News 24 Television
प्रतिनिधिसभा बैठकको तयारी : पुरानो संसद खण्डहर, नयाँ भवन अझै बनेन

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने तयारी थालिएको संघीय संसद् सचिवालयले जनाएको छ । तर बानेश्वरस्थित पुरानो संसद भवन भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलाएर खण्डहर बनाइयो । सिंहदरबारभित्रै निर्माणधीन नयाँ संसद भवन अझै पूरा भएको छैन । संसद र सिंहदरबार जलाएर भएको नयाँ निर्वाचनबाट पुनः संसद बैठक त बस्ने अवस्था आयो तर कहाँ बस्ने भन्ने प्रश्न यतिखेर टड्कारो देखिएको छ । कतिपयले जलेको सिंहदरबारकै आँगनमा कुर्सी राखेर संसदको पहिलो बैठक बसाउनुपर्ने समेत बताइरहेका छन् ।

संविधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ । संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक–दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरी बताउँछन् । निर्माणाधिन नयाँ संसद भवन समयमै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए ।
प्रवक्ता गिरीका अनुसार प्रतिनिधि सभाको बैठक नयाँ निर्माणाधीन संसद भवन परिसरमै बस्ने भए पनि मुख्य सभाकक्ष निर्धारित समयमा तयार नहुने सम्भावना देखिएकाले वैकल्पिक व्यवस्था गरिएको हो । सरकारले प्रतिनिधि सभाका लागि निर्माण गरिरहेको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो । पछिल्लो प्रगति हेर्दा सो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको गिरीले बताए । शहरी विकास मन्त्रालय तथा निर्माण व्यवसायीसँग समन्वय गरी बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको उनले बताए । उक्त हलमा प्रतिनिधि सभा सदस्यहरूको सपथ ग्रहण गराउने र केही प्रारम्भिक बैठकहरू सञ्चालन गर्नेगरी व्यवस्थापन भइरहेको छ ।

हाल राष्ट्रिय सभाको बैठक पनि सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ  । यही फागुन ८ गते शहरी विकास मन्त्री प्रा.डा. कुमार इङनाम र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन संसद भवनको निरीक्षण गर्दै चैत १ गतेभित्र सबै काम सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिएका थिए । अनुगमनका क्रममा उनीहरुले कामको गतिप्रति असन्तुष्टि जनाउँदै चैत १ गतेभित्र प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि हस्तान्तरण गर्नुपर्ने निर्देशन दिएका थिए । ती हलहरुको फिनिसिङको काममा ढिलाइ भएको पाइएपछि मन्त्रीले दक्ष जनशक्ति थप्न समेत निर्देशन दिए । अध्यक्ष दाहालले पनि सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरैपटक निर्देशन दिइसकेको बताएका थिए । उनले सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्ने बताए पनि अझै ती हल तयार भएका छैनन् ।

सिंहदरबार परिसरको १५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गतेभित्रै निर्माण गरिसक्ने गरी २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो । तर २०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद भवन निर्माणको लागि पाँचौपटक थपिएको म्याद पनि सकिसकेको छ । भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन नसक्दा नयाँ संसद बैठक तत्कालका लागि कामचलाउ अन्य हलहरुमा बस्ने व्यवस्था गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update