काठमाडौँ । हो, समय बलवान् छ भन्छन् । अघिल्लो संसदमा सबैभन्दा शक्तिशाली ठानिएका, कसैले सत्ता खोस्न नसक्ने ठानेका र कसैले संसदमा विरोध गर्दा दमन र प्रतिशोधमा उत्रिने गरेका काँग्रेस–एमाले भदौ अन्तिम साता २ दिनको जेनजी आन्दोलनले किनारामा पुगे । अप्रत्याशित रुपमा सत्ता गुमाउन पुगेका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अब नयाँ संसदमा देखिने छैनन् । केवल ६ महिनाको अन्तरमा मुलुकको राजनीतिक चित्र यसरी बदलियो कि किनारामा रहेको रास्वपा दुईतिहाइ बहुमत सहित अहिले सत्ताको हकदार भएको छ । सत्तामा पालैपालो हलिमुहाली गरिआएका काँग्रेस, एमाले, नेकपा (तत्कालीन माओवादी) अहिले किनारामा पुगेका छन् ।
२०७९ को निर्वाचनपछि एमाले प्रतिनिधिसभामा ७८ सिटसहित दोस्रो ठूलो दल थियो । यद्यपि त्यसअघि २०७४ को निर्वाचनमा एमाले पहिलो दल थियो र माओवादीसँगको एकतापछि दुईतिहाइ नजिकको शक्तिशाली सरकारको नेतृत्वकर्ता थियो । अघिल्लो संसदमा कांग्रेस ८९ सिटसहित पहिलो दल भए पनि सत्ताको नेतृत्व गर्न सकेन । एमालेले चलाखीपूर्ण कदम चाल्दै कहिले माओवादीसँग त कहिले कांग्रेससँग मिलेर सत्ता समीकरण बनायो । पछिल्लो एक वर्षभन्दा बढी समय भने एमालेले कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरेको थियो । यसलाई आलोचकहरूले ‘दुई ठूला दलको अप्राकृतिक मिलन’ र ‘अंकगणितीय खेल’को रूपमा व्याख्या गरेका थिए । गत भदौको युवाहरूको स्वतःस्फूर्त आन्दोलन भने एमाले–कांग्रेस सत्ताका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
फागुन २१ को निर्वाचनबाट देशभर पुराना ठूला दलले अप्रत्याशित हार व्यहोरेपछि अहिले ती दलहरु गम्भीर भएर चुनावी समीक्षा गर्दैछन् । काँग्रेसमा ढिलो भए पनि विद्रोह गरेर नेतृत्व आफ्नो हातमा लिएका गगन थापाले हारको नैतिक जिम्मेवारी भन्दै राजीनामा दिइसकेका छन् । यद्यपि चुनावअघि सम्पन्न एमाले महाधिवेशनमै नेतृत्व हस्तान्तरणको चर्को दबाब खेपेका ओली भने यो लज्जास्पद हारपछि पनि नेतृत्व छोड्ने मनशायमा देखिन्नन् । तर पनि बाध्यताले ती दलहरु प्रतिपक्षमा खुम्चिन राजी भएका छन् । एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताइन् । बिहीवार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग उनले उक्त प्रतिक्रिया दिएकी हुन् । आगामी सरकारको नेतृत्व गर्न लागेको रास्वपालाई सकरात्मक कामका लागि सहयोग गर्ने समेत उनले बताइन् । एमाले स्थायित्वको पक्षमा रहेको दाबी गर्दै यो निर्वाचनले देशलाई राजनीतिक स्थिरताको जग दिएको पनि उनको भनाइ छ । रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।
एमाले खुम्चिनुका कारण के ?
एमालेको अहिलेको अवस्था आउनुका पछाडि अनेक कारण भए पनि मूलतः पुराना दल र नेतृत्वको अक्षमता, अहंकार, अकर्मण्यता नै हो । फलस्वरुप असन्तुष्ट मतदाताले रास्वपाजस्ता नयाँ विकल्प रोजे । एमालेको परम्परागत संगठन र ‘जबज’को व्याख्याले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्न सकेन । युवाहरूले विकास र प्रविधि खोजे, एमालेले इतिहास र सिद्धान्त मात्र बेच्यो । सुशासनमा ढिलासुस्ती, भ्रष्टाचारका फाइलहरू थन्क्याइएको आरोप, चौथो दल रास्वपामाथि देखाएको प्रतिशोध र आर्थिक मन्दीका कारण छटपटाएका युवाहरू सडकमा ओर्लिएपछि नै अहिलेको बदलाव आएको हो । अघिल्लो निर्वाचनकै बेला देखिएको ‘नो नट अगेन’ अभियान र यस निर्वाचनमा अघि सारिएको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’को एजेन्डा तथा बालेन र रविजस्ता सामाजिक सञ्जालबाट लोकप्रिय नेताप्रतिको आशक्तिका कारण यसपटक पुराना दलका मतदाता तथा कार्यकर्ता सबै नयाँतिर ढल्केको देखिन्छ । सामाजिक सञ्जालमार्फत नयाँहरुको प्रचार र एजेण्डा गाउँ–गाउँ पुग्यो, जसले एमालेको गढ मानिएका क्षेत्रहरू (विशेषगरी सहरी र अर्ध–सहरी) भत्काइदियो ।
पछिल्लो निर्वाचनको परिणामअनुसार रास्वपा पहिलो, कांग्रेस दोस्रो शक्ति बनेको छ भने एमाले तेस्रोमा खुम्चिएको छ । एमाले अब प्रमुख प्रतिपक्षीको हैसियतमा पनि छैन । समग्रमा सत्ताको केन्द्रमा रहँदा जनभावना बुझ्न नसक्नु र पुरानै ढर्राको राजनीतिलाई निरन्तरता दिनु, नेतृत्वले गल्ती गर्दा पनि पार्टीभित्र आवाज दबित हुनु, समयको पदचाप बुझ्न नसक्नु नै एमालेका लागि महँगो सावित भयो । इतिहासमा पहिलोपटक एमाले यति रक्षात्मक र कमजोर अंकगणित सहित संसदको प्रतिपक्षी बेन्चमा खुम्चिन पुगेको हो ।

