रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक चुनावमा ठाउँ फेर्ने नेताका रुपमा चिनिन्छन् । आफ्नो स्थायी निर्वाचन क्षेत्र नबनाएका प्रचण्डले यसपटक सुरक्षित ठाउँको खोजीमा पूर्वी रुकुम पुगेको भनी आलोचना पनि भएको छन् । यद्यपी प्रचण्डलाई तत्कालिन माओवादी सशस्त्र युद्धमा परिवार गुमाएका शहीद परिवारले चुनावी खर्च समेत जुटाइदिएका छन् । जसले प्रचण्डलाई भावुक बनाएको छ ।
तत्कालिन माओवादी जनयुद्धको क्रममा रुकुम पूर्वले ठूलो क्षति ब्यहोरेको छ । युद्धको क्रममा सैंयो परिवार विछिप्त भएको छ । कैयौंको सिन्दुर पुछिएको छ भने कैयौं टुहुरा भएका छन् । रोल्पा, रुकुमलाई माओवादी युद्धको उद्गम थलोका रुपमा हेरिन्छ । तर त्यही ठाउँका नेताहरु सत्तामा पुगेर पनि अपेक्षित काम नगरेको गुनासो उत्तिकै छ ।
पहिलो संविधानसभाको चुनावमा प्रचण्ड रोल्पाबाट उठेका थिए । दुई ठाउँबाट जितेपछि उनले रोल्पालाई छाडिदिए । त्यसपछिका समयमा उनी युद्धको उद्गम थलोमा फर्किएनन् । यसपाली भने प्रचण्डले पूर्वी रुकुमलाई रोजे ।
अन्य क्षेत्र भन्दा सबै भन्दा सुरक्षित ठाउँ भएर नै उनले यसपाली पूर्वी रुकुम रोजेको भनी आलोचना पनि भइरहेका छन् । विभिन्न आलोचनाका बाबजुद पनि आफूले उम्मेदवारी दिएको रुकुम पूर्वमा घरदैलो गरिरहेका प्रचण्डलाई सहिद परिवारहरुले चुनावी खर्च नै उपलब्ध गराएका छन् । चुनावी अभियानकै क्रममा युद्धमा ज्यान गुमाएका २ सय ५२ जनाको परिवारलाई सम्मान गर्ने कार्यक्रममा प्रचण्डलाई नै चुनावी खर्च उपलब्ध गराइएपछि भावुक देखिए ।
सिस्ने गाउँपालिकाको वडा नम्बर ८ धपेमा सहीद परिवारले प्रचण्डलाई चुनावी खर्च भन्दै १ लाख ५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सहीद परिवारका समस्या अहिले पनि उस्तै छन् । दैनिकी समयक्रमसँगै फेरिएपनि देशलाई माओवादी युद्धको क्रममा गरिएको कल्पना अनुसार परिवर्तन हुन सकेको छैन । तर, पनि आशा अझै पनि जीवितै रहेको शहिद परिवारको भनाई छ ।
प्रचण्डको नेतृत्वमा चलेको सशस्त्र संघर्ष र त्यहा जनयुद्धमा सन्तान गुमेको पीडालाई शक्तिमा बदल्ने बेला आएको ठान्ने शहीद परिवारको सहयोग पार्टीको लागि ढाडस बनेको छ । जसलाई नेकपा नेताहरुका साथै प्रचण्डले आफ्नो लागि ऊर्जा ठानेका छन् ।
प्रचण्डले माओवादी शान्ति प्रक्रियामा आएपछि उनकै अधिकांश सहकर्मीले साथ छाडेका छन् । शान्ति प्रक्रियापछि पनि लामो समय साथमै रहेका जनार्दन शर्माले पनि हालैमात्रै प्रचण्डको साथ छाडेको अवस्था छ । तर पनि तत्कालिन माओवादीको आधार इलाकामा शहीद परिवारले प्रचण्डप्रतिको झिनो आशा कायमै राखेका छन् । चुनावी विजयी यात्रापछि प्रचण्ड शहीद परिवारको भरोसा बन्लान् वा झिनो पनि आशा टुटाउनेछन्, प्रतिक्षा गर्नुपर्नेछ ।
