News 24 Television
झापा ५ : ओली भर्सेस् बालेन, हाइप्रोफाइल भिडन्त

झापा । आशन्न निर्वाचनकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र हो झापा ५, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा छन् । ओलीसँग प्रतिष्पर्धा गर्न काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर झापा ५ पुगेका बालेनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहँदा ओली समेत शुक्रवार झापा पुगेका छन् । 

उनले बालेनप्रति संकेत गर्दै आफुसँग भिड्न आउनेलाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै झापा–५ को चुनावी प्रतिस्पर्धालाई खुला चुनौतीका रूपमा प्रस्तुत गरे । 

उनले आफू लामो राजनीतिक अनुभव, पार्टी संगठन र विकासका एजेन्डासहित चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै मतदाताले स्थायित्व, स्पष्ट दृष्टिकोण र राष्ट्रिय नेतृत्वको आवश्यकता बुझ्ने दाबी गरे ।  

झापा–५ यसपटक राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । एकातिर एमाले अध्यक्ष ओली आफ्नै निर्वाचन क्षेत्रमा पुनः उम्मेदवारी दिएर चुनावी मैदानमा छन् भने अर्कोतर्फ रास्वपाका बरिस्ठ नेता बालेन शाह पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । 

दुवै नेताको प्रत्यक्ष भिडन्तले यस क्षेत्रलाई फागुन २१ को निर्वाचनकै ‘हाइ–प्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा स्थापित गरेको छ । एमालेले झापामा संगठनात्मक संरचना सक्रिय बनाउँदै टोल स्तरसम्म चुनावी समिति गठन र घरदैलो अभियान तीव्र पारेको जनाएको छ । ओलीले कार्यकर्तालाई एकताबद्ध भएर चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ को प्रतिस्पर्धा अनुभव र वैकल्पिक राजनीतिबीचको प्रत्यक्ष प्रतिष्पर्धाका रूपमा विकसित हुँदैछ ।

यसले मतदातालाई परम्परागत शक्ति र नयाँ राजनीतिक धारबीच स्पष्ट छनोटको अवसर दिएको छ । आसन्न निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा शीर्ष नेतृत्वबीचको प्रतिस्पर्धाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत चासो बढ्न थालेको छ । 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update