वपाले अगाडि बढाएपछि उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै महिला सहभागिता, सामाजिक न्याय र स्थानीय मुद्दामा खुलेर कुरा राखिरहेकी छन् । 

झापा–५ परम्परागत रूपमा ठूला दल र चर्चित नेताहरूको बलियो पकड रहेको क्षेत्र मानिन्छ । तर यसपटक रास्वपाको सशक्त उपस्थिति र फरक शैलीको चुनावी अभियानले प्रतिस्पर्धालाई रोचक बनाएको छ । 

राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको व्यक्तिगत छवि, काठमाडौंमा देखिएको कार्यशैली र अहिलेको घरदैलो अभियानले मतदाताको ध्यान तानेको छ ।

रास्वपाको घरदैलो अभियान आगामी दिनमा झापा–५ का सबै पालिकामा विस्तार गर्ने तयारी छ । पार्टीले यस निर्वाचनलाई ‘परम्परागत राजनीतिक अभ्यास तोड्ने अवसर’ का रूपमा लिएको छ भने मतदातामा देखिएको उत्साहले प्रतिस्पर्धा थप चर्किने संकेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update