News 24 Television
सप्तरी २, सीके राउतलाई आफ्नै पूर्व सहकर्मीको खतरा

सप्तरी । सप्तरी–२ मा यसपटक पनि चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । २०७९ कको निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गरेका सीके राउतलाई यसपटक आफुबाटै छुटेकाहरूले चुनौती दिएका छन् । उपेन्द्र यादव यसपटक अघिल्लो निर्वाचन क्षेत्र छाडेर सप्तरी–३ पुगेका छन् भने सप्तरी–२ बाटै उम्मेदवारी दिएका सीके राउत घेराबन्दीमा परेका छन् । 

सबै निर्वाचनमा रोचक रहँदै आएको सप्तरी–२ को चुनावी प्रतिष्पर्धाले यसपटक पनि नजर तानेको छ । उम्मेदवारहरू घरदैलोदेखि पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिइरहेका छन् ।   कहिले राष्ट्रिय अध्यक्षको टकराव त कहिले मधेशका ठूला नेताले उम्मेदवारी दिँदा रोचक बन्ने गरेको यो क्षेत्र यसपटक गत निर्वाचनमा सँगै रहेकाहरू छुट्टिएकोले रोचक बनेको छ ।  

जनमत पार्टीका अध्यक्ष सीके राउत गत निर्वाचनमा सप्तरी–२ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै संसद पुगेका थिए । उपेन्द्र यादव यसपटक सप्तरी–३ सरेसँगै सप्तरी–२ मा सीके राउतका लागि बाटो खुला हुने अनुमान गरिएको थियो । तर चुनावी मैदानमा परिस्थिति झन पेचिलो बन्दै गएको छ । गत निर्वाचनमा सीके राउतसँगै सप्तरी २(क) बाट प्रदेश सभामा निर्वाचित सतिश सिंहले आफ्नै भाइ नेतृत्वको स्वाभिमान पार्टी र केही महिनाअघि मात्र जनमत छाडेका शरद सिंह यादवले आफ्नै नेतृत्वको जनअधिकार पार्टीबाट राउत विरुद्ध उम्मेदवारी दिएका छन् । 

सोही क्षेत्रमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका सिंहको सप्तरी २ मा राजनीतिक प्रभाव निकै छ । जसको असर सीके राउतलाई असर पर्ने देखिएको छ । यद्यपी राउत आफुले सहजै जित्ने दाबी गर्छन् । 

त्यसैगरी २०७० को उपनिर्वाचनमा तत्कालीन सप्तरी –३ बाट निर्वाचित उमेश यादव नेकपा त्यागेर हालै जसपा नेपालमा प्रवेश गरेर सीके राउतसँगै चुनावी मैदानमा छन् । २०७९ निर्वाचनमा माओवादी केन्द्रबाट सप्तरी–२(ख) प्रदेश सभामा प्रतिस्पर्धा गरेका उनी जनमत पार्टीको लहर चल्दा पराजित भएका थिए । तर यो क्षेत्रमा संगठित जसपा नेपालबाट प्रतिस्पर्धामा आएका उनी थप बलियो भएको देखिन्छन् ।

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी छापले समेत सप्तरी–२ मा पनि लहर बनाउँदै लगेको देखिन्छ । खासगरी परम्परागत दल र नेताप्रति असन्तुष्ट मतदाता र युवा मतदातालाई रास्वपाले आकर्षित गरिरहेको छ । जसको असर पुराना दल र नेताहरूलाई पर्ने देखिन्छ । रास्वपाबाट उम्मेदवार बनेका रामजी यादवले रास्वपा संघीयता विरोधी नरहेको भन्दै मत बटुल्न लागेका छन् । 

सप्तरी–२ को निर्वाचन यसपटक अन्यको लागि अवसर र सीके राउतको लागि चुनौती बनेको छ । यसपटकको निर्वाचनमा पुराना दलले बर्चस्व राख्ने कि नयाँ शक्तिले झण्डा फहराउने भने यकिन साथ भन्न सक्ने अवस्था छैन । 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update