News 24 Television
१८ वर्षदेखिको एमाले गढमा कसले मार्दैछ बाजी

कास्की । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला उमेद्वारहरु घर दैलोमा ब्यस्त छन् । देशैभरका उम्मेदवारहरु चुनावी अभियानमा ब्यस्त रहँदा कास्की २ को माहोल पनि गर्माएको छ । यो क्षेत्र २०६४ देखि एमालेले निरन्तर विजयी हुँदै आएको क्षेत्र हो । जहाँ अहिले आफ्नो बिरासत जोगाउन एमाले लागिरहँदा अन्य दलहरु एमालेको गढ भत्काउने प्रयासमा छन् । 

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । कास्की क्षेत्र नम्बर २ मा ५ जना स्वतन्त्र सहित १७ जनाले उमेद्वारी दिएका छन् ।

यो क्षेत्रमा २०६४ सालको संविधान सभाको निर्वाचन देखी एमालेले विजयी हुँदै आएको छ । यो पटक भरतपोखरीका रश्मि आचार्यले एमालेबाट टिकट पाएका छन् । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर काम गरिसकेका रश्मि युवा पुस्तामा लोकप्रिय छन् । उनी एमालेले विगतदेखि प्राप्त गर्दै आएको विरासत जोगाउने जिम्मेवारीका साथ चुनावी मैदानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टीले युवा उम्मेदवारलाई मैदानमा उतारेको छ । तत्कालीन अवस्थामा माओवादी विभाजन हुँदा बाबुराम भट्टराईको नयाँ शक्तीमा लागेका हेमराज थापा ‘किरण’ अहिले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् । तत्कालिन माओवादी सशस्त्र युद्धकाबेला लडाकु कमाण्डर रहेका थापा सामाजिक तथा राजनीतिकमा सक्रिय छन् । 

नेपाली कांग्रेसबाट नेता माधवप्रसाद बास्तोला (मधु) उम्मेदवार  छन् । उनी पोखरा–११, फूलबारीका हुन्, जसका कारण माथिल्लो क्षेत्रको भोट सुरक्षित गर्न उनलाई चुनौती छ । माधव कांग्रेसको संगठनमा सक्रिय नेता हुन् । पूर्ववडाध्यक्ष समेत भएर काम गरेका उनी २०६७ मा कांग्रेसको महाधिवेशन सकेर फर्किंदा दुर्घटनामा परे । अरु ४ सहयात्रीलाई दुर्घटनामा गुमाएका उनी भाग्यले बाँचेर फर्किएका थिए । युवाहरुको भावनालाई बुझेर काम गर्न आफु उम्मेदवार बनेको बताउँछन् । 

यस क्षेत्रमा सञ्चार क्षेत्रबाट रवि लामिछानेसँगै राजनीतिमा होमिएका उत्तम पौडेल कास्की २ का लागि अर्को प्रतिस्पर्धी हुन् । उनी टिकट पाउने वित्तीकै दल भित्रको विवादमा परेका थिए । रास्वपा पोखरा महानगरका १० वडा सभापतिले टिकट वितरणमा मनोमानी गरेको भन्दै विज्ञप्ति नै निकालेर नेतृत्वको विरोध गरेकाले पहिला पार्टीलाई एकतावद्द गर्नुपर्ने चुनौती पौडेललाई छ । पत्रकारिताको अनुभव बटुलेका उनी जनताका एजेन्डा नै आफ्ना एजेन्डा भएको बताउँछन् ।  

कास्की २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेमजंग गुरुङ चुनावी प्रतिष्पर्धामा छन् । उनी राप्रपाको केन्द्रीय उपाध्यक्षसमेत हुन् । यस्तै, विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल, मंगोल नेशनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ उमेद्वार छन् । यसैगरी, स्वतन्त्रतर्फ ५ जनाले उम्मेदवारी दिएका छन् । 

कास्कीमा २ मा गत निर्वाचनमा एमालेकी विद्या भट्टराईले चुनाव जितेकी थिइन् । भट्टराई १६ हजार ९ सय ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा समाजवादीका श्रीनाथ बराल ९ हजार ६ सय ५९ प्राप्त गरेका थिए । कास्की क्षेत्र नम्बर २ मा ८४ हजार १ सय ३४ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update