News 24 Television
मनी म्युल बनेकालाई पनि प्रहरीले गर्छ कारबाही

काठमाडौं । सजिलोसँग पैसा कमाउने लोभ, अनलाइनमा सस्तो अफर र अपरिचित व्यक्तिको विश्वास गर्दा धेरै व्यक्तिहरु अपराधको जालोमा फस्ने गरेको पाइएको छ । वित्तीय अपराध गर्ने व्यक्तिले थाहा नहुनेगरी तपाइको बैंक खाता प्रयोग गरी अपराधमा संलग्न गराउन सक्छन् । यसलाई मनी म्युल भन्ने गरिन्छ । यसरी वित्तीय अपराधमा साझेदार बनाइएको खण्डमा पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्छ ।

के तपाईंले आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरुलाई प्रयोग गर्न दिनुभएको छ ? यदि छ भने तपाई मनी म्युल बन्नुभएको हुन सक्छ । तपाईको खाता प्रयोग गरी कसैले थाहै नदिई अपराधमा संलग्न गरायो भने त्यो अवस्थामा तपाई मनी म्युल बन्नु हुन्छ । अर्थात मनी म्युल भन्नाले गैरकानुनी रुपमा आर्जित रकम एक स्थानबाट अर्को स्थानमा सार्न, बैंक खातामार्फत घुमाउन वा नगद झिकेर बुझाउन प्रयोग गरिने व्यक्ति वा माध्यमलाई बुझिन्छ । 

वित्तीय अपराधमा संलग्न व्यक्तिहरुले अनलाइन रोजगारी, विदेशबाट आएको कामको प्रस्ताव, समाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापन वा सजिलो कमाइको प्रलोभनमा पारेर तपाईको बैंक खाता प्रयोग गर्न सक्छन् । 

त्यसपछि उनीहरुले तपाईंको खातामा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने गर्दछन् । त्यस्ता व्यक्तिले यो तरिकाबाट तपाईलाई पनि अपराधको साझेदार बनाउन सक्छन् । 

अनलाइन ठगी, साइबर अपराध, अवैध वैदेशिक रोजगारी, क्रिप्टो करेन्सी कारोबार तथा अन्तर्राष्ट्रिय अपराध समूहसँग जोडिएका घटनामा मनी म्युलको प्रयोग बढ्दै गएको प्रहरीको भनाई छ । खासगरी यस्तो कार्यका लागि ठगहरुको निशानामा विद्यार्थी, बेरोजगार युवा, गृहिणी र आर्थिक रुपमा कमजोर वर्ग पर्ने गरेका छन् । ठगहरुले उनीहरुको खातामा कतैबाट पैसा पठाउने र झुक्किएर आएको भन्दै अर्को खातामा पठाउन वा नगद बुझाउन आग्रह गर्ने गर्छन् । 

अब प्रहरीले यस्तो गतिविधिमा संलग्न भएका जुनसुकै व्यक्ति, मनी म्युलमा परेको भएपनि पक्राउ गरेरै अनुसन्धान गर्ने स्पष्ट पारेको छ । त्यसैले मनी म्युल बन्नबाट जोगिन आफ्नो बैंक खाता वा वालेटको जानकारी कसैलाई दिनु हुँदैन । 

यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध पनि हो । त्यसैले खाफ्नो खातामा कसैको पैसा आएमा सम्बन्धित बैंक र वा प्रहरीलाई तुरुन्त जानकारी गराई अपराध कार्यमा संलग्न हुनबाट जोगिन सकिन्छ । 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update