काठमाडौं । मध्यपूर्वको युद्धले विश्वभर नै संकट सिर्जना हुने दाबी गर्न थालिएको छ । अमेरिका–इजरायलले इरानविरुद्ध गरेको संयुक्त सैन्य कारबाहीका कारण विश्वमै इन्धन आपूर्ति श्रृङ्खालामा संकट निम्तिने स्थिति सिर्जना हुन थालेको छ भने नेपालमा पनि पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खला अवरुद्ध हुने आशंका गर्न थालिएको छ ।
इरानमाथि अमेरिका–इजरायल युद्ध सुरु भएदेखि युरोपेली ग्यासको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको रिपोर्टहरु अन्तराष्ट्रिय सञ्चारमाध्यले सार्वजनिक गर्न थालेका छन् । युद्धका कारण खाडी राष्ट्रमा इरानले निरन्तर आक्रमण गरेपछि ठूला प्रशोधन केन्द्रहरु बन्द भइरहेका छन भने इन्धन आपूर्ति श्रृङ्खला नै अवरुद्धप्रायः बन्न पुगेको छ । यसको प्रभाव युरोप र भारतमा नराम्ररी पर्ने विश्लेषण हुन थालेको छ। भारतमा पर्ने प्रभावले नेपाललाई समेत गम्भीर धक्का लाग्ने स्थिति बन्नेछ । जसकारण नेपालका पेट्रोल पम्पहरुमा भीड लाग्न थालेको छ ।
स्ट्रेट अफ हर्मुज बन्दको प्रभाव
इरानले स्ट्रेट अफ हर्मुज बन्दको घोषणा गरेको छ । विश्वमै २० प्रतिशत इन्धन आपूर्ति हुने ठानिएको स्ट्रेट अफ हर्मुज बन्द हुँदा यसको प्रभाव युरोप, भारत लगायतका देशमा पर्न थालेको छ ।
उसोतः खाडी राष्ट्रहरुबाट प्राकृतिक ग्यास (एलएनजी) सप्लाईमा भारत विश्वको चौथो राष्ट्रमा पर्छ । दक्षिण एसियाली राष्ट्र अबुधाबी राष्ट्रिय तेल कम्पनीको लागि शीर्ष एलएनजी ग्राहक हो र कतारी एलएनजीको दोस्रो ठूलो खरिदकर्ता हो। यी देशबाट आपूर्ति श्रृङ्खाला नै अवरुद्ध बन्दा भारत आफै ऊर्जा संकटमा फस्नेछ यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्नेछ । नेपाल पूर्णतः भारतमै ऊर्जा क्षेत्रमा निर्भर रहेको देखिन्छ ।
रेमिट्यान्समा ठूलो गिरावटको चिन्ता
मध्यपूर्वका विभिन्न १७ मध्ये १५ देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गर्छ । यसमा पनि ४ देशबाट मात्रै नेपालमा जम्मा रेमिट्यान्सको ३५ प्रतिशत हिस्सा ओगट्ने राष्ट्र बैंकले जनाएको छ ।
इरान युद्ध लामो समय चल्ने देखिएमा झण्डै ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने राष्ट्र बैंकको प्रक्षेपणले नै नेपालको अर्थतन्त्रको स्थिति कस्तो बन्छ भन्ने संकेत दिन थालेको छ ।
नेपालमा आउने पर्यटक समेत मध्यपूर्वका विभिन्न देशलाई ट्रान्जिट बनाएर आउने हुँदा हवाई उडान नै प्रभावित बन्न पुग्दा पर्यटन उद्योग समेत ठूलो धक्कामा पर्ने भन्न थालिएको छ ।
कुन–कुन देशमा नेपाली प्रभावित ?
परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीहरु इरान युद्धको चपेटामा फसेका छन् । जसमा इजरायलसहित कतार, दुबई, बहराइन, कुवेत, इराक, ओमान, लेबनान लगायतका राष्ट्रहरु रहेका छन् । यी देशमा नेपालीहरुले श्रम, अध्ययन तथा अन्य प्रयोजनार्थ रहने गरेका छन् ।
