News 24 Television
बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गरेका छन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीवार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् । उनले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउन पनि बीमा प्राधिकरणसँग आग्रह गरे ।

नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण र धितोपत्र बोर्ड परम्परागत नीतिमै सञ्चालन भइरहेको उनकाे भनाइ छ । पुराना नीतिकै कारण बैंक तथा वित्तीय क्षेत्रले आफ्नो व्यवसाय अपेक्षित रूपमा विस्तार गर्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि पुराना नीतिका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताए । उनका अनुसार बीमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ । व्यवसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए । कुनै एक व्यक्तिको गलत कार्यलाई आधार बनाएर सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उनको तर्क छ । 

अध्यक्ष ढकालले आर्थिक गतिविधिको विस्तारले रोजगारी सिर्जना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले आर्थिक गतिविधिलाई चलायमान बनाउनको लागि कानून तथा नीतिमा सुधार गर्न आवश्यक रहेको दोहोर्याए । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बिहीवार आफ्नै नवनिर्मित भवनको उद्घाटन गरी सेवा सुभारम्भ गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update