काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाई थियो ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र फाइदा लिनका लागि मात्रै नभएको भन्ने कुरालाई सरकारले बुझाउनुपर्ने आवश्यता पनि औँल्याए । उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य लगायतका हरेक कुरा सम्भव नभएकाले पनि सरकारले यसको महत्वबारे सर्वसाधारणलाई बुझाउनुपर्ने बताए । निजी क्षेत्रले रोजगारी सृजना, आयआर्जनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने भएकोकाले यसलाई यसै रुपमा बुझेर अघि बढ्दा मात्रै सबैको हित हुने उनले स्पष्ट पारे ।
अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्र उनीहरुले गर्ने व्यवसायबाट फाइदा लिनका लागि मात्रै होइन । निजी क्षेत्र रोजगारी सृजना गर्नका लागि हो । निजी क्षेत्र रेभिन्यु बढाउनका लागि हो । निजी क्षेत्र आम पब्लिकलाई डेलिभरी दिनका लागि हो । निजी क्षेत्र यदि नहुँदो हो त कुनैपनि चाहे शिक्षा, स्वास्थ्यको कुरा गरौ, चाहे पूर्वाधारको कुरा गरौ । निजी क्षेत्र बिना सम्भव छैन । त्यसैले मैले के भन्न चाहेँ भने वास्तवमा यो २३, २४ को आन्दोलनबाट हामीले जुन पाठ सिक्यौँ । निजी क्षेत्र भनेको केवल फाईदाको लागि होइन । निजी क्षेत्र भनेको उसको व्यक्तिगत आम्दानीको लागि मात्रै होइन । निजी क्षेत्र भनेको समग्रतामा रोजगारी सृजना गर्ने हो । निजी क्षेत्र भनेको रोजगारीको क्रियटर हो । निजी क्षेत्र भनेको रभिन्यू दिने क्षेत्र हो भन्ने म्यासेज दिन सक्नु पर्दछ । निजी क्षेत्रमाथि जुन टार्गेट छ । अव आईन्दा त्यस्तो घटना हुन नदिनका लागि सरकारको तर्फबाट आम पब्लिकमा एउटा कमिटमेन्ट निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना (विएचपिपी) हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि दिएका छौ । आगामी दिनमा यस्तो किसिमको घटना हुन नदिन पनि सरकारको तर्फबाट सो रणनीतिलाई तत्काल कार्यान्वयन गर्न आवश्यक छ ।’
ढकालले जेन–जी आन्दोलनमा जस्तो दुखद घटना फेरि मुलुकमा हुन नदिन पनि सरकारले सचेत भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
