काठमाडौं । आइतरबार नेपाली क्रिकेटले इतिहास रच्ने दिन । मुम्वईको वानखेडे स्टेडिममा नेपाली क्रिकेट टोली चन्द्र सूर्य अंकित झण्डा बाकेर राष्ट्रिय धुनमा साथ उभिदा अर्काे एउटा गौरवको क्षण बन्नेछ ।
तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले बलियो टेस्ट राष्ट्र इंग्ल्याण्डविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्न लागेको हो । भारत र श्रीलंको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिता मार्च ८ सम्म चल्नेछ । २० टोली सहभागि प्रतियोगितामा नेपाल सुपर आठमा पुग्ने लक्ष्यसहित अघि बढेको छ ।
मुलुकमा चुनावी सरगर्मी बढेका बेली नेपाली राष्ट्रिय क्रिकेट टोली नयाँ इतिहास रच्ने तयारीमा छ । विश्वप्रसिद्ध क्रिकेट प्रतियोगिता टि–२० विश्वकमा तेस्रो पटक झण्डा गाडेको नेपाली क्रिकेट टोलीले आइतबार भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दुई पटकको विश्वविजेता इंग्ल्याण्डको समाना गर्दै प्रतियोगिता सुरु गर्दैछ ।
उक्त खेल नेपाली क्रिकेटकै लागि गौरवमय बन्ने अनुमान सुरु भएका छन् । हुनपनि नेपालले इंग्ल्याण्डलाई हराउन सके इतिहासको पानामा नेपालको नाम लेखिनेछ । तर इंग्ल्याण्लाई पराजित गर्न त्यति सजिलो भने छैन् । उ विश्व क्रिकेटको पावरहाउस राष्ट्र अर्थात् उपाधी दावेदार टोली हो । ह्यारी ब्रोकको कप्तानी रहेको यो टोली विश्वप्रसिद्ध खेलाडीले भरिएको छ ।
नेपालले खेल्ने खेलहरु
शनिबारबाट सुरु भएको दशौँ संस्करणको टि–२० विश्वकपमा २० राष्ट्रले उपाधीका लागि प्रतिष्पर्धा गर्दैछन् । नेपाल समुह सी मा परेको छ । नेपालले पहिलो खेल आइतबार इंग्ल्याण्डसंग खेल्दै प्रतियोगिता सुरु गर्दा सबै खेल वानखेडेमा हुनेछन् ।
समुह चरणमा नेपालले चार खेल खेल्दा,
–पहिलो इंग्ल्याण्डसंग माघ २५ गते दिउसो ३ बजेर १५ मिनेटमा खेल्नेछ
–दोस्रो खेल इटालीसंग माघ २९ गते दिउसो ३ बजेर १५ मिनेटमा खेल्नेछ
–तेस्रो खेल वेस्टइन्डिजसंग फागुन ३ गते विहान ११ बजेर १५ मिनेटमा खेल्नेछ
–चौथो तथा अन्तम खेल स्कटल्याण्डसंग फागनु ५ गते ७ बजेर १५ मिनेटमा खेल्नेछ
इंग्ल्याण्ड नेपालको अग्नि परिक्षा
आइतबार दिउसो ३ बजेर १५ मिनेटमा सुरु हुने खेल नेपाल र इंग्ल्याण्ड दुबैका लागि महत्पूर्ण रहनेछ । किनकी प्रतियोगिताको पहिलो खेलको जितले टोलीको मनोवल बढाउन मद्दत पुग्छ । जोफ्रा आर्चरको तीब्र गति र आदिल रसिदको गुग्लीले नेपाली ब्याट्सम्यानलाई चक्मा दिनेछन् ।
ह्यारी ब्रोक, जोस बट्लर, फिल साल्ट र वेन डुकेटको व्याटिङ रोक्न नेपाली बलर चनाखो हुनुपर्नेछ । उसोतः बलियो टोलीले इंग्ल्याण्डलाई पराजित गरेर इतिहास रच्ने मौका नेपालसामू छ । आईसीसी टि–२० को विश्व रेङकिङमा इंग्ल्याण्ड तेस्रो स्थानमा रहँदा नेपाल १६ औ स्थानमा छ । यसअघि यी दुई टोली विच कुनै पनि औपचारिक अन्तराष्ट्रिय खेल भएको छैन् ।
सुपर आठ पुग्ने नेपालको लक्ष्य
२० टोली सहभागि प्रतियोगितामा नेपालको लक्ष्य सुपर आठमा पुग्नु हो । अघिल्लो दुई विश्वकपमा समुहचरणबाटै बाहिरिएको नेपाललाई यसपटक नयाँ इतिहास कोर्ने मौका छ । तर त्यति सजिलो भने छैन् । बलिया टेस्ट राष्ट्र इंग्ल्याण्ड र वेस्ट इन्डिज त्यसका बाधक बन्नेछन् ।
