काठमाडौँ । राजनीति भनेको निर्वाचनमार्फत जनताबाट अनुमोदित भई जनप्रतिनिधि बन्ने प्रक्रिया हो। यस अर्थमा, राजनीतिमा सबैभन्दा ठूलो असफलता भनेकै जनताबाट पराजित हुनु हो। सैद्धान्तिक बहस, विचारधारा वा आकर्षक भाषण जति नै भए पनि अन्ततः नेताको वास्तविक परीक्षण जनताले नै गर्ने गर्छन्। जनविश्वास नै राजनीतिमा सबैभन्दा ठूलो पूँजी हो— जनताको मन जित्न नसक्ने नेता आफैं विस्थापित हुन्छ।
मेरो बुझाइमा कुनै पनि नेता जनमतले अनुमोदन गरेसम्म मात्र सान्दर्भिक रहन्छ। जो समयअनुसार अद्यावधिक हुन सक्दैन, निष्प्रभावी बन्छ र न समर्थन जुटाउन सक्छ, न असन्तुष्टि नै सिर्जना गर्न— त्यस्तो नेतृत्वलाई समयले स्वतः असान्दर्भिक बनाइदिन्छ।
हालै सम्पन्न निर्वाचनले यही यथार्थलाई पुनः पुष्टि गरेको छ। यो केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र रहेन, बरु दीर्घकालीन राजनीतिक सन्देश बोकेको एक ऐतिहासिक क्षण बन्यो। वर्षौंदेखि संचित जनआक्रोश, असन्तुष्टि र परिवर्तनको चाहनाले यसपटक अभिव्यक्ति पाएको छ। विशेषगरी नयाँ पुस्ताको सक्रियताले पुराना राजनीतिक संरचनाहरूलाई सशक्त चुनौती दिएको देखिन्छ।
पुराना दलप्रति निराश र आक्रोशित जनताको उर्लिँदो सहभागिताले मानौं एकैचोटि सबै बस्ती बगाउने भेलको रूप लियो। छोटो समयमै उदाएको नयाँ शक्ति (रास्वपा) ले २०४८ सालदेखि जरा गाडेका पुराना दलहरूलाई चुनौती दिँदै जनमतको ठूलो रूपान्तरण सम्भव छ भन्ने प्रमाणित गर्यो। यसले स्पष्ट सन्देश दिएको छ—जनआक्रोशको भेललाई सतही भाषणले रोक्न सकिँदैन।
निर्वाचनअघि विभिन्न आशंका र अविश्वास व्यक्त गरिएका थिए। कतिपयले चुनाव नै सम्पन्न नहुने दाबी गरेका थिए, ठूला नेताहरूले दबाब सिर्जना गर्ने प्रयास पनि भएको थियो। तर अन्ततः ती सबै आशंका निरर्थक सावित भए। चुनाव सफलतापूर्वक सम्पन्न भयो र लोकतन्त्रले आफ्नो सही मार्ग समातेको अनुभूति भयो।
यस चुनावले जनताको चेतनास्तरमा आएको परिवर्तन पनि उजागर गरेको छ। जनता अब केवल मतदाता मात्र होइनन्—उनीहरू सचेत, प्रश्न गर्ने र निर्णय गर्ने अवस्थामा पुगेका छन्। “मत हाम्रो हो” भन्ने भावनाले जरा गाड्दै गएको छ। मौन बस्नु समर्थन होइन भन्ने कुरा जनताले व्यवहारमै देखाएका छन्। आवश्यक परे मौन विद्रोहमार्फत पनि असन्तुष्टि व्यक्त गर्न सकिन्छ भन्ने सन्देश यसपटक प्रस्ट देखियो।
सामाजिक सञ्जालले पनि जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ। केही दुरुपयोगका घटनाहरू भए पनि समग्रमा यसले जनतालाई सशक्त बनाएको छ। अब जनता केवल भाषणमा प्रभावित हुने अवस्थामा छैनन्—उनीहरू प्रतिप्रश्न गर्न थालेका छन्: किन भोट दिने? के उपलब्धि भयो? अब के गर्ने योजना छ?
यस निर्वाचनको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको “मत परिवर्तनको शक्ति” हो। मत स्थायी हुँदैन—न त पारिवारिक प्रभावले, न दलगत निष्ठाले, न जात–धर्म वा भूगोलले यसलाई स्थायी रूपमा बाँध्न सक्छ। अन्ततः निर्णय जनताको अन्तरआत्माले गर्छ। यही लोकतन्त्रको सुन्दरता हो।
पुराना राजनीतिक दलहरूका लागि यो गम्भीर आत्ममूल्यांकनको समय हो। आन्तरिक सुधारका प्रयासहरू जनतासम्म प्रभावकारी रूपमा पुग्न सकेनन्। गुटबन्दी, नेतृत्व विवाद र संरचनागत कमजोरीहरू अझै कायम देखिन्छन्। अब केवल नेतृत्व परिवर्तन होइन, व्यापक संगठनात्मक सुधार आवश्यक छ।
अन्य दलहरूका लागि पनि सन्देश स्पष्ट छ—संगठन बलियो भए पनि जनतासँग दूरी बढ्यो भने त्यसको मूल्य चुकाउनुपर्छ। नेतृत्वमा पारदर्शिता, उत्तरदायित्व र व्यवहारिक सुधार अपरिहार्य छ। जनताको विश्वास पुनः प्राप्त गर्न कार्यशैलीमै परिवर्तन ल्याउनुपर्छ।
नयाँ शक्ति वा बहुमत प्राप्त गर्ने दलका लागि पनि चेतावनी स्पष्ट छ— सत्ता अहंकार प्रदर्शन गर्ने माध्यम होइन, सेवा गर्ने अवसर हो। दुईतिहाइ बहुमत भए पनि त्यसको दुरुपयोगले जनताको विश्वास चाँडै गुम्न सक्छ। विगतले देखाइसकेको छ—बहुमत पनि अस्थायी हुन्छ।
अन्ततः, यो चुनावले दिएको सबैभन्दा ठूलो सन्देश यही हो— जनताको मन स्थिर हुँदैन, यो निरन्तर परिवर्तनशील हुन्छ। नदीजस्तै बगिरहने जनमतलाई कसैले नियन्त्रण गर्न सक्दैन। जो समयअनुसार परिवर्तन हुन सक्दैन, त्यो राजनीति बाट बाहिरिन बाध्य हुन्छ।
यसकारण, सबै राजनीतिक दल र नेताहरूले जनताको सन्देशलाई गम्भीर रूपमा लिनु आवश्यक छ। जनविश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो र त्यसलाई कायम राख्न निरन्तर सुधार, उत्तरदायित्व र सेवाभाव अनिवार्य छ। अन्यथा, आगामी चुनावहरू अझ कठोर हुने निश्चित छ।