काठमाडौं । तेस्रो पटक टी–२० विश्वकप खेलिरहेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा जारी विश्वकपमा नेपाल आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले स्तब्ध हुँदा विश्वकपबाट विहिरिएको हो ।
नेपालले अब मंगलबार स्टकटल्याण्डसँग प्रतिष्ठाको अन्तिम खेल खेलेर स्वदेश फर्किने छ । सुपर ८ पुग्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोली रित्तो हात घर फर्किदा समर्थक निरास हुनेछन् ।
भारत र श्रीलंकामा जारी टि–२० विश्वकप प्रतियोगिता खेलिरहेको नेपाली टोलीको लक्ष्य हो, कम्तिमा सुपर–८ मा पुग्ने । तर नतिजामा भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरियो ।
समुह सी मा रहेको नेपालले आइतबार तेस्रो खेलमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसंग ९ विकेटको लजास्पद हार ब्यहोर्दा खेलाडी माथि प्रश्नचिन्ह खडा भएको छ र भन्नुपर्छ के हामी गल्ली क्रिकेट खेल्दैछाँै ?
उसो त पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनको झिँनो हारले नेपालको विश्वभरी चर्चा नभएको होइन । उक्त रोमाञ्चक हार बाहेक प्रतियोगितामा नेपालले सम्झिन लायक प्रदर्शन गर्न सकेको छैन ।
दोस्रो खेलमा त नवप्रवेशी इटालीसँग नेपालले १० विकेटको लज्जास्पद हार ब्यहोर्यो । यो नतिजाले नेपालको विश्वकप खेल्ने लेवल पुगेको स्पष्ट गरेको छ ।
कमजोर तयारी
नेपालले तेस्रो पटक विश्वकप खेल्नुपूर्व क्रिकेट जानकारहरुले बलिया तथा टेस्ट राष्ट्रसँग तयारी खेल खेल्नुपर्ने सुझाव दिएका थिए । तर नेपाली टोली श्रीलंका ए र मुम्बईको एमसीए प्रेसिडेन्ट–११ जस्ता टोलीसँग तयारी गरेको थियो ।
विश्वकप वार्मअप खेलमा पनि नेपालले एसोसिएट टोली युएई र क्यानडासँग खेलेको थियो । जहाँ नेपालले ठुला टोलीसँग सिरिज खेल्नसक्नु पर्दथ्यो ।
अलराउन्डरको दबदबा
नेपाली टोली अलराउन्डर खेलाडीले भरिएको छ । परपर व्याट्सम्यानको कमी देखिन्छ । आसिफ शेख, ललित राजवंशी र सन्दीप लामिछाने बाहेक अन्य खेलाडीबाट नेपालले व्याटिङ र बलिङ दुवैको अपेक्षा गरेको थियो ।
जुन रणनीति सफल हुनु सकेन । यसो हुँदा न बलरले बलिङमा जादु देखाउन सके न व्याटरले ब्याटिङ । नेपाली टोलीले आगामी दिनमा बलर र ब्याटर दुबैलाई आफ्नै भुमिकामा उत्कृष्ट बनाउनतर्फ ध्यान दिनुपर्छ । यो पनि नेपाली टोलीको हारको मुख्य कारण हो ।
कमजोर ओपनिङ, ब्याटिङ र बलिङ
नेपाली टोलीमा पछिल्ला बर्षहरुमा ओपनिङ जोडीको जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले सम्हालिरहेका छन् ।
जुन जोडी पछिल्लो समय सुपरफ्लप सावित भइरहेको छ । यस विश्वकपका तीनै खेलमा ओपनिङमा उत्रिएका भुर्तेल र आसिफ सफल देखिएनन् । भुर्तेलले ३५ रन बनाउँदा शेखले ३८ रन बनाए ।
तीनवटै खेलमा ५० रनको साझेदारी गर्न नसक्नु दुखद कुरा हो । ओपनर नचल्दा तेस्रो र चौथो नम्बरको ब्याट्सम्यानले जिम्मेजारी लिनुपर्छ तर कप्तान रोहितकुमार पौडेलले पनि साहस देखाउन सकेनन् ।
