News 24 Television
भैरहवा भन्सारको रिपोर्ट, मोटरसाइकबाट सबैभन्दा बढि राजश्व

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–२०८३ को ८ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । यद्यपि भन्सारले गत आर्थिक वर्षको सोही अवधिको भन्दा राजस्व संकलन दर भने यो पटक बढाएको छ । 

भैरहवा भन्सार कार्यालयले चालु वर्षको ८ महिनामा ६७ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९२.६९ प्रतिशत हो । गत वर्ष यही अवधिमा भन्सारले ६० अर्ब ४१ करोड राजस्व संकलन गरेको थियो । 

गत वर्षभन्दा १२.२५ प्रतिशतले राजस्व संलकन बृद्धि भएपनि लक्ष्य भने भेट्टाउन नसकिएको भन्सार कार्यालयको भनाई छ । निमित्त भन्सार प्रमुख सन्तोष न्यौपानेले विगतको तुलनामा राजस्व असुली राम्रो भएको जनाए । उनले चालु वर्षको अन्त्यसम्म लक्ष्य पूरा गर्ने गरी काम गरिरहेको बताए ।
भन्सार कार्यालयका अनुसार चालु वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट राजस्व संकलन भएको छ । कार्यालयका अनुसार सबै प्रकारका मोटरसाइकल आयात हुँदा १४ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

यस्तै, जीप, कार र भ्यानबाट ८ अर्ब ८५ करोड, पेट्रोलबाट २ अर्ब ९३ करोड, डबल क्याप पिकअप गाडीबाट १ अर्ब ९१ करोड, विद्युतीय जीप, कार र भ्यानबाट १ अर्ब ७४ करोड, स्पोन्ज तथा फेरस आइरनबाट १ अर्ब ४४ करोड, एलपी ग्यासबाट १ अर्ब १२ लाख, एमएस विलेटबाट ९९ करोड, चकलेटबाट ९५ करोड र कोइलाबाट ८७ करोड राजस्व संकलन भएको छ । भन्सारले मध्य पूर्वमा भइरहेको द्वन्द्वका बाबजुत पनि राजस्व संकलनमा कुनै प्रभाव नपरेको जनाएको छ । 

ग्यास, डिजेल–पेट्रोल लगायत अन्य सामाग्राी नियमित आयात भइरहेको छ । तथापी केही उद्योगका कच्चा पदार्थ आयातमा भने कमी आएको छ ।

भन्सारका अनुसार चालु वर्षमा ८ महिनामा बेलहिया नाका हुँदै १ खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । बेलहिया नाका हुँदै आयात हुने ९९ प्रतिशत भन्दा बढी सामान भारतबाटै आयात हुने भएकाले खाडी क्षेत्रमा भइरहेको द्वन्द्वले प्रभाव नपारेको भन्सारको भनाई छ । यदि भारतमा पनि नेपालमा आयात हुने वस्तुको अभाव हुन थाले प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update