काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कानुनी फन्दा कसिँदै गएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई पुनः पत्राचार गरेको छ।
केही समयअघि विवरण अपुग भएको भन्दै रोकेको इन्टरपोलले थप स्पष्टीकरण मागेपछि बिहीबार प्रहरीले विस्तृत जवाफ पठाएको छ।उनीहरूमाथिका लागेको आरोप के हो ?अनि कस्तो अवस्थामा रेड नोटिस जारी हुन्छ त ?
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा नेपाली राजनीतिको केन्द्रमा दशकौँसम्म राज गरेका ब्यक्ति हुन् ।
यो जोडी अहिले कानुनी राडारमा छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि गम्भीर आर्थिक अनियमितताको सुइरो सोझ्याएको छ। इन्टरपोलको काठमाडौंस्थित नेसनल सेन्ट्रल ब्युरो एनसिबी मार्फत पठाइएको रेड नोटिसको प्रस्तावमा इन्टरपोल हेडक्वाटरले थप विवरण मागेपछि नेपाल प्रहरीले अहिले ठोस जवाफ पठाएको छ।
शुद्धीकरणमा अनुसन्धान अघि बढाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए÷नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजातसमेत इन्टरपोलले माग गरेको थियो ।
विभागले भने देउवा दम्पतीको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरूसहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजातसमेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इन्टरपोलबाट रेड नोटिस जारीका लागि सहयोग गरिदिन भन्दै पत्र पठाएको छ ।
इन्टरपोलले यसअघि देउवा दम्पतीविरुद्धको कसुरबारे प्रश्न उठाएको थियो । विभागका अनुसार उनीहरूको बुढानीलकण्ठस्थित निवासमा जलेको अवस्थामा फेला परेका विदेशी नोट र सम्पत्तिको स्रोत नखुलेका विषयमा अनुसन्धान भइरहेको छ।
रोचक त के छ भने,सुरुमा पक्राउ पुर्जीविना नै रेड नोटिस मागिएकोमा इन्टरपोलले प्रश्न उठाएपछि मात्रै चैत २४ गते जिल्ला अदालत काठमाडौँबाट देउवा दम्पत्तिविरुद्ध पक्राउ अनुमति लिइएको थियो।
कहाँ छन देउवा दम्पत्ति ?
देउवा दम्पती हाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरण सरकार र देउवाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन। गत बर्ष भदौ २३ गते जेन–जी आन्दोलनबाट उत्पन्न घटनापछि भदौ २४ गते प्रदर्शनकारीले बुढानीलकण्ठस्थित निवासमै देउवा दम्पतीमाथि कुटपिट गरेका थिए। त्यसबेला नेपाली सेनाले उद्धार गरेर उनीहरूलाई सैनिक अस्पताल पु¥याएको थियो।
त्यसको एक महिनापछि असोज २८ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएर देउवा दम्पती उपचारका लागि भन्दै कात्तिक १० गते सिंगापुर उडे। फेरि एक महिना उपचार गरी पुनः उनीहरु नेपाल आए। १० दिनपछि पुनः सिंगापुरतर्फ लागे । त्यहींबाट उनीहरू हङकङ पुगेको अनुसन्धान अधिकृतहरूको अनुमान छ। विदेशमै भएका बेला देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको थियो।
घरभरी जलेको नोट भेटिएपछि नै देउवा दम्पत्ति सम्पत्ति शुद्धीकरण विभागको राडारमा परेका हुन् । विभागले देउवा निवासमा पुगेर जलेको नोट र खरानी संकलन गरेर फरेन्सिक टेष्टमा पठाएको थियो ।रिपोर्ट पोजेटिभ आएपछि आरजुका भाइ भूषण राणाको घरमा छापा समेत हानेको थियो । नयाँ सरकार बनेपछि अनुसन्धानले गति लियो। चैत १५ गते जिल्ला प्रशासन कार्यालयले देउवा निवास भत्काउन रोक लगायो।
चैत २४ मा देउवा दम्पत्तिको नाममा पक्राउ पूर्जी जारी भयो। पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि देउवाले सामाजिक सञ्जालबाटै आफू अझै उपचारकै क्रममा रहेको जवाफ दिए । तर कुन ठाउँमा छन् भन्ने खुलाएनन् । अनि कहिले नेपाल फर्किने योजना छ भन्ने पनि खुलाएका छैनन् । तर उनले आफ्नो जीवन खुला किताब जस्तै रहेको बताएका छन् । आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटो प्रचार भएको उनको दाबी छ । साथै वास्तविकता समयक्रमसँगै खुल्दै जाने बताएका छन् । तर देउवा दम्पत्तिमाथि भइरहेको अनुसन्धानले खोजेको जवाफ देउवाको स्पष्टीकरणबाट मिलेको छैन र, मिल्नेवाला पनि छैन ।
कस्तो अवस्थामा रेड नोटिस जारी हुन्छ त ?
