News 24 Television
डडेल्धुरमा प्राथमिक तहदेखि नै शिक्षा सुधार अभियान शुरु

डडेल्धुरा । नेपालको शिक्षा प्रणालीका विषयमा विभिन्न टिका टिप्पणी भइरहने गरेका छन् । विभिन्न प्रकृतिका शिक्षक, विभिन्न प्रकृतिका विद्यालय तथा विद्यालयहरुले प्रदान गर्ने शिक्षामा समेत भिन्नता रहेको तर्क वितर्कबीच डडेल्धुरामा भने सरकारी विद्यालयको जग मानिने प्रारम्भिक वालविकास केन्द्रदेखि नै शिक्षामा गुणस्तर सुधारको थालनी गरिएको छ । 

विद्यालय शिक्षाको जग मानिने प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूलाई शिक्षाको गुणस्तर सुधारका लागि डडेल्धुरामा क्षमता विकास कार्यक्रम थालिएको छ । निजि विद्यालय सरह सरकारी विद्यालयको गुणस्तर कायम गर्न र सरकारी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि कार्यक्रम प्रभावकारी हुने बताइएको छ । 

प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूलाई पठनपाठनका साथै शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान तथा सिप प्रदान गरिएको सहभागीहरुले बताएका छन् । 

कार्यक्रममा सहभागी शिक्षकहरूले तालिमले कक्षाकोठाको सिकाइ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । तालिमले जिम्मेवारी बोध गराइनुका साथै दायित्वका बिषयमा समेत जानकारी पाएको एक सहभागीले बताए । 

कार्यक्रममा बालमैत्री शिक्षण सिकाइ विधि, स्थानीय स्रोतसाधनको प्रयोग गरी शिक्षण सामग्री तयार गर्ने तरिका तथा बालबालिकाको सर्वाङ्गीण विकासमा खेल र सिर्जनात्मक गतिविधिको बिषयमा जानकारी गराइएको छ ।

भौतिक विकास मात्र नभई शिक्षाको गुणस्तर विकासका लागि समेत यस बर्ष कार्यक्रम सुरु गरिएको सामाजिक विकास कार्यालय डडेल्धुराले जनाएको छ । प्रारम्भिक तहको शिक्षा मजबुत बनाउँदै दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास गरिएको छ । 

कार्यक्रमा डडेल्धुरा जिल्लाका ७ वटै स्थानीय तहका १८ जना प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update