काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकै आइसकेपनि यसपटक चुनावी माहोल त्यति गर्माएको जस्तो देखिँदैन । विगतका निर्वाचनमा जस्तो ठूलो सभा, ¥याली र सम्मेलनहरू यसपटक निकै कम देखिन्छन् । ठूला सभाको सट्टा दलहरुले घरदैलो, डिजिटल प्रचार र साना कार्यक्रमलाई नै बढी प्राथमिकता दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) देशका मुख्य मुख्य शहरहरुमा ठूला सभाहरु गरिरहेको छ । नेपाली कांग्रेसले पनि केही हदसम्म ठूला सभाहरुलाई प्राथामिकतामा राखेको छ । तर, प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, केपी ओली नेतृत्वको नेकपा एमाले लगायतका दलहरु शुन्य प्रायः छन् ।
यसपटकको चुनावी दृश्य विगतको भन्दा फरक छ । पहिलेका चुनावमा विभिन्न शहरमा हुने विशाल सभा, नाराबाजी र नेताहरुको दौडधुप नै प्रचारको मुख्य रणनीति थियो । अझ शक्ति प्रदर्शनलाई नै दलहरुले चुनावी हतियार बनाउने गर्दथे । तर, यसपटक यी सबै गतिविधिहरु अपेक्षाकृत कम देखिएको छ ।
यतिबेला चुनावी सभालाई सबैभन्दा आक्रामक रूपमा अघि बढाएको दल हो– राष्ट्रिय स्वतन्त्र पार्टी । देशका विभिन्न शहरमा सभा गर्दै उसले मतदातामाझ आफ्नो उपस्थितिलाई बलियो रुपमा प्रस्तुत गर्न खोजिरहेको छ । शनिबार मात्रै रास्वपाले काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा घण्टी अभिवादन र्याली निकालेर शक्ति प्रदर्शन ग¥यो ।
रास्वपाले शक्ति प्रदर्शनलाई प्राथमिकता दिनुको प्रमुख कारण ‘फेस भ्यालु’ पनि हो । प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सारिएका बालेन्द्र शाह (बालेनको) लोकप्रियता र उनको उपस्थितिले चुनावी माहोल आफ्नो पक्षमा तान्न सकिने विश्वास रास्वपामा देखिन्छ ।
नयाँ भनिएका राजनीतिक दलले शक्ति प्रदर्शनलाई प्राथामिकता दिँदा पुराना राजनीतिक भने यसपटक फरक रणनीतिमा छन् । नेपाली कांग्रेसले केही शहरहरुमा चुनावी सभा गरेपनि त्यसलाई व्यापक रुपमा विस्तार गरेको छैन । कांग्रेस सभापति गगन थापा अहिलेको अवस्थामा चुनावी सभा भन्दा पनि मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गर्नु प्रभावकारी ठान्छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्यूनिस्ट पार्टीले त झन, यसपटक कुनैपनि चुनावी सभा नगर्ने भएको छ । पार्टी संयोजक प्रचण्डले चुनावअघि रोल्पाबाट अपिलसहितको सम्बोधन गर्ने तयार गरेको सचिवालयले जनाएको छ ।
अर्कोतिर एमालेको अवस्था झनै फरक देखिन्छ । अघिल्ला चुनावमा निकै आक्रामक देखिने एमाले यसपटक भने रक्षात्मक जस्तो देखिएको छ । अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र बाहिर धेरै सक्रिय हुन सक्ने अवस्थामा छैनन् । त्यसमाथि एमालेका उम्मेदवारहरू पनि अध्यक्ष ओलीलाई केन्द्रमा राखेर सभा गर्दा उल्टै माहोल बिग्रने हो कि भन्ने डरमा छन् ।
यसैले एमालेले आफ्नो चुनावी प्रचार रणनीतिमा समेत परिवर्तन गर्दै प्रचार सामग्रीमा नेतृत्वको तस्वीर प्रयोग गरेको छैन । एमालेले अहिलेसम्म झापामा बाहेक अन्य ठाउँमा चुनावी सभा गरेको छैन । र, गर्ने तयारीमा पनि छैन । अहिले दलहरूले ठूला आमसभा कम गर्नुपर्ने केही व्यवहारिक कारण पनि छन् ।
पहिलोः चुनावी सभाको खर्च धान्न गाह्रो छ ।
दोस्रोः शीर्ष नेताहरुको भाषणले पहिले जस्तो प्रभाव पार्ने माहोल छैन ।
तेस्रोः दलहरुले प्रविधिको प्रयोग गर्दै डिजिटल प्रचारलाई प्राथमिकता दिएका छन् ।
यसैले अहिलेको चुनावमा सडकको भीडभन्दा पनि मोबाइल स्क्रिन र घरदैलोको संवाद बढी प्रभावकारी बन्ने संकेत देखिएको छ । डिजिटल प्रचार, घरदैलो र नेतृत्वको ‘फेस भ्यालु’ बीचको प्रतिस्पर्धाले यसपटकको चुनावी रणनीति नै परिवर्तन हुँदै गएको संकेत दिएको छ ।