इन्टरपोलका अनुसार विश्वभरिका कानुन कार्यान्वयन गर्ने निकायका लागि कुनै व्यक्ति पत्ता लगाउन तथा सुपुर्दगी वा अरू कानुनी प्रक्रियाका लागि अस्थायी रूपमा पक्राउ गर्न गरिएको अनुरोध हो रेड नोटिस ।तर,यसैलाई पक्राउ पुर्जी मानिँदैन।रेड नोटिसलाई कत्तिको गम्भीरता दिइन्छ भन्ने सवाल सम्बन्धित मुलुकले नै दिने प्राथमिकता र आफ्नो कानुनमा भर पर्छ।यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र १९३ वटाले नै सम्बन्धित व्यक्तिबारे सूचना पाउँछन्।इन्टरपोलको वेबसाइटमा उल्लेख भएअनुसार सामान्यतः रेड नोटिस हत्या, बलात्कार,ठगीजस्ता गम्भीर अपराधमा अभियोजन चलाउन वा सजाय भुक्तान गराउन खोजिएका फरार व्यक्तिहरूका लागि जारी गरिन्छ।
‘कुनै व्यक्ति अभियोजनका लागि खोजिएको हो भने त्यसको अर्थ उनी दोषी प्रमाणित भइसकेका हुँदैनन् र अदालतबाट दोषी प्रमाणित नभएसम्म उनी निर्दोष मानिन्छन्’– वेबसाइटमा भनिएको छ। इन्टरपोलका अधिकारीहरूका अनुसार, रेड नोटिस जारी गर्न शंकास्पद व्यक्तिको नाम, राहदानीको विवरण,तस्बिर, फिंगरप्रिन्ट,सम्बन्धित व्यक्तिलाई लगाइएका अभियोगका विवरण, अदालतका कागजात, आरोपितको संक्षिप्त विवरण, सम्भावित ठेगानालगायत विषय उल्लेख गरिएको फारम बुझाउनुपर्छ ।इन्टरपोलले रेड नोटिस जारी गर्नुअघि आफ्नो नीतिअनुसार मेल खान्छ÷खाँदैन भनेर ‘नोटिस एन्ड डिफ्युजन टास्क फोर्स’मार्फत विश्लेषण गरिन्छ। यसमा प्रहरीसँग कानुनी व्यवसायी र अपरेसनल विशेषज्ञसमेत समावेश हुने गर्छन्।
टास्क फोर्सले उपलब्ध सबै जानकारी अध्ययन गर्छ। इन्टरपोलको विधानको धारा ३ मा संगठनलाई कुनै पनि राजनीतिक, सैनिक, धार्मिक वा जातीय प्रकृतिका हस्तक्षेप वा गतिविधि सञ्चालन गर्न कडाइसाथ निषेध गरिएको भनिएको छ। यहि प्रावधानका कारण इन्टरपोल हेडक्वाटरले सन् २०२५ मा ३ सय ६५, २०२४ मा १ सय ९४, २०२३ मा १ सय ७९, २०२२ मा २ सय २९, २०२१ मा ३ सय ७०, २०२० मा ६ सय जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्कार गरेको थियो । तर इन्टरपोलले रेड, ब्लू, ग्रीन गरी ८ प्रकारको नोटिस जारी गर्छ ।त्यसोे भएमा देउवा दम्पत्ति थप अठ्यारोमा पर्नेछन् । किनकी ब्ल्याक मनी आर्जन गरेर त्यसलाई ह्वाइट बनाउनु नै सम्पत्ति शुद्धीकरण हो ।
यो गम्भीर अपराध मानिन्छ । कुनै बेला प्रजातन्त्रका लागि लडेको,जेलनेल भनेको देउवामाथि यस्तो जघन्य अपराधको आरोप लाग्नु चानचुने कुरा होइन। ५–५ पटक देशको प्रधानमन्त्री बन्ने व्यक्तिमाथि राजनीतिको उत्तरार्धमा यस्तो गम्भीर आरोप लाग्नु नेपालको राजनीतिकै दुखद पक्ष हो ।
त्यसमाथि इन्टरपोलमार्फत नोटिस जारी भए थप बद्नामी पुष्टी हुनेछ । त्यसैले त्यसअघि नै स्वेदश फर्किएर अनुसन्धानमा सघाउनु नै देउवा दम्पत्तिका लागि राम्रो हुनेछ ।
