डडेल्धुरा । राष्ट्रिय राजनितिमा सधै चर्चाको शिखरमा रहने डडेल्धुरा जिल्लाको निर्वाचनको माहोल यस पटक भने सेलाएको छ । जिल्लाकै पर्याय बनेका निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी मैदानमा नहुँदा यसपटक डडेल्धुराको निर्वाचन सामान्य रुपमा अगाडि बढिरहेको छ ।
२०४८ साल यताका ७ वटा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुरा केन्द्र भागमा हुन्थ्यो । यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने डडेल्धुराको माहोल तातेको छैन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार नहुँदा यहाँको चुनावी माहोलले रौनकता दिन सकेको छैन । यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त रहदा मतदाता भने चुनावी परिणाम फेरिने संकेत गरिरहेका छन् ।
२०४८ सालदेखि लगातार शेरबहादुर देउवा विजयी हुँदै आएको यो क्षेत्र लामो समयसम्म नेपाली कांग्रेसको सुरक्षित गढका रूपमा चिनिन्थ्यो । तर यसपटक भने कांग्रेसलाई आफ्नो राजनीतिक विरासत जोगाउन सहज नहुने स्थायीय बताउँछन् ।
कांग्रेसका उम्मेदवारलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टीले कडा चुनौती दिने भएका छन् । दुवै दलले आक्रामक चुनावी प्रचार अभियान सञ्चालन गर्दै परिवर्तन र विकासका मुद्दा अघि सारेका छन् ।
यता कांग्रेसभित्रै उम्मेदवार चयनको विषयमा असन्तुष्टि देखिएको छ । शेरबहादुर देउवा स्वयं नै उम्मेदवारका विषयमा खुला रूपमा सकारात्मक नदेखिनु र अन्य दलका उम्मेदवारहरूले सक्रिय तथा आक्रामक प्रचार थाल्नु कांग्रेसका लागि थप चुनौती बनेको स्थानीयको भनाइ छ ।
स्थानीय तहमा विकास निर्माणका विषय पनि चुनावी बहसको केन्द्रमा छ । देउवा राष्ट्रिय राजनीतिमा लामो समय सक्रिय रहेपनि जिल्लाको पूर्वाधार विकासमा अपेक्षित ध्यान नदिएको स्थानीयबाटै आरोप लाग्दै आएको छ ।
देउवाको आफ्नै गाउँ जाने सडक समेत हालमात्रै निर्माणको क्रममा रहेको छ । यसरी लामो समयदेखि एउटै नेतृत्वको प्रभावमा रहेको डडेल्धुरामा यस पटकको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ ।
कांग्रेसले आफ्नो विरासत जोगाउने कि नयाँ राजनीतिक शक्तिले परिणाम उल्ट्याउने भन्ने चासो बढ्दो छ । चुनावी नतिजाले डडेल्धुराको मात्रै होइन, राष्ट्रिय राजनीतिक सन्देश समेत दिने अपेक्षा गरिएको छ ।
