News 24 Television
झापामा केरा खेतीमा हावाहुण्डरीको वितण्डा, लाखौ स्वाहा, किसान चिन्तित

झापा । फागुन चैत हावाहुरीको मौसम हो । यो मौसममा धेरै किसानहरूको खेतीपातीमा असर पु¥याउने गर्छ । भर्खर लगाएको बालीदेखि उत्पादनको अन्तिम चरणमा पुगेका बालीलाई हावाहुरीले नष्ट पर्दा किसान समस्यामा पर्ने गरेका छन् ।  केही दिन अघि आएको हुरीले उत्पादनको अन्तिम चरणमा पुगेका केरा बोटहरू ढाल्दा झापामा लाखौंको नोक्सानी भएको छ । 

झापा गाउँपालिकामा विगत ७ वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका किसान चन्द्र बस्नेतले मात्रै करिब १६ लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोरेका छन् । उनले दुई बिगाहभन्दा बढी क्षेत्रफलमा लगाएको ३ हजार २ सयभन्दा बढी केराका बोट हुरीले पूर्ण रूपमा ढालेको छ । भर्खर पसाएका र पाक्नै लागेको केरा सबैभन्दा बढी प्रभावित भएको उनी बताउँछन् । 

उत्पादन भइसकेर बजार पठाउने तयारीमा रहेको केरा हुरीले सखाप पारेपछि लगानी नै डुब्ने अवस्था आएको भन्दै बस्नेत चिन्तित छन्् । किसानले करोडौं लगानी गरेर कृषि क्षेत्रमा नै केही गर्छु भन्दा राज्यको साथ नपाएको गुनासो पनि उत्तिकै छ । बाली बिमाको व्यवस्था नहुँदा झनै मारमा परेको उनी बताउँछन् । 

झापा गाउँपालिका ‘केरा पकेट क्षेत्र’का रूपमा चिनिँदै आएको छ । जहाँ धेरै किसानको मुख्य आम्दानीको स्रोत नै केरा खेती हो । तर, प्राकृतिक विपत्तिसँगै बजारको अस्थिरता, रासायनिक मलको अभाव, रोगको प्रकोप र खेतीयोग्य जमिनको अभावले किसानहरू थप समस्यामा परेका छन् । झापा गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब २५ बिगाहा जग्गामा व्यवसायी केराखेती गर्दै आएको तर, अहिले समस्या भोग्न बाध्य रहेको किसान पूजा खनाल बताउँछिन् ।

कृषिमा बढ्दो जोखिमका बीच केही किसानले ठूलो क्षेत्रफलमा गरेको केरा खेतीको सफलताले आशा जगाए पनि यस्ता प्राकृतिक प्रकोपले किसानको मनोबल कमजोर बनाइरहेको छ । खस्केको मनोबल उकास्न राज्यले किसानहरूलाई तत्काल राहत, क्षतिपूर्ति र बाली बिमाको सुनिश्चितता गर्नुपर्ने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update