News 24 Television
अमेरिकाले नाकाबन्दी जारी राख्दा इरान क्रुद्ध, हर्मुज बन्दपछि इरानी सर्वोच्च नेताले के भने ?

काठमाडौं । इरानले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको भन्दे फेरि स्ट्रेट अफ हर्मुज क्षेत्र बन्द गरेको छ । इरानले शुक्रबारमात्रै सबै व्यवसायीक जहाजलाई युद्धविराम अवधिभर रोकावट नगर्ने सन्देश दिएपनि अमेरिकाले नाकाबन्दी कायमै राखेको जिकिरलाई नछाडेपछि इरानले हर्मुज क्षेत्र फेरि बन्दको घोषणा गरेको छ। जसले सम्भावित शान्ति वार्ता र तनाव बढ्ने संकेतहरु देखा पर्न थालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहिबारसम्म पनि शान्ति वार्ता नभए इरानविरुद्ध बमबारी थाल्ने चेतावनी दिए । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी )ले रेडियो सन्देशमार्फत हर्मुज बन्द गरिएको जिकिर गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

हर्मुज क्षेत्रमा गोलाबारी

समुन्द्रि एजेन्सीहरुले बन्दुकधारीहरुले हर्मुज क्षेत्रमा ट्याङ्करमाथि गोलाबारी गरेको रिपोर्ट गरेका छन् । बेलायतको युनाइटेड किंग्डम ⁠मरीटाइम ट्रेड अपरेशन्स (युकेएमटीओ) एजेन्सीले इरानको रिभोलुसनरी गार्डसँग सम्बन्धित “दुई गनबोट“ द्वारा एउटा ट्याङ्करमाथि गोली चलाएको रिपोर्ट प्राप्त भएको बताएको छ । उनीहरुले कुनै चुनौतीबिना नै गोली चलाएको भनिएको छ । जहाज र यसका चालक दल सुरक्षित रहेको बताइएको छ ।

इरानको आरोप

इरानले अमेरिकामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाएको छ । हर्मुज क्षेत्र खुला गर्दै इरानले व्यवसायीक जहाजलाई निर्वाध आवतजावत गर्न दिने भनेनि अमेरिकाको सेन्ट्रल कमाण्डले नाकाबन्दी जारी रहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आदेश प्राप्त नभएसम् नाकाबन्दी कायम रहने भन्दै जहाजलाई अवरोध गरिरहेका कारण हर्मुज बन्द गर्नुपरेको इरानले आरोप लगाएको छ । 

इरानी सर्वोच्च नेताको सन्देशमा के छ ?

इरानका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले सेना दिवस मनाउँदै “बेवफाई र अहंकारको अग्रपंक्तिमा रहेका दुई सेना” विरुद्ध निरन्तर प्रतिरोध गर्नुपर्ने अपिलसहित वाचा गरेका छन् । टेलिग्राममार्फत एक सन्देश जारी गर्दै खामेनीले इरानी सेनाले आफ्नो कमजोरी र अपमान संसारसामु उजागर गरेको छ र यसको ड्रोनले अमेरिकी र यहूदी अपराधीहरूलाई बिजुली जस्तै प्रहार गर्छ भनेका छन् ।

आफ्नो नौसेनालाई बहादुर भनेका खामेनीले इरान उचित स्थानमा उभिएको जिकिर गरेका छन् । यस्तै, खामेनीले आफ्ना दिवंगत पिता अयातुल्लाह अली खामेनीलाई श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । तर, उनी फेब्रुअरीमा युद्धको सुरुवातमा आफ्नो बुबाको हत्या भएपछि पदभार ग्रहण गरेदेखि मोज्तबा खामेनी सार्वजनिक रूपमा भने देखिएका छैनन्।

ट्रम्पको निरन्तरको धम्कीकाबीच पाकिस्तान सक्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तरको धम्कीकाबीच पाकिस्तानले मध्यस्थता गरिरहेको छ । शान्ति वार्ताका निम्ति पाकिस्तानले विभिन्न देशको भ्रमण गरिसकेको छ भने छिट्टै वार्ता हुने जिकिर गरिरहेको छ । तर, इरान र अमेरिकाबीच चलिरहेको जारी द्वन्द्धका कारण शंका र खतराहरु भने थप सिर्जित बन्न पुगेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update