काठमाडौं । अमेरिकाले इरानी बन्दरगाह र होर्मुज जलडमरुमा नाकाबन्दी लगाएको छ । पाकिस्तानमा भएको २१ घण्टे वार्ता विना निष्कर्ष टुंगिएकै भोलिपल्टदेखि अमेरिकाले नाकाबन्दी गरेको हो ।
यो नाकाबन्दीलाई चीनले विदेश मन्त्रालयमार्फत् खतरनाक र गैरजिम्मेवार भनेको छ । पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको यस्तै रवैयाले अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय स्थिरतालाई जोखिममा पार्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार उपलब्ध गराएको आरोप लगाएपछि चीनले ती आरोपलाई निराधार भन्दै खण्डन गरेको छ । चीनले इरानलाई हतियार सहयोग गरे ट्रम्पले ५० प्रतिशतसम्म नयाँ कर लगाउने धम्की दिएका थिए । चीनले आरोपहरुको खण्डन गर्दै इरान र चीनबीचको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि अमेरिकालाई चेतावनी दिएको छ ।
चीनले पत्रकार सम्मेलन गर्दै विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको हो । इरानलाई हतियार सहयोग गरेर युद्ध बढाउन सहयोग गरेको अमेरिकी राष्ट्रपतिले आरोप लगाएपनि अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार चीनले पाकिस्तानमार्फत् इरानलाई युद्धविरामका लागि दबाब दिएको हो ।
यसैबीच इरानले युद्धविराम हुन सक्ने र अमेरिकासँग दोस्रो चरणको वार्ता हुन सक्ने संकेत दिएको छ । इरानले ५ वर्षसम्म परमाणु कार्यक्रम रोक्ने प्रस्ताव राखेको छ । तर अमेरिकाले २० वर्षसम्म पूर्ण रोक लगाउनुपर्ने अडान राखेको छ । यसमा मध्यमार्गी प्रस्ताव आएर शान्ति सम्झौता हुनसक्ने र दोस्रो चरणमा वार्ता हुनसक्ने विश्लेषण पनि भइरहेको छ ।
युद्ध रोक्न सक्रिय विश्व नेताहरु
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व द्वन्द्वको कुनै सैन्य समाधान नभएको बताएका छन् । हर्मुज जलसन्धि लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन अनुसार स्वतन्त्र जलयात्राको सम्मान गर्नुपर्ने गुटेरेसको भनाइ छ । इरान अमेरिका द्वन्द्वमा चीनले कुटनीतिक माध्यमबाट शान्ति वार्ता गर्न सुझाव दिइरहेको छ ।
यसका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले शान्ति स्थापनाका लागि चार प्रस्ताव अघि सारेका छन् । रुस र फ्रान्सले संयुक्त राष्ट्र सुरक्षा परिषदमा हर्मुज खोल्न सैन्य बल प्रयोगको प्रस्ताव रोक्दै वार्ता र छलफलबाटै समाधानकै पक्षमा जान दबाब दिइरहेका छन् ।
युद्धको क्षति
इरान–इजरायल–अमेरिका त्रिदेशीय युद्धको प्रभाव विश्वव्पापीरुपमै परेको छ । युद्धका कारण इरानमा पूर्वाधार ध्वस्त, अर्थतन्त्र संकटग्रस्त र आन्तरिक अस्थिरता बढेको छ ।
युद्धले इरानमा २७० अर्ब अमेरिकी डलरभन्दा धेरै क्षति भएको इरानी सरकारकी प्रवक्ता इरानी सरकारकी प्रवक्ता फातिमा मोहाजेरानीले सार्वजनिक गरेकी छन् । अमेरिकाले इरानको हवाई रक्षा, नौसेना र मिसाइल भण्डारमा ठूलो क्षति पु¥याएको दाबी गरेपनि अमेरिकाको पनि अर्बाैं डलर क्षति भइसकेको छ ।
युद्धमा विजयी भएको भनाइ राष्ट्रपति ट्रम्पले बाराम्बार भन्दै आएपनि दीर्घकालीन रूपमा सैन्य सामग्रीमा ¥हास आएको, आर्थिक बोझ बढेको र क्षेत्रीय स्थिरता बिग्रिएको छ ।
इरानी बन्दरगाह र हर्मुजमा लगाइएको नाकाबन्दीले अमेरिकामाथि झन जोखिम थपिन सक्छ । अमेरिकामा तेलको मूल्य आकाशिएको छ । जनता समेत विभाजित बनेका छन् । योसँगै वैश्विक आपूर्तिको श्रृंखलामै ठूलो झट्का लागेको छ ।
