News 24 Television
मध्यपूर्वको तनाव अन्त्य गर्न पाकिस्तान सक्रिय, इरानसंगै अमेरिकी राष्ट्रपति पनि कृतज्ञ !

काठमाडौं । इजरायल र लेबनानबीचको युद्ध विरामपछि मध्यपूर्वको द्वन्द्ध केहि समयलाई स्थगित भएको छ । इरान–अमेरिकाबीचको युद्धबिराम पनि जारी रहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान भ्रमण गर्न सक्ने भन्दै शान्ति वार्ताको संकेत गरेपछि मध्यपूर्वको क्षेत्रिय युद्ध अन्त्य हुने अपेक्षा गर्न थालिएको छ । 

मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलले संयुक्त रुपमा आक्रमण गरेपछि चर्किएको युद्धका कारण विश्वकै अर्थतन्त्रमा ठूलो खतरा देखिन थालेको छ । पेट्रोलियम पदार्थको अभाव, मूल्यवृद्धि र असहज परिस्थितिका कारण धेरै देशका सरकारहरु सकसमा परिरहेका छन् । पेट्रोलियम अभावका कारण बजार मूल्यमा अत्यन्तै बढोत्तरी देखिएको छ । 

जसकारण भान्सादेखि धेरै कुरा महमगो हुँदा विश्व अर्थतन्त्र नै धरासयी बन्ने खतरा समेत बढेको छ । यसको मुख्य कारण बनेको छ, स्ट्रेट अफ हर्मुज । इरानले हर्मुजमा लगाएको नाकाबन्दी र अमेरिकाले इरान हुँदै बाहिरिने भित्रिने जहाजमाथि लगाएको प्रतिबन्धका कारण विश्व बजार तरङ्गति बनिरहेको छ । 

युद्धबिराम चलिरहेपनि हर्मुजबाट ट्याङ्करहरु भित्रिन र बाहिरन सकेका छैनन् । यसमा एकमात्रै पाकिस्तानी ट्याङ्कर बाहिरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जहाँ पाकिस्तानले शान्ति वार्ताको पहललाई जोड दिदै आएको छ ।

पाकिस्तानको सक्रियता

पाकिस्तानले इस्लामावाद टक्स भन्दै आयोजना गरेको शान्ति वार्तामा अमेरिका र इरानबीच सम्झौता हुन नसकेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता निष्कर्षउन्मुख भएको दाबी गरेका छन् ।

ट्रम्पले यस्तो दबी गर्दै आफू पाकिस्तान भ्रमण गर्नेबारे सोचिरहेको समेत भनेका छन् । अर्को हप्ताभित्रै इस्लामावाद जान सक्ने भन्दै उनले वार्ता निष्कर्षतर्फ पुग्न लागेको संकेत गरेका छन् । ट्रम्पले पाकिस्तान भ्रमण गर्नसक्ने दाबी गरिरहेको बेला पाकिस्तानले भने अर्को वार्ताको मिति तय भइसकेको स्थिति भने नभएको भनेको छ । परामर्श जारी रहेको पाकिस्तानको दाबी छ ।

उसोतः ट्रम्पले वार्ता नभएमा थप आक्रमण गर्ने धम्की समेत दिएका छन् । यद्यपी पाकिस्तानदेखि रुस, चीन, टर्की जस्ता राष्ट्रहरुले पनि कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिइरहेको बेला इरानले पनि सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानी सेना प्रमुखको सक्रियता

पाकिस्तानी सेना प्रमुख असिम मुनिर इरान भ्रमणमा पुगेका छन् । इरान भ्रमणको क्रममा मुनिरसंगै गृहमन्त्री मोहसिन नकवी र अन्य वरिष्ठ अधिकारीहरू पनि रहेका छन्  । 

इरानी विदेशमन्त्रीसहितका शीर्ष नेताहरुसंग मुनिरको टोलीले सम्वाद गरेको छ । यसले पाकिस्तानले शान्ति वार्तालाई लिएर आफूलाई कसरी उभ्याउन खोजिरहेको छ भन्ने सन्देश पनि प्रष्ट ढंगले दिएको देखिन्छ । यता, पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफ पनि केहिदिन पहिले साउदी अरेबियाको भ्रमणमा पुगेका थिए । 

यसले पनि साउदीसंगको सैन्य सम्झौतालाई उजागर गरिरहेको छ भने साउदीलाई क्षेत्रिय तनाव कम गर्नका निम्ति अपिल गर्ने पाकिस्तानी कदमलाई साथ दिने ठानिएको छ। पाकिस्तानको भूमिकालाई लिएर इरानी राष्ट्रपति  मसुद पेजेस्कियानले धन्यवाद दिदै कृतज्ञता समेत व्यक्त गरेका छन् । जसले पाकिस्तानको भूमिकालाई लिएर थप वार्ताको अपेक्षा बढ्न थालेको छ।

स्ट्रेट अफ हर्मुजमा नजर

विश्वका धेरै देशहरुले स्ट्रेट अफ हर्मुजबाट आवतजावत खुलाउन नसके विश्व व्यवस्था नै खतरामा पर्ने औल्याउन थालेका छन् । विश्वको २० प्रतिशत कच्चा तेल आयात निर्यात हुने यो जलमार्गमा अवरोध कायम रहिरहेमा महंगीको दर आंकलन गरेभन्दा धेरै पुग्ने चेतावनी दिन थालिएको छ । 

यस्तोमा हर्मुजको सुरक्षा, साझा चासोलाई लिएर विश्वका धेरै देशहरु सक्रियतापूर्वक युद्ध अन्त्यको पक्षमा उभिन थालेका छन् । यता, अमेरिकाले पनि हर्मुज जलमार्ग खुलाउनका निम्ति विभिन्न राष्ट्रसंग खोजेको साथ नपाएपछि युद्ध अन्त्यको बाटो खोजिरहेको देखिन्छ । यस्तोमा कसरी शान्ति सम्झौता हुन्छ भन्ने चासो भने बढ्न थालेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update