कास्की । निर्वाचनको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्दै गएको छ । विगत केही समयदेखि तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि देखिएको छ भने ग्यासको अभाव अझै हटेको छैन । खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि देखिएको छ भने चामलको समेत भाउ बढेको छ । यसले उपभोक्ताको भन्सासम्मै असर पर्ने देखिएको छ ।
बजारमा पछिल्ला दिनमा दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको छ । निर्वाचनको मुखमा खानेतेल, चामल, दालमा लगायतका दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको छ । निर्वाचनको मुखमा बजारमा कालोबजारी भइरहेको भन्दै राष्ट्रियसभाको बैठकमा समेत सांसदहरुले कुरा उठाएका थिए ।
केही दिनयता दैनिक उपभोग्य वस्तुहरुमा मुख्यवृद्धि भएको व्यवसायीहरू पनि स्वीकार गरेका छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताए । त्यस्ता वस्तुहरु एमआरपी नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको उनको भनाई छ ।
बजारमा ब्यापारीले दाल, चामलजस्ता वस्तुको मुल्य वृद्धि गरिरहँदा सरकारी संस्थाले भने भाउ बढाउन नपरेको बताएको छ । बजारमा कालोबजार, विचौलिया बढ्दा सुपथ मूल्यमा नुन, ग्याससहित खाद्यवस्तु उपलव्ध गराउने जिम्मेवारी पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले अझै आफूहरुले विक्री गर्ने समानमा मूल्यवृद्धि नगरेको प्रष्ट पारेको छ । साल्ट टे«डिङसँग भएको दैनिक उपभोग्य वस्तु नुन, दाल, चामलहरुमा मूल्यवृद्धि नगरिएको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेशकुमार झा बताउँछन् ।
वाणिज्यले अनुगमन बढायो
बजारमा दैनिक उपभोग्य वस्तुसहित निजी कम्पनीहरुले ग्यास अभाव गरेपछि सरकारले अनुगमन बढाएको अधिकारीहरुले बताएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीले दाल, चामल, तेलमा मूल्यवृद्धि गरेको गुनासोपछि अनुगमन बढाइएको जानकारी दिए । कालोबजारी गर्ने, आपूर्ति श्रृंखलामा असर गर्नेहरुमाथि विभागले अनुगमन बढाएको उनको भनाई छ ।
दशैं तिहार लगायतका चाडबाडकाबेलामा मात्रै वाणिज्य विभागले बजार अनुगमन गर्ने गरेको छ । त्यसैको फाइदा उठाउँदै ब्यापारीहरुले जुनसुकै समयमा पनि बजारमा कालोबजारी गर्ने गरेका छन् । त्यसैले चाडबाडका बेलामा मात्र नभई बजार अनुगमनको कामलाई निरन्तरता दिन जरुरी छ ।
