सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा मतदाताहरूले ’नो भोटङ्गि’ अभियान सुरु गरेका छन् । जनताका मागमा नेताहरु प्रतिबद्ध नबनेको भन्दै ममतदाताले आसन्न चुनावमा मतदान नगर्ने भन्दै अभियान नै चलाउन थालेका छन् ।
मतदाताले नै प्रमुख समस्यालाई मागको रुपमा राख्दै उनीहरुले निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा ब्यानर झुण्डाएर ’नो भोट’ अभियान चलाएका छन् ।
जेनजी आन्दोलनपछि मुलुकका लागि नयाँ नेतृत्व चयन गर्न भन्दै युवामा उत्साह बढेको छ । तर, सप्तरीको निर्वाचन क्षेत्र नम्बर–१ को एक गाउँका मतदाताहरू भोटिङ्ग नगर्ने अडानमा छन् । यस क्षेत्रको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवा टोलका मतदाताहरूले ’नो भोटिङ्ग’ अभियान चलाएका छन् ।
टोलका विभिन्न ठाउँ र मुख्य सडकमा ब्यानर झुण्ड्याउँदै उनीहरुले नो भोटको अभियान चलाएका हुन् । मतदाताको समस्यामा नेताहरु सैवेदनशिल नबनेको आरोपसहित उनीहरुले नो भोट अभियान चलाएर आफ्ना माग उठाइरहेका छन् ।
कोशी तटबन्ध निर्माणले २०२० सालमा बस्ती विस्थापित भएपछि बसोबास गर्दै आएको ठाउँको लालपुर्जा हालसम्म प्राप्त गर्न नसकेको उनीहरू गुनासो छ । तटबन्धको छेउमा बसोबास गर्दै आएकोले बाढीको जोखिम पनि उच्च रहने गरेको हुँदा तटबन्ध मर्मतको माग पनि उनीहरुले राखेका छन् ।
स्थानीयका अनुसार सात सय बिघा क्षेत्रमा फैलिएको सो बस्ती अझै पनि लालपुर्जाविहीन रहेकोले समस्या बल्झिदै आएको छ । २०२० सालदेखि लालपुर्जाविहीन जग्गामा बस्दै आएका उनीहरुलाई संविधानले पनि आवासबिहीनताको कल्पना गरेको छैन् । राज्यले चाहेमा नागरिकलाई आवासको सुविधासहित जमिनको समुचित वितरण गर्नुपर्ने हुन्छ । लालपुर्जा नभएकोले व्यापार व्यवसायका लागि ऋणदेखि कुनै पनि काम गर्नबाट स्थानीय बञ्चित भइरहेका छन् ।
चुनावको मुखमा नेताहरुले अनेक बाँचा गर्ने गरेपनि व्यवहारमा कसैले पनि समस्या समाधान गर्न ध्यान नदिदा मतदाता आक्रोशित मात्रै बनेका छैनन्, नो भोटको अभियान नै चलाउन बाध्य बनेका छन् । संविधानले नै आवासको सुविधाबाट नागरिकलाई बञ्चित गर्न पाइदैन भनेपनि लालपुर्जाबिहीन बनेका नागरिकलाई कसले जग्गाको स्वामित्व दिलाउन सघाउला ? यो चुनावको सम्मुखमा प्रमुख विषय बनेको छ ।