बलिङमा स्टार नाम सन्दीप लामिछाने र करण केसी विर्सिनलायक प्रदर्शन गरे । यो पनि हारको अर्काे प्रमुख कारण हो ।
नाम स्टार, खेल फ्लप
नेपाली टोलीमा ‘बलिङ किङ’ भनेर चर्चा गरिने सन्दीप लामिछानेले जादु देखाउन सकिरहेका छैनन् । तीन खेलमा इंग्ल्याण्डसँगको खेलमा एक विकेट लिनु बाहेक सन्दीपले उत्साह भर्न सकेनन् ।
यो पनि हारको अर्काे कारण हो । अर्काेतर्फ भ्यालेन्टानडे ब्वाईका रुपमा परिचित करण केसी त विश्वकपमा विकेट विहिन छन् । लगातार तीन खेलमै मौका पाएका उनले न विकेट लिन सके न रन बनाउन नै । अलराउन्डर गुल्शन झाको कथा पनि उस्तै छ । उनको प्रदर्शन विर्सनलायक नै छ ।
मुख्यप्रशिक्षक स्टुअर्ट र कप्तान रोहितको कमजोर रणनीति
मुम्बईको वांङखेडी स्टेडीयममा नेपाली टोली पुर्ण रुपमा धरासायी बन्नुको प्रमुख दोष मुख्य प्रशिक्षक स्टुआर्ट ल र कप्तान रोहितलाई जान्छ । किनकी तीनवटै खेलमा खेलाडी प्रयोग हेर्ने हो भने दुख लाग्दो देखिन्छ ।
ओपनर कुशल भुर्तेललाई बलिङमा तान्दा गुल्शन झा हात बाँधेर बस्नु प¥यो । साथै, परपर बलरलाई पुर्ण रुपमा बलिङ गर्न दिइएन । ब्याटिङ अर्डरमा पनि कमजोर रणनीति अपनाइएको देखिन्छ ।
अझ भन्दा फ्रेन्जाइज क्रिकेट प्रतियोगिता भन्दा कमजोर रणनीति नेपाली प्रशिक्षक र कप्तानको देखिएको हो । जुन हारको अर्को कारण मान्न सकिन्छ ।
जित्न भुलेको नेपाल
सन् २०१४, २०२४ र २०२६ गरी तीन पटक टि–२० विश्वकप खेलेको नेपाली टोलीले समुहचरण पार गर्न सकेको छैन । सन् २०१४ मा अफगानिस्तान विरुद्ध ९ रनको दुर्लभ जित निकाल्नु बाहेक कुनैपनि जित निकाल्न सकेको छैन । यो निकै विडम्बनाको कुरा हो ।
विश्वकपमा जित्न भुलेको नेपाललाई समुहचरणको अन्तिम खेलमा स्कटल्याण्डलाई हराएर हारमा ब्रेक लगाउने अवसर भने अझै पनि छ ।
दीपेन्द्र र सोमपालको नयाँ रेकर्ड
नेपाली टोलीका दुई अलराउन्डर दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नयाँ रेकर्ड कायम गरेका छन् । सोमपालले नेपालको तर्फबाट सर्वाधिक तीन पटक विश्वकप खेलेर नयाँ रेकर्ड बनाएका छन् ।
सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा हङकङविरूद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका सोमपालले आइतबार वेस्ट इन्डिजसँग खेल्दै नयाँ इतिहास कायम गरे ।
उपकप्तान दिपेन्द्रले भने नेपालको तर्फबाट विश्वकपमा एकै खेलमा सर्वाधिक रन प्रहार गर्ने रेकर्ड बनाए । वेस्टइन्डिज विरुद्ध वानमेन आर्मी बनेको उनले ४७ बलमा ५८ रन बनाउँदै आउट भए ।
यसअघि टी–२० विश्वकपमा अर्धशतकको रेकर्ड सुवास खकुरेलेको नाममा थियो । सुवासले सन् २०१४ मा अफगानस्तान विरुद्ध ५३ बलमा ५६ रन प्रहार गरेका थिए ।
समुह सी मा रहेको नेपाल विश्वकपको अन्तिम खेलमा स्कटल्याण्डसंग फागुन ५ अर्थात् मंगलबार साँझ ७ बजेर १५ मिनेटमा वाङखेडे स्टेडियममा खेल्दै घर फर्किनेछ ।
नेपाल विश्वकप सुखद अन्त्य गर्ने रणनीतिमा मैदानमा उत्रिदा स्कटल्याण्ट पहाड झै उभिने पक्का छ । यस समुहबाट सुरुवाती तीन खेल जितेर शिर्ष स्थानमा रहँदै वेस्ट इन्डिज सुपर–८ मा पुगिसकेको छ ।