अर्काे एशोसिएट टोली स्कटल्याण्ड र नव प्रवेशी इटालीले पनि उत्तिकै चुनौती दिनेछन् । नेपालले सुपर सिक्समा पुग्न कम्तिमा तीन खेल जित्नैपर्ने हुन्छ । लयमा रहेको नेपाली टोली सुपर आठमा पुग्ने विश्वास नेपाली समर्थको छ ।
लयमा नेपाली टोली
विश्वकपमा इतिहास रच्न हिँडेको नेपाली टोली लयमा देखिन्छ । प्रतियोगिता अघिका दुई वार्मअप खेलमा जित निकालेको थियो । त्यो पनि सानदार ढंगले संयुक्त अरव इमिरेट्स (युएई)लाई ७ विकेट र क्यानडालाई ६ विकेटले पराजित गरेको नतिजाले खेलाडी आत्मविश्वासी देखिएका छन् ।
मुख्यप्रशिक्षक स्टुआर्ट र रोहितको अग्नि परिक्षा
नेपाली टोलीका मुख्यप्रशिक्षक स्टुआर्ट ल र कप्तान रोहितका लागि यो विश्वकप अग्नि परिक्षा हो । मुख्यप्रशिक्षक ल को राणनीति र रोहितको कप्तानीले नै नेपाली टोलीको नतिजामा निर्भर हुनेछ । साथमा उपकप्तान तथा अलराउन्डर दिपेन्द्रसिंह ऐरीको भुमिका पनि अहम् रहन्छ । ब्याटिङ, बलिङ र फिल्डिङका माध्यमबाट खेल जिताउन सक्ने खुवी उनले राख्छन् ।
सन्दीप, रोहित र दिपेन्द्र प्रमुख हतियार
विश्वकपमा सहभागी १५ सदस्यीय खेलाडीको भुमिका उत्तिकै रहन्छ । तर विशेषगरी नेपाली टोलीले जित निकाल्न स्टार सन्दीप लामिछाने, कप्तान रोहित र उपकप्तान दिपेन्द्र नै प्रमुख हतियार हुन् ।
सन्दीपको गुगली, रोहितको कप्तानी र दिपेन्द्रको ंिसंह अवतार नै नेपाली समर्थकको आशा हुने गर्छ । विश्वभरीका फ्रेन्जाइज लिगको अनुभव बटुलेका सन्दीपले रोहितसंग मिलेर काम गर्नुपर्ने हुन्छ । साथमा टोलीका अनुभवी खेलाडी मध्येका एक दिपेन्द्रबाट नेपाली समर्थकले ब्याटिङ, बलिङ र फिल्डिङमा दमदार प्रस्तुतिको अपेक्षा गरिरहेका छन् ।
तीन पटक विश्वकप
नेपालको तेस्रो पटक टि–२० विश्वकप खेल्न लागेको हो । पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । उतीबेला हाल क्यानका सचिव पारस खड्का नेपाली टोलीको कप्तान थिए । १० बर्ष पछि नेपालले सन् २०२४ मा विश्वकप पुनः कमब्याक गर्न सफल भयो ।
अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको उक्त प्रतियोगितामा नेपालले समुह चरण गर गर्न सकेन् । त्यससगै नेपालले सन् २०२६ को विश्वपक खेल्न लागेको हो । यसले नेपाली क्रिकेटको सम्भावना बारे थप आशाको सञ्चार गरेको छ ।
तीन पटक विश्कप खेल्ने सोमपाल एक्ला खेलाडी
राष्ट्रिय टोलीका भरपर्दा पेस बलर सोमपाल कामीका लागि विश्वकप निकै विशेष छ । किनभने सोमपाल तेस्रो पटक विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन् । टि–२० अन्तर्राष्ट्रियमा ८६ खेलमा ८१ विकेट लिएका सोमपालले मुम्बईमा सर्वाधिक धेरै पटक विश्वकप खेल्ने रेकर्ड पनि कायम गर्नेछन् ।
यसले उनलाई नेपाली क्रिकेटमा थप स्थापित गराउनेछ । पारस खड्काको कप्तानीमा हुर्किएका सोमपाल यतिबेला नेपाली टोली बलिङ हतियार हुन् । सोमपालले सन् २०१४ मार्च १६ का दिन हङकङसंगको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गर्दै २ विकेट लिन सफल भएका थिए । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन् ।
