काठमाडौँ । हालै (फागुन २१ गते) सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपाली राजनीतिमा एक किसिमको ‘पाराडाइम सिफ्ट’ ल्याएको छ । दशकौँदेखि नेपाली राजनीतिमा दबदबा कायम राखेका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले अहिले इतिहासमै नराम्ररी खुम्चिएका छन् । यी परम्परागत शक्तिहरूका लागि यो निर्वाचन ‘वेक–अप कल’ सावित भएको छ । यसो हुनुका सम्भावित कारण के हुन सक्छन् ? यसबारे पार्टीभित्रै गम्भीर बहस र समीक्षा सुरु भएको छ । कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लंघनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने र त्यसपछि केन्द्रीय कार्य सम्पादन समिति बैठकमा समीक्षा हुने जनाएको छ ।
अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको थियो । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न यसै चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी काँग्रेसले गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचनको विस्तृत वस्तुस्थितिबारे छलफल गर्न जिल्ला–जिल्लाबाट रिपोर्ट मगाउने कार्य भइरहेको छ । वि.सं. २०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस यस पटकको निर्वाचनमा दोस्रो स्थानमा खुम्चिनुपरेको छ । साथै आगामी संसदमा ऐतिहासिक रूपमै कमजोर प्रतिपक्षीको भूमिकामा पुगेको छ । विषयमा केन्द्रीय बैठकमा गम्भीर छलफल हुने बताइएको छ ।
उता, नेकपा एमालेले पनि चुनावी हारको समीक्षा तल्लो तहबाटै सुरु गरिसकेको जनाएको छ । एमालेका उपमहासचिव लेखराज भट्टले उक्त जानकारी दिँदै केन्द्रबाट कुनै औपचारिक परिपत्र वा निर्देशन जारी नभए पनि पार्टीको वडा र जिल्ला तहका कमिटीहरूले आ–आफ्नो स्तरमा स्वतःस्फूर्त समीक्षा बैठकहरू गरिरहेको बताए । त्यसको रिपोर्ट तयार पार्ने काम भइरहेको र ती रिपोर्टहर पार्टीको केन्द्रिय बैठकमा प्रवेश गराइने उनको भनाइ छ । उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यतिबेला पितृशोक परेको र यो समय गहिरो समीक्षा गर्ने उपयुक्त समय नभएकाले बैठकमा उक्त एजेन्डा थाती राखिएको छ । तर निकट भविष्यमै उक्त समीक्षा केन्द्रमा हुनेछ । पार्टीले गरेका राम्रा कामहरू र महत्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढङ्गले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको भट्टको स्वीकारोक्ति छ । गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई जनतासमक्ष सही रूपमा संप्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको भन्दै उनले पार्टीको समग्र समीक्षापछि मात्रै आधिकारिक निष्कर्ष निस्कने बताए ।
हार व्यहोर्नुका सम्भावित कारण
यो निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट समानुपातिकर्फ ५७ सिट ल्याएर पहिलो शक्ति बनेका । यो नेपाली इतिहासमा एकै पार्टी ल्याएको करिव दुईतिहाइ बहुमतको उच्चतम रेकर्ड हो । वैकल्पिक भनिएको पार्टी यसरी अचानक तिहाइतिहाइ निकट पुग्नु र लामो जनाधार, सैद्धान्तिक आधार र वडातहसम्म संगठन भएका पुराना मूलधारका पार्टी एमाले–काँग्रेस १५–१६ प्रतिशतमा खुम्चिन पुग्नुमा आन्तरिक र बाह्य कारण छन् । केवल रास्वपाको उदय, रवि र बालेनको क्रेज मात्र नभई, पुराना दलप्रतिको व्यापक असन्तुष्टि मुख्य कारण देखिएको छ । सुशासन र डेलिभरीको अप्रभावकारिता, भुटानी शरणार्थी प्रकरण, ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डले बदनाम भएका, तिनमा संलग्न काँग्रेस–एमालेका नेतालाई जोगाउने कोशिस, केवल सत्तालिप्साको खेलमा मग्न हुनु, राजनीतिक प्रतिशोधजस्ता कारणले पनि यी दल नमज्जाले खुम्चिन पुगे । पटक–पटक सत्तामा पुगे पनि सामान्य जनताको जीवनस्तर सुधार, रोजगारी सिर्जना र अर्थतन्त्रको पुनरुत्थानमा ठोस काम हुन नसक्दा युवा पुस्तामा चरम निराशा थियो र अहिले यही मौका छोपेर विकल्प रोजेको देखिन्छ ।
उही पुराना नेताहरूलाई नै पटक–पटक टिकट दिने प्रवृत्तिका कारण पनि यसपटक मतदाताले नयाँ अनुहार र नयाँ सोचलाई अनुमोदन गरेका हुन् । साथै पार्टीको तल्ला तहबाट भइरहेको समीक्षामा ‘घात–प्रतिघात’ एउटा ठूलो कारण देखिएको छ । विगतका निर्वाचनमा वैचारिक रूपमा नमिल्ने दलहरूबीचको चुनावी तालमेललाई कतिपय कार्यकर्ता र समर्थकले स्वीकार गरेनन् । कांग्रेसको मत एमालेलाई वा एमालेको मत अन्यलाई जानुको सट्टा ‘स्वतन्त्र’ वा रास्वपातिर अघिल्लै निर्वाचनदेखि मोडिएको थियो । तर यसपाली दलहरु एक्लाएक्लै चुनाव लडे पनि तल्लो तहका कार्यकर्ता र मतदाता मन फर्किएन । साथै, पार्टीभित्रका गुटबन्दीका कारण योग्यभन्दा पनि ‘निकट’ लाई टिकट दिने गर्नाले इमानदार कार्यकर्ताहरूले मौन विद्रोह गरेको वा अन्तर्घात गरेको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् ।
दलहरुको यही कमजोरी र जनतामा व्याप्त वितृष्णाको मौका छोप्दै रास्वपाले सामाजिक सञ्जाल र ‘डिजिटल क्याम्पेनिङ’मार्फत जनभावनालाई सजिलै क्याच ग¥यो । उनीहरूले परम्परागत संगठनभन्दा पनि एजेन्डा र डेलिभरी तथा लोकप्रियतालाई मुख्य हतियार बनाए, जसको अगाडि कांग्रेस–एमालेको परम्परागत चुनावी शैली फिक्का सावित भयो ।
